बोलिभियाका राष्ट्रपतिद्वारा राजीनामाको घोषणा

सोमवार, कार्तिक २५, २०७६



एजेन्सी ।  बोलिभियामा १४ वर्षदेखि सत्तामा रहँदै आएका राष्ट्रपति इभो मोरालेजले आन्दोलन चर्किदै गएपछि पदबाट राजीनामा दिएका छन् । अघिल्लो महिना भएको निर्वाचनबाट उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएपनि निर्वाचनमा धाँधली भएको प्रमाण फेला पारेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले दाबी गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

मोरालेजले ताजा चुनाव गर्ने भनेपनि राजनीतिज्ञ, सेना र प्रहरी प्रमुखले उनलाई पद छोड्न आग्रह गरेका थिए । आन्दोलनकारीले उनका केही सहयोगीहरुलाई आक्रमण समेत गरेका छन् । देशमा उत्पन्न तनाव र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले समेत निर्वाचन परिणाम बदर गर्न माग गरेका बेला उनको राजीनामा आएको हो ।

यसै साताको शुरुमा उनका केही साझेदारहरूमाथि आक्रमण भएको थियो भने उनीहरुका घरमा आगजनी समेत गरिएको थियो ।

टेलिभिजनमार्फत सम्बोधन गर्दै मोरालेसले आफूले राष्ट्रपतिको पदबाट राजीनामा दिने घोषणा गर्दै आन्दोलनकारीहरूलाई आफ्ना दाजुभाइ दिदीबहीनीलाई आक्रमण नर्गन र आगजनी रोक्न आग्रह गरेका थिए ।

मोरालेससँगै भेनेजुएलाका उपरराष्ट्रपति अलभारो गारसिया लिनेरा र सिनेटका अध्यक्ष एडरियाना सलभाटिराले पनि राजीनामा दिएका छन् । सो घोषणासँगै आन्दोलनकारीहरू सडकमा निस्किएर आतसबाजी गर्दै खुसीयाली मनाएका थिए ।

बोलिभियामा चुनावमा धाँधली भएको भन्दै केही सातादेखि विरोध प्रदर्शन भइरहेका थिए । राष्ट्रपतीय निर्वाचनको रात मतगणना २४ घण्टाका लागि रोकिएपछि शुरूमा तनाव उत्पन्न भएको थियो।

अन्तिम परिणाममा मोरालेसलाई पहिलो चरणबाटै चुनाव जित्न आवश्यक भन्दा १० प्रतिशत बढी मत ल्याएको भन्दै विजयी घोषित गरिएको थियो । त्यसपछि भएका झडपहरुमा ३ जनाको मृत्यु भएको थियो । आन्दोलनमा प्रहरीहरुले समेत साथ दिएका थिए ।

आइतबार चुनावको पर्यवेक्षणमा सहभागी भएको अर्गनाइजेसन अफ अमेरिकन स्टेट्सले चुनावका क्रममा तथ्याकंमा व्यापक स्तरमा धाँधली भएका प्रमाण फेला परेको भन्दै नतिजालाई मान्यता दिन नसक्ने बताएको थियो । निर्वाचनमा धाँधली भएको विषय बाहिर आएपछि मोरालेस विरूद्ध दबाब बढेको हो ।

सेनाले प्रदर्शनकारीहरूमाथि हमला गर्ने कुनै पनि सशस्त्र समूहलाई नियन्त्रण गर्न आफूले कारबाही अघि बढाउने बताएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata