आन्दोलनमा ईश्वरहरू

आइतवार, मंसिर २६, २०७३

loading...

- विष्णु सन्न्यास



स्वयम् ईश्वरहरू नै
आन्दोलनमा छन अचेल
अस्तित्वको

उनीहरूलाई मन पर्दैन
पृथ्वीको प्रत्येक कुना छोएर वहने
यो वतासको आधुनिक रङ
उनीहरूको आँखालाई मन पर्दैन
क्षितिज र प्रखालहरू नाघेर टाकुरा–टाकुरा
दगुरिहिँड्ने जून जस्तो मानिसको मन

उनीहरूलाई मन पर्छ बरू
जँगलमै बसेर मानिस
मन्दिर–मन्दिरहरूमा भेटी चढाएको
खनेर बृक्षका जरा–जरा
समयको त्यो आदिम गुफा छेउँ
भ्रमको कुनै अमुर्त शालिक राखेको

उनीहरू कहिल्यै देख्दैनन्
गुम्बा, मस्जिद र चर्च अघि निधार ठोक्दै
अभावको रक्ताम्य कविता लेख्दै गरेको
कुनै बेरोजगार प्रेमिको कारूणिक अनुहार
उनीहरूको कानले कहिल्यै सुन्दैन
प्रत्येक विहान सुर्यलाई निधारमा बोकेर
गाउँको उकालो चढ्दै गरेको बृद्ध हजुरआमाको गीत

बरू सजिलै देख्न सक्छन् उनीहरू
भिड र जुलुसहरूमा केटाकेटीहरूले
शास्त्रका अलौकिक पोस्टकार्डहरू
च्यात्दै हिँडेको अफ्ठ्यारो दृष्य
सजिलै सुन्न सक्छ उनीहरूको कानले
सम्झौतामा चित्त नबुजे पछि
मान्छेहरूले मन्दिर र देवताको मुर्ति
भत्काउँदै हिँडेको प्रत्येक गोप्य समाचार

ईश्वरहरू भन्नु सँसारकै
सवैभन्दा खतरनाक शासक न रहेछन्
कि थोपा थोपा पसिनाले उमारेको धानका
अक्षिता-अक्षिताहरूले उनीहरूको पोल्टा भरिदिनुपर्ने
कि घर भत्किदा मुस्किलले सम्हाली राखेको
एक थान कात्रो पनि च्यातेर धजा बनाई
उनीहरूकै नाममा चढाईदिनुपर्ने

अकस्मात एक दिन कहाँवाट हो कुन्नि
गईपुगेथेँ उनीहरूको आन्दोलनमा
र हेर्दैथिए उनीहरूको आईटम नृत्य
ठिक त्यसैबेला भिडमा उभिएका
असँख्य ईश्वरहरूमध्ये एउटाले सम्बोधनमा भन्यो
तर मेरो आन्दोलन ईश्वरहरूलाई ईश्वर बनाउन हैन
ईश्वरहरूलाई मानिस बनाउनको लागि हो ।

(राष्ट्रिय कविता महोत्सवमा प्रथम भएको कविता)

592 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom