संयुक्त राष्ट्र संघको कार्यालयमा बुद्धको मूर्ति स्थापना गर्नुपर्नैमा जोड

सोमवार, बैशाख १७, २०७५



 

काठमाडौँ
गौतम बुद्धले देखाएको बाटोलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बुद्धको मूर्ति स्थापना गर्नुपर्नेमा जोड दिइएको छ ।

पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा बुद्ध जयन्ती समारोह समिति, संयुक्त राष्ट्र संघ काठमाडौँ र नेपाल बौद्ध परिषद्ले आज संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बुद्ध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदालाई महानगरले संरक्षण गर्ने बताए ।

नेपालका लागि म्यानमारका राजदूत तिरी प्याची यु थान मे लियोनले गौतमबुद्धको जन्मस्थल नेपालमा आएर बुद्धजयन्ती मनाउन पाएकामा खुशी व्यक्त गरे । “आजको दिन महत्वपूर्ण दिन हो, म्यानमारका ८० प्रतिशत बुद्धधर्म मान्ने जनताले बुद्धजयन्तीलाई विशेष दिनका रुपमा लिएका छन्”, उनको भनाई थियो।

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन युनेस्कोका देशीय निर्देशक क्रिष्टियन म्यानहार्टले विश्वभर बुद्धको सन्देश फैलाउन उक्त कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष धर्म मूर्ति, महासचिव शंकररत्न शाक्य, नेपाल बौद्ध परिषद्का अध्यक्ष महिश्वरराज बज्राचार्यलगायतले बुद्धको जन्म नेपालमा भएको भन्दै बुद्ध जयन्तीलाई एक दिनमात्र मनाएर नपुग्ने बताए।

सन् १९९९ मा संयुक्त राष्ट्रसंघले हरेक वर्ष विश्वभर बुद्धजयन्ती मनाउने निर्णय गरेसँगै युएनको नेपालस्थित कार्यालयमा पनि सन् २००२ देखि बुद्ध जयन्ती मनाउन शुरु गरिएको हो ।

71 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank