१५९ प्रतिशतले बढ्यो विदेशी लगानी

शनिबार, मंसिर ७, २०७६



गत आर्थिक वर्षमा तुलनात्मक रूपमा कम विदेशी लगानी भित्रिएकोमा चालू आर्थिक वर्षमा भने यसको प्रवृत्तिमा व्यापक सुधार देखिएको छ ।
लगानी रकमका हिसाबले चालू आवको तीन महिनाभित्रै नेपालले करिब चार अर्ब रुपियाँ भित्र्याएको छ ।

गत आर्थिक वर्षभर नेपालले कुल १३ अर्ब सात करोड रूपैयाँ विदेशी लगानी भित्र्याएको थियो । जुन त्यसअघिको आव २०७४\७५ को तुलनामा ७४.६ प्रतिशतले कम थियो । विदेशी लगानीमा भएको गिरावटको प्रवृत्तिमा सुधार गर्दै समीक्षा अवधिमा साढे दुई गुणाभन्दा बढी लगानी नेपाल भित्रिएको हो ।

विदेशी लगानीसहित यात्राबापत नेपाल भित्रिने रकममा पनि वृद्धि आएको छ । पर्यटकले नेपालमा गर्ने खर्चका रूपमा आउने यस्तो रकम १६।५ प्रतिशतले बढेर तीन महिनामा १८ अर्ब २८ करोड रूपैयाँ पुगेको छ । गत आवको तीन महिनामा यो शीर्षकमा नेपालले १५ अर्ब ६९ करोड रूपैयाँ प्राप्त गरेको थियो ।
यति मात्र होइन यात्रा र शिक्षाबापत नेपालबाट बाहिरिने रकम भने घटेको छ । अघिल्लो वर्षको असोजसम्म २९ अर्ब ४९ करोड रूपैयाँ यात्राबापत नेपालबाट बाहिरिएकोमा २८.१ प्रतिशतले घटेर २१ अर्ब २१ करोड रूपैयाँ पुगेको छ ।
त्यस्तै शिक्षाबापत बाहिरिने रकम ४० प्रतिशतले घटेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो आवमा १७ अर्ब सात करोड रूपैयाँ शिक्षाका लागि बाहिरिएकोमा यस वर्ष १० अर्ब २४ करोड रूपैयाँ मात्र बाहिरिएको छ ।
नेपालबाट बाहिरिने रकममा घटेको र भित्रिने रकममा आएको सुधारले समग्र शोधनान्तर स्थितिमा समेत टेवा पुगेको छ । असोजसम्म नेपालको शोधनान्तर स्थिति १४ अर्ब ४२ करोड रूपैयाँले नाफामा छ । अघिल्लो आवको तीन महिनासम्म नेपालको शोधनान्तर स्थिति ३५ अर्ब ४२ करोड रूपैयाँ घाटामा थियो । गोरखापत्र अनलाइनबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata