नेपालका विनोद चौधरी १५६७ औँ स्थानमा

विश्वका अर्बपतिहरुको सुची सार्वजनिक,

मङ्लबार, चैत्र ८, २०७३



एजेन्सी । फोर्ब्स म्यागेजिनले यसवर्षको अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ। सूचीको पहिलो स्थानमा विल गेट्स कायम छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २२० स्थान तल झरेर ५४४ औँ धनी व्यक्ति बन्न पुगेका छन्।

फोर्ब्सले ट्रम्पको सम्पत्तिमा अघिल्लो सालको भन्दा एक अर्ब अमेरिकी डलरले गिरावट आएको बताएको छ। हाल उनीसँग ३।५ अर्ब डलर सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ।

विल गेट्स गत २३ मध्ये १८ वर्षमा पृथ्वीको सबैभन्दा धनी मानिस दरिएका छन्। अघिल्लो सालको भन्दा ११ अर्ब डलर बढी अर्थात् ८६ अर्ब डलर सम्पत्ति उनीसँग छ।

दोस्रो स्थानमा रहेका वारेन बफेटको ७५।६ अर्ब डलर र तेस्रो स्थानमा रहेका अमेजनका जेफ बेजोसको ७२।८ अर्ब डलर सम्पत्ति रहेको छ।

यस वर्ष विश्वमा अर्बपतिहरुको संख्यामा १३ प्रतिशत वृद्धि भएको छ। अघिल्लो साल १,८१० अर्बपति रहेकामा हाल त्यो संख्या २,०४३ पुगेको छ। फोर्ब्सले यससाल पहिलो पटक २००० अर्बपतिहरुको सूची सार्वजनिक गरेको हो।

billionares-listअघिल्लो सालको भन्दा २३३ अर्बपतिको संख्या बढेको हो। यसमध्ये १९६ व्यक्ति पहिलो पटक सूचीमा अटाएका हुन्।
त्यस्तै अर्बपतिहरुको जम्मा सम्पत्तिमा पनि १८ प्रतिशत वृद्धि भएको छ। यी अर्बपतिहरुको जम्मा सम्पत्ति ७।६७ ट्रिलियन डलर पुगेको बताइएको छ।

अष्ट्रेलियाली अर्बपति जिना राइनहार्टका लागि गत वर्ष सबैभन्दा फलिफापयुक्त भएको फोर्ब्सले जनाएको छ। एक वर्षमा उनको सम्पत्ति झण्डै दोब्बर बनेको छ। उनको सम्पत्ति एक वर्षमा ८.८ अर्ब डलरबाट बढेर १५ अर्ब डलर पुगेको छ।

सो सूचीमा अटाएका एक मात्र नेपाली विनोद चौधरी १५६७ औँ स्थानमा छन्। उनको सम्पत्ति १।३ अर्ब डलर रहेको छ।

सबैभन्दा बढी अर्बपतिहरुको संख्या भएको देशमा अमेरिका कायम छ। यो वर्ष अमेरिकामा ५६५ अर्बपति छन्। दोस्रो स्थानमा चीनमा ३१९ अर्बपति छन्। यो संख्या हङकङको ६७ र मकाउको एक बाहेक हो। त्यस्तै जर्मनीमा ११४ र भारतमा १०१ अर्बपति रहेका छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments