घुसकाण्डमा मुछिएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी हटाइयो

शुक्रबार, मंसिर २०, २०७६



काठमाडौं । घुसकाण्ड मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाइएको छ । घुस लिएको आरोप लागेपछि गृह मन्त्रालयले रिजाललाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालयमा बोलाएको हो ।

रिजालले बिहानै दोलखा छाडिसक्नु भएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । तत्कालका लागि दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठलाई निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको पनि प्रवक्ता शर्माले बताए ।

मेलुङ गाउँपालिका–४ का कुमार लामाले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले आफूहरुबाट २१ हजार रुपैयाँ घुस प्रमुख जिल्ला अधिकारी रिजालले लिएको आरोप लगाएका थिए ।

मुद्दा छिन्नका लागि प्रमुख जिल्ला अधिकारीले घुस लिएको भन्दै पीडितहरुले बिहीबार पत्रकार सम्मेलन गरेका थिए । घुस लिएको सार्वजनिक भएपछि रिजालले घुस रकम भने फिर्ता गरिसकेका छन् ।  भ्रष्टाचारी सिडिओ जिल्ला छोड भन्दै तरुण दलले बिहिबार नारा जुलुस गर्दै चरिकोट बजार परिक्रमा गरेकाे थियाे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments