विवेकशील साझा पार्टीद्वारा ओली–मोदी समझदारीको स्वागत

सोमवार, चैत्र २६, २०७४



काठमाडौँ । विवेकशील साझा पार्टीले भारतको सफल राजकीय भ्रमणको लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली भ्रमणदलका सम्पूर्ण सदस्यहरूप्रति बधाई ज्ञापन गरेको छ । नेपालको विकाश र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने नेपाल–भारत बिचको समझदारीलाई विवेकशील साझाले स्वागत गरेको छ । जलमार्ग र रेलमार्गका आयोजनाहरूको प्राविधिक र व्यवस्थापकीय पक्ष निर्क्यौल गर्दा नेपालको प्राथमिकता र राष्ट्रिय हितको सुनिश्चितता गर्न नेपाल सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

भारत सरकारको सहयोगमा सञ्चालित पूर्वाधार विकासका आयोजनाको कार्यान्वयनमा बर्षौंको ढिलासुस्तीको तितो यथार्थको पृष्ठभूमिमा काठमाडौं–बिरगंज यातायात कोरिडरको रणनीतिक महत्त्वलाई आत्मसात् गर्दै प्रस्तावित रक्सौल(काठमाडौं रेलमार्गको प्राविधिक तयारी र कार्यान्वयनमा सतर्कताका साथ तदारुकता अपनाउन सरकारलाई आग्रह समेत गरेको छ ।

साथै प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गका लागि दीर्घकालीन सोच सहित हाल विश्वमा प्रचलित आधुनिक रेल प्रविधि अपनाउने तर्फ सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

‘स्वदेश फर्के पछिको प्रधानमन्त्रीको वक्तव्यमा उल्लेख भए अनुसार नै यो भ्रमणले नेपाल(भारत सम्बन्धलाई समानताको आधारमा सौहार्दता र पारस्पारिक विश्वासको नयाँ उचाइमा पुर्याएको हामीले पनि ठानेका छौं’ विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले सोमबार विज्ञप्ती निकालेर भनेका छन् ‘आपसी सम्बन्धको यस्तो नयाँ परिवेशमा नेपाल–भारत सीमा विवाद, सीमा क्षेत्रका भारतीय बाँधले नेपालमा सिर्जित बाढीको समस्या, अलपत्र परेका भारतीय सहयोगमा निर्माणाधीन आयोजना, र भारतसँग नेपालको बढ्दो व्यापार घाटा लगायतका समस्याको यथाशीघ्र समाधानार्थ विशेष पहल गर्न विवेकशील साझा पार्टी नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछ।’

70 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank