औधोगिक क्षेत्र विधुतभार कटौती मुक्तः उधोग व्यवसायी हर्षित

सोमवार, बैशाख ३१, २०७५



काठमाडौँ ।

घरायसी ग्राहकले गत वर्षको असोजदेखि नै नियमित रुपमा विधुत पाए पनि औधोगीक क्षेत्रका ग्राहकले दैनिक तीन घण्टा विधुतभार कटौतीको समस्या व्यहोर्दै आएका थिए ।

 मागको तुलनामा आपूर्ति कम भएपछि औधोगिक क्षेत्रका ग्राहकलाई प्राधिकरणले नियमित रुपमा विधुत उपलब्ध गराउन सकेको थिएन । पछिल्लो पटक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विधुतभार  प्रेषण केन्द्रको स्थलगत निरीक्षण गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका अधिकारीलाई नयाँ सरकार आएको अनुभूति दिन तत्काल औधोगिक क्षेत्रमा  विधुतभार कटौती अन्त्य गर्न निर्देशन दिएका हुन ।

मन्त्री पुनको निर्देशन , नयाँ सरकार, नयाँ व्यवस्था र नयाँ अपेक्षालाई पूरा गर्न नै भए पनि वैशाखको एकै दिन बाँकी रहँदासमेत विधुत कटौतीको अन्त्य  भन्ने थियो । निर्देशनलगत्तै प्राधिकरणले आन्तरिक तयारी गरेको कार्यकारी निर्देशक घिसिङका शब्दमा “औधोगिक क्षेत्रलाई नियमित विधुत आपूर्ति गर्न सक्छौ कि सक्दैनौँ भनेर हामीले विभिन्न परीक्षण गर्याै । सोही परीक्षणको फलस्वरुप सोमबार हामीले सफलता हासिल गरेका छौँ उनको भनाई थियो ।

प्राधिकरणले बढी विधुत माग हुने साँझको समयमा दैनिक तीन घण्टा औधोगिक क्षेत्रमा विधुत कटौती गर्दै आएको थियो । कार्यकारी निर्देशक घिसिङका अनुसार सोमबारदेखि औधोगिक पनि नियमति चौबिसै घण्टा विधुत पाएका छन् । बढी विधुत माग हुने वीरगञ्ज र हेटौँडा रहेका छन् ।

यस्तै, विराटनगर, भैरहवा र नेपालगञ्जमा समेत नियमित विधुत आपूर्ति गरिएको छ । वैशाखमा नै नियमित वर्षा भएकाले नदीमा पानीको मात्रा बढेको छ । पानीको मात्रामा भएको बढोत्तरीका कारण पनि विधुत उत्पादनमा वृद्धि भएको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ ।

प्राधिकरणले हालसम्म ७६ जिल्लामा सेवा उपलब्ध गराएको छ । गत फागुन मसान्तसम्ममा प्राधिकरणको ग्राहक संख्या ३४ लाख ६५ हजार ८२२ पुगेको छ । कूल ग्राहकमध्ये ९४ प्रतिशत गार्हस्थ्य ग्राहकले ४१.८५ प्रतिशत विधुत   उपभोग गरेका छन् ।

यस्तै, १.४ प्रतिशत औद्योगिक ग्राहकले ३५।६१ प्रतिशत उपभोग र ४.६ प्रतिशत अन्य ग्राहकले २२.५४ प्रतिशत विधुत उपभोग गरिरहेका छन् । प्राधिकरणका अनुसार हाल एक मेगावाट भन्दा माथिका ७३ परियोजनाले ९९५ मेगावाट उत्पादन गर्ने क्षमता राख्दछन् । यस्तै एक मेगावाट भन्दा कम क्षमताका १५ आयोजनाबाट ११ मेगावाट उत्पादन हुने क्षमता रहेको छ ।

यस्तै भारतबाट हाल ४५० मेगावाटको हाराहारीमा विधुत आयात भइरहेको छ । प्राधिकरणको एक मात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो र दोस्रोबाट नियमित रुपमा ९२ मेगावाट विधुत उत्पादन भइरहेको छ ।

यस्तै प्राधिकरणको अर्ध जलाशयुक्त आयोजनाका रुपमा रहेको कालीगण्डकी ‘ए’बाट १४४ मेगावाट, मध्यमस्र्याङदीबाट ७० र चमेलियाबाट ३० मेगावाट विधुत  उत्पादन भइरहेको छ । “नदीमा पानीको मात्रा बढ्दै गएका कारण हामीलाई औधागिक क्षेत्रको विधुतभार कटौतीका लागि सहज भएको हो”, कार्यकारी निर्देशक घिसिङले भने ।

खोला तथा नदीमा वृद्धि भएको पानीको बहावका कारण नदी प्रवाही आयोजनाबाट उत्पादनमा भएको वृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी विधुतभार पूर्ण रुपमा अन्त्य गरिएको छ ।

उनले भने “आजदेखि देशभरको विधुतभार कटौती इतिहास भएको छ ।” अहिले औधोगिक ग्राहकको माग ३०० मेगावाटको हाराहारीमा रहेको घिसिङले जानकारी दिए ।

प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रुपमा काठमाडौँ उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई विधुतभार कटौतीमुक्त गरेको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पुनले आफूहरुको सकारात्मक पहलका कारण औधोगिक क्षेत्रका ग्राहकलाई पनि नियमित विधुत दिन सकिएको बताए।

“सरकारको घोषणा सफल भएको छ । यस अवसरमा अब प्रणालीको सुधार तथा अन्य प्राविधिक कामलाई समेत सँगसँगै लैजानुपर्ने आवश्यकता देखिएको छ । त्यसलाई पनि हामी सुधार गर्छौं ।”

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷वितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवं विकास निर्माणका कारण समय समयमा हुन सक्ने आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरेका छन ।

कम विधुत खपत गर्ने उपकरण चलाउन आग्रह

प्राधिकरणले देशभर नै विधुतभार कटौतीको अन्त्य गरे पनि परम्परागत प्रसारण प्रणाली तथा बढी विधुत माग हुने समयमा प्राविधिक कठिनाइ तथा जटिलताका कारण समस्या आउने भन्दै त्यसमा सचेतता अपनाइदिन आग्रह गरेको छ ।

प्राधिकरणले ‘बिहान र बेलुकाको बढी विद्युत् माग हुने समयमा अधिकतम खपत हुने उपकरण प्रयोग नगरिदिन र अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने उपकरण प्रयोग गरी ऊर्जा बचतमा सहयोग गर्न अनुरोध गरेको छ ।

उधोग–व्यवसायी खुशी

प्राधिकरणले औधोगिक क्षेत्रमा समेत विधुतभार कटौतीमुक्त घोषणा गरेपछि उधोग व्यवसायी खुशी भएका छन् । उनीहरुले आगामी दिनमा उत्पादन बढ्ने र रोजगारीको अवसरमा बढोत्तरी हुने तथा उत्पादकत्वमा वृद्धि हुने भन्दै हर्षित भएको प्रक्रिया दिएका छन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगी व्यवसायीले लामो समयदेखि राख्दै आएको माग पूरा भएको बताए । “हामीले राजनीतिक स्थिरता र विधुतभार कटौतीको अन्त्य गर्न लामो समयदेखि माग गर्दै आएका थियौ । ती दुवै माग पूरा भएका छन् । अब औद्योगिक वातावरण बन्छ र आर्थिक विकासको युग पनि प्रारम्भ हुन्छ,” उनले भने।

उनले प्रसारण तथा वितरण प्रणालीमा सुधार, तथा प्राधिकरणका तर्फबाट गर्नुपर्ने अन्य प्राविधिक कामसमेत समयमै गरिदिए सुनमा सुगन्ध हुने प्रतिक्रिया दिए ।

नेपाल उधोग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका औधोगिक क्षेत्रमा पनि विधुत कटौती नहुने व्यवस्था लागू भएकामा खुशी व्यक्त गररे । उनले नियमित विधुत आपूर्ति तथा प्राविधिक रुपमा देखिएका कमी कमजोरीसमेत समयमै सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पूर्वअध्यक्ष मुरारकाले विधुत जाँदैन भनेर गराइएको विश्वास नै आफैँमा महत्वपूर्ण रहेको बताए ।

हावाहुरीले दियो तनाव

प्राधिकरणले विधुतभार कटौती अन्त्य गरेको आइतबार साँझ नै हावाहुरीका कारण तराई मधेशका केही स्थानमा वितरण प्रणालीमा समस्या पैदा भएको छ । हावाहुरीका कारण तराइ क्षेत्रमा मात्रै १०० मेगावाट विधुतको माग छ । प्राधिकरणका अनुसार महेन्द्रनगरबाट शुरु भएको समस्या कोहलपुर हुँदै पूर्वमा दुहबी र अनारमनीसम्म पुगेको छ । हुरीबतासले बिगारेको विधुत  प्रणाली मर्मतसम्भार तथा सुधार गर्न सबै क्षेत्रमा प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको र केही स्थानमा समस्यासमेत समाधान भइसकेको जनाएको छ ।

67 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank