भाडा बढाउने दाउमा व्यवसायी

शुक्रबार, भदौ २९, २०७५



काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघले ५ वर्षदेखि भाडा नबढेको र यातायात संघ–समितिका बैंक खाता रोक्का गरिएको भन्दै दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन अटेरी गरेको छ । यसले दसैं मनाउन उपत्यकाबाहिर जानुपर्नेहरू मर्कामा परेका छन् ।

यातायात विभागले भदौ २४ बाटै अग्रिम बुकिङ खुलाउने जनाएको थियो । यसबारे विभागका अधिकारी र ब्यवसायीबीच ३ पटक वार्ता भइसकेको छ । विभाग महानिर्देशक लावण्यकुमार शर्मा भन्छन्, ‘ब्यवसायीसँग छलफल भइरहेको छ । जसरी पनि निकास निकाल्छौं ।’

विभागका अनुसार विभिन्न जिल्लाका करिब ४० लाख मानिस राजधानीमा बस्छन् । उनीहरू घर फर्कने मौका पारेर व्यवसायीले भाडा बढाउन खोजेका हुन् । व्यवसायीले सवारीसाधन दर्ता गर्दा सरकारको कानुन नमाने रुट परमिट खारेज हुनेसम्मको लिखित मञ्जुरी जनाएका हुन्छन् । ‘कानुनी बन्देज हुँदाहुँदै पनि टिकट नखुलाउने अडानमा बस्नु गलत हो । निर्देशन अटेर गरे कानुनबमोजिम कारबाही गरिनेछ,’ शर्माले भने ।

यातायात अभियन्ता रामबहादुर थापा भाडा बढे दसैंमा घर जाने यात्रु मर्कामा पर्ने मात्र नभई औषधि, खानेपानी, खाद्यवस्तु, लत्ताकपडा, तरकारी, फलफूललगायतमा पनि मूल्यवृद्धि हुने बताउँछन् । ‘२०४५ मा यात्रुसँग ५ रुपैयाँ लिने सडकमा अहिले ५० लिन्छन् । ट्याक्सीको मिटर ३ रुपैयाँबाट बढेर १४ पुगेको छ । ५ हजार रुपैयाँ लिने ढुवानी गाडीले ३० हजार लिन्छ । जब कि राज्यले व्यवसायीसँग लिनुपर्ने विभिन्न १० वटा शीर्षकमा कुनै राजस्व बढेको छैन,’ थापाले भने ।

विभागले जाँचपास, रुट परमिट, अञ्चलीकरण, नामसारी, प्रदूषण चेकजाँच, ब्लुबुक नवीकरण गर्दा लिनुपर्ने राजस्व बढाएको छैन । सरकारले ज्येष्ठ नागरिक, अपांगता तथा विद्यार्थीलाई छुट दिएबापत व्यवसायीलाई ४५ प्रतिशत कर छुट दिने गरेको छ । तर ज्येष्ठ नागरिक र अपांगता भएकाले छुट नपाएको गुनासो उत्तिकै छ । सरकारले सार्वजनिक गाडीमा १ देखि ४ किमिसम्म यात्रा गर्दा १३ रुपैयाँ भाडादर तोकेको छ । तर, गाडी चढ्नेबित्तिकै १५ रुपैयाँ र ४ किमि यात्रा गर्दा दोब्बरसम्म लिने गरिएको पाइएको छ । कान्तिपुरबाट

30 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank