आज भोटो जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आइतवार, जेष्ठ २६, २०७६



काठमाडौं । काठमाडौं उपत्यकामा आज (आइतबार) भोटो जात्रा मनाइँदै छ । भोटो जात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी लगायत देशका उच्चस्थ पदाधिकारीहरु भोटो जात्रा देखाउने समारोहमा उपस्थित हुने कार्यक्रम रहेको छ । त्यस्तै, विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ ।

रातो मच्छेन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्याएको  थियो । जावलाखेल पुर्याएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार भोटो देखाउन लागिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए । गुर्जु पल्टनको सलामी, बाजा, नृत्यसहित रातो मच्छेन्द्रनाथको रथ अघि र पछि मीननाथको रथ थतीचोकबाट जावलाखेल पुर्याएको हो ।

लोकमान्यता:

हिन्दु धर्मावलम्बी मच्छिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रुपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रुपमा पूजा गर्ने गर्दछन् ।

लोक मान्यताअनुसार टौदहका नागराज कर्कोटले नागिनीको आँखाका रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरुप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हटाइयो । मच्छिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि ती किसानले आफ्नो भोटो भन्दै दाबी गरेपछि दुबै पक्षबीच खोसाखोस भयो । सो विवाद लिच्छवी राजा गुणकामदेवसमक्ष पुग्यो तर उनले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भन्ने निर्णय गर्न सकेनन् ।

उनले प्रमाण लिएर नआउञ्जेल सो भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइ रथमा राखेर कसैको प्रमाण छ कि भन्ने जानकारी लिने उद्देश्यले अर्को वर्ष देखाए ।

सोही परम्पराअनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट पुजारीले चारैतिर घुमाउँदै तीन पटकसम्म देखाउने प्रचलन रहिआएको छ । त्यसपछि आजसम्म उक्त भोटोको वास्तविक मालिक छ भने अगाडि प्रमाण सहित लिन आउन आव्हानका साथ प्रदर्शन गरिने चलन छ ।

भोटे जात्रालाई स्थानीय भाषामा  जा:ह्वला जात्रा पनि भनिन्छ । यसै जा:ह्वला जात्रा का नामवाट ठाँउको नाम नै जावलाखेल रहन गएको भन्ने गरिन्छ  । जसको  अर्थ भात छर्नु भन्ने हुन्छ । भोटे जात्राको दिन राती भात छर्ने चलन पनि छ । त्यसै गरी यस जात्रालाई प्वाकलं जात्रा पनि भनिन्छ, जसको अर्थ भोटो हो ।

पाँच बजे जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइने:

आइतबार साँझ पाँच बजे जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइनेछ । गुठी संस्थानका प्रमुख पौडेलले राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउनेछन् । आइतबार बिहान आठ बजे बुंगमतीबाट मच्छेन्द्रनाथको भोटो ल्याइनेछ । भोटो देखाइसकेपछि पनि पुनः बुंगमतीमै पुर्‍याइनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank