छाउपडीको छोइछिटो

शुक्रबार, पुस २७, २०७५



काठमाडौं । १४ वर्ष भयो जौमा बिक छाउगोठ बस्न थालेको। बुढीनन्दा नगरपालिका–३ की उनी हरेक महिना रजस्वालाको अवधि गोठमै गुजार्थिन्। एक वर्षपहिले अगुवा महिलाले उनको छाउगोठ भत्काइदिए। अहिले उनी महिनावारी भएको बेला ओढारमा बस्ने गर्छिन्।

यो व्याथा जौमाको मात्र होइन। बाजुराका हरेक घरका महिलाको समस्या हो। छाउगोठ भत्काएपछि यो चलन अन्त्य हुने आशा थियो। तर, समस्या गोठमा होइन, मान्छेको दिमागमा थियो। परिवर्तनको प्रयासभन्दा अन्धविश्वासकै पकड बलियो देखियो। त्यसैले उनीहरू रजस्वालाको छोइछिटो बारिरहेका छन्। छाउ बार्ने क्रममै कतिको ज्यान गइसकेको छ। तर यो चलन हट्ने कुनै सुरसार छैन। बाजुरामा रजस्वाला उमेरका ९५ प्रतिशत छाउगोठमा बस्ने महिला अधिकार मञ्चकी जिल्ला अध्यक्ष रुक्मिणी शाहले बताइन्।

मंगलबार राति मात्र बुढीनन्दा–९ अंगाउपानीमा छाउगोठमै तीन जनाको मृत्यु भयो। अम्बा बोहोराको ठूलो छोरा सुरेश सँधै हजुरआमासँग सुत्ने गर्थे। सानो छोरा रमित चाहिँ आमासँग सुत्थे। मंगलबार चाहिँ दुवै छोरा खाना खाएपछि आमालाई खाना पुर्‍याउन छाउगोठ गए। अन्धविश्वास यति चर्को छ, ठूला मान्छे महिनावारी भएकालाई आफ्नै हातले खाना दिन पनि अप्ठेरो मान्छन्। आफूलाई खाना लिएर अएका दुई कलिला छोरालाई दुईतिर च्यापेर अम्बा सुतेकी थिइन्। आगो बालेर सुतेका तीनै जनाले निसास्सिएर ज्यान गुमाए। बुधबार उनीहरूको अन्त्येष्टि गरियो। जिल्लामा छाउप्रथा कति डरलाग्दो छ, यही घटनाले देखाउँछ।

छाउपडी अन्त्यको अभियान चलाएपनि छाउगोठ यथावत छन्। हरेक तीन–चार घरको एउटा गोठ हुन्छ। संयुक्त परिवारको छाउगोठ एउटा मात्र हुने भएकाले घरको तुलनामा गोठको संख्या कम देखिन्छ। तर, अभ्यासमा कमी आएको छैन।

जान्नेसुन्नेकै बास छाउगोठमा

बुढीनन्दा–३ सिराडी बस्ने १८ वर्षीया विमला बोहोरा १२ कक्षामा पढ्छिन्। उनी गाउँकी जान्नेसुन्ने युवतीमा पर्छिन्। पढेलेखेका अरु महिलासँग मिलेर छाउगोठमा बस्नु हुँदैन भन्दै अरुलाई शिक्षा दिने गर्छिन्। स्कुलमा पनि छाउगोठ कुरीति हो भनेर पढाइ हुन्छ। उनी आफैँ भने छाउगोठमा बस्न बाध्य छिन्। घरमा बस्दा देउता रिसाउने डरले छाउगोठमा बस्ने गरेको उनले सुनाइन्। विमलाले छाउगोठ बस्न लागेको तीन वर्ष भयो। उनको छाउगोठ खहरे खोलाको छेउमा छ। गोठलाई सिस्नोको घारीले घेरेको छ। हरेक महिना सात दिन उनी यही गोठमा एक्लै गुजार्छिन्।

त्यही गाउँकी सुनतकली बोहोरा सामाजिक अगुवा हुन्। गोठमा बस्नु हुँदैन भनेर अभियान चलाउँछिन् उनी। तर, सुनतकली पनि छाउगोठमै बस्छिन्। गाउँका सबै गोठमा बस्ने र घरमा बस्दा देउता रिसाउने अन्धविश्वास व्याप्त भएकाले गोठमा बस्ने गरेको उनले बताइन्।

यो त्यही गाउँ हो, जसलाई छाउपडी गोठमुक्त घोषणा गरिएको थियो। ‘एउटा गैरसरकारी संस्थाको पहलमा छाउपडी गोठमुक्त घोषणा गरियो,’ स्वयंसेविका बिस्नकला विक भन्छिन्, ‘कागजमा घोषणा भयो तर बास चाहिँ गोठमै छ।’ शिक्षित महिला, स्वास्थ्यकर्मी र अधिकारकर्मी नै छाउगोठमा बस्छन्। जो गोठमा बस्नु हुँदैन भन्छन्, उनीहरू नै रुढीग्रस्त रहेको स्वास्थ्यकर्मी धनी थापाको भनाइ छ। ‘हामी स्वास्थ्यकर्मीलाई त गोठमा बस्नु हुँदैन भन्ने थाहा छ, तर पनि गोठमै बस्छौँ,’ उनले थपिन्।

बाजुराको साबिकका ७ वटा गाविस बुढीगंगा, जयवागेश्वरी, बाह्रबिस, कुल्देवमाडौं, कैलाशमाडांै, आटिचौर, ब्रह्मतोला र अन्यका पनि केही वडालाई छाउगोठमुक्त घोषित गरिएको थियो। केहीले नयाँ गोठ बनाएका छन्। गोठ नबाउनेहरूको कष्ट अझ बढी छ।

सदरमुकाम मार्तडीनजिकै बडिमालिका नगरपालिका–८ रुतुडा गाउँका हरेक परिवारका महिला महिनावारी हुँदा छाउगोठ बस्ने गरेको वडाध्यक्ष प्रकाश रावलले बताए। ४० परिवार बसोबास गर्ने गाउँमा ३० वटा छाउगोठ छन्। त्यही वडाको रापक गाउँको अवस्था पनि उस्तै छ। सदरमुकामबाट एक घण्टामै पुग्न सकिने गाउँको अवस्था त यस्तो छ भने टाढाका गाउँमा छाउ बार्ने अभ्यास अझ व्यापक रहेको नागरिक समाजका शेरबहादुर शाहीले बताए। अन्नपूर्णपोष्टबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank