प्रदेश-२ का मुख्यमन्त्रीको भनाई कुटनीतिक मर्यादा र राष्ट्रहित बिपरित ः रावल

सोमवार, बैशाख ३१, २०७५



काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका सांसद भिम रावलले नेपालको संविधान विश्वमा नै गर्ब गर्न लायक रहेको चर्चा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश नं.२ का मुख्यमन्त्रीबाट आएको अभिव्यक्ति कुटनीतिक मर्यादा र राष्ट्रहित विपरित रहेको हुँदा उक्त भनाईलाई सच्याउन माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकको विशेष समयमा शुरुमै बोल्दै नेकपा एमालेका सांसद भीम रावलले यस्तो बताएका हुन् ।

सांसद रावलले भारतीय जनता पार्टीका विधायक किर्ती आजादले अब सन्धी सकिएकाले नेपालको जनकपुरलाई नेपालबाट फिर्ता लिन समाजिक संजाल मार्फत भारतीय प्रधानमन्त्रीलाई दिएको सुझाव प्रति कडा आलोचना गर्दै यस भनाईले नेपालको सार्वभौम अधिकारलाई नै चुनौती दिएकाले नेपाल सरकारले उक्त भनाईको कडा शब्दमा प्रतिवादन गर्नु पर्ने भन्दै सरकारको गम्भिर ध्यानकर्षण समेत गराएका छन् ।
सांसद रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपाल र भारत वीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउँदै नेपाल भारत वीचको सम्बन्ध पारस्परिक हित, समानताका आधारमा र समान हैसियतमा अबका दिनमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)की सांसद पम्फा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका कुराकानी एवं सहमतिका विषयमा हिजो सदन समक्ष राखेको अभिव्यक्ति कार्यान्वयनमा आए राम्रो हुने बताएकी छिन् ।

उनले भारतीय प्रधानमन्त्रीको भ्रमणका समयमा भारतबाट पनि सुरक्षाकर्मी आएको विषयमा जनतास्तरबाटै प्रश्न उठेको चर्चा गर्दै नेपालमा आउने पाहुनालाई सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकार स्वयं समक्ष रहेको स्पष्ट पारेकी छिन् । सांसद भुषालले भारतीय सांसद किर्ती आजादले नेपालको सार्वभौमिकता माथि प्रश्न उठेने गरी सामाजिक संजाल मार्फत दिएको अभिव्यक्ति प्रति नेपाल सरकारले कडारुपमा प्रतिवाद गर्नु पर्ने भन्दै सरकारको गम्भिर ध्यानार्षण समेत गराइन् । साथै सांसद भुषाले नेपाल अधिराज्यभरका सम्पूर्ण तर र सम्पूर्ण राजनीतिक दलको समेत एउटै परराष्ट्र नीति हुनु पर्नेमा जोड दिएकी थिइन् ।

प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सांसद डा. अमरेशकुमार सिंहले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि जारी गरिएको १६ बुँदे संयुक्त वक्तव्यमा पुराना सन्धी सम्झौताहरुलाई कार्यान्वयन गर्ने बारे कुनै ठोष विषय उल्लेख नभएकाले संयुक्त वक्तव्य अपुरो तथा स्पष्ट नभएको दाबी गरे ।

सोही पार्टीका सांसद डा मिनेन्द्र रिजालले नेपाली जनताले नाकावन्दीको पीडालाई विर्सेर भारतीय प्रधानमन्त्रीको स्वागत गरेको चर्चा गर्दै सरकारमा सहभागी दलले विगतका अभिव्यक्तिलाई अहिले नै विर्सेकोमा चिन्ता व्यक्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका सांसद डा. अमरेश कुमार सिंहको अभिव्यक्तिप्रति विरोध जनाउँदै नेकपा एमालेका सांसद विरोध खतिवडाले राष्ट्रियताप्रति सदनमा बहश गर्नु जरुरी नभएको स्पष्ट पारे ।

त्यस्तै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाली सञ्चारकर्मीले आफ्नै भूमिमा पनि समाचार शंकलनमा अबरोध खेप्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले काठमाडौका हरेक सडकमा हुने जाम, धुँवा र धुलोबाट जनता आक्रान्त बनेको भन्दै सरकारले कहिलेसम्म सडकलाई धुलो, धुवाँ मुक्त बनाउँछ भन्ने प्रश्न गर्दै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण उपलब्धि बिहीन रहेको बताए ।
नेकपा (एमालेंं) सांसद कृष्णगोपाल श्रेष्ठले मध्यपुर ठिमीका मेयर मदनसुन्दर श्रेष्ठमाथि संघातिक आक्रमण गर्ने माथि २३ दिन वितिसक्दा पनि अपराधिलाई किन पक्राउ हुँदैन ? भन्दै यसका बारेमा जवाफ दिन गृहमन्त्रीसँग माग गरे ।

सोही पार्टीका सांसद महेश बस्नेतले कृषिको औद्योगिकीकरण, यान्त्रिकीकरण गर्न सरकारसँग आग्रह गर्दै मध्यपुर ठिमीका मेयर मदनसुन्दर श्रेष्ठमाथि संघातिक आक्रमण गर्नेलाई तत्काल पक्राउ गरि कारबाहीको माग गरे ।

नेकपा (एमाले)का सांसद नारदमुनि रानाले हरेक वर्ष आउने वाढीले कैलाली जिल्लालाई आक्रान्त पार्ने गरेकाले अगामी वाढीको असरलाई कम गर्न समयमै ध्यान दिन सरकारसँग माग गरेका छन् ।

नेपाली काग्रेसका सांसद गगनकुमार थापाले नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान जारी गर्दा नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण कुन दृष्टिकोणले सफल भयो ? भन्दै प्रश्न गरेका छन् । उनले नाकावन्दीको पीडा कुनै पनि नेपालीले विर्सन नसक्ने दाबी गरे ।

64 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank