ब्रेक्जिट बहस : संसद ३५ दिनका लागि निलम्बित

बिहिबार, भदौ १२, २०७६



एजेन्सी । ब्रेक्जिटको मिति नजिकिदै गर्दा बेलायतको संसद करिब पाँच साताका लागि निलम्बित गरिएको छ । सरकारले संसद निलम्बनका लागि गरेको सिफारिस बेलायती महारानीले स्वीकृत गरेकी हुन् ।

यसको अर्थ सेप्टेम्बरको शुरुमा संसद्‌ जाने सांसदहरू अक्टोबर १४ तारिखभन्दा अघि संसद् फर्किने छैनन्। बेलायत आगामी ३१ अक्टोबरदेखि ईयूबाट बाहिरिदै छ ।

प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट प्रक्रियालाई प्रभावित पार्ने संसद्‌को अधिकारलाई आफूले अवरुद्ध पार्न नचाहेको दाबी गरेका छन् । १४ अक्टोबरमा महारानी एलिजाबेथले संसदलाई सम्बोधन गर्दै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

बुधबार सरकारले महारानी समक्ष संसद निलम्बनका लागि सिफारिस गरेको थियो । संसद निलम्बित भएपछि ३१ अक्टोबरमा बिना कुनै सम्झौता बेलायत ईयूबाट बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानुनहरु पारित गर्न सांसदहरुसँग समय हुने छैन ।

संसद निलम्बन गर्ने कदमको सत्तारुढ र विपक्षी सांसदले समेत विरोध गरेका थिए । बेलायत ईयूमा नै रहनुपर्ने पक्षमा रहेका अभियानकर्मी डोमिनिक ग्रीइभले सरकारको योजना अस्वीकार्य कदम भएको बताएका थिए ।

संसद् निलम्बन गरिएपछि बेलायत ईयूबाट बाहिरिने प्रस्ताव, ब्रेक्जिट, सम्बद्ध प्रक्रियामा आफ्नो प्रजातान्त्रिक भूमिका निर्वाह गर्न सांसदहरूले पाउने छैनन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments