प्रधानमन्त्रीले मिथिलाको पोशाक लगाउँदा विरोध गर्नुको अर्थ छैनः सचिव आचार्य

सोमवार, बैशाख ३१, २०७५



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सचिव भीम आचार्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण सफल भएको प्रतिक्रिया दिएका छन् । यद्यपि उनले अहिले नै पूर्ण सफल भने भन्न नसकिने बताए । उनले भने, ‘उहाँको भ्रमण सफल भयो, तर पूर्ण सफल भन्न सकिँदैन, यसको लागि त समय कुर्नैपर्छ ।’

सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले मोदी तेस्रो पटक नेपाल भ्रमणमा आएको बताउँदै भने, ‘उहाँ पहिलोपटक नेपाल भ्रमणमा आउँदा धेरै ठूलो उत्साह थियो, उहाँको छिमेकी पहिलो नीति पनि धेरै लोकप्रिय थियो, त्यसपछिको घट्नाक्रम हामीलाई थाहै छ ।’

उनले मोदीको भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको भनेर दुवै तर्फबाट भनिएको बताउँदै अब त्यो व्यवहारमा हेर्न जरुरी रहेको बताए । उनले अरुण तेस्रोको शिलान्यास हुनु नौलो कुरा नभएको प्रतिक्रिया उनले दिए । उनले भने, ‘यो परियोजना करिब चार वर्ष अघि नै नेपालको लगानी बोर्ड र भारतको सतलज कम्पनीबीच सम्झौता भएको कुरा हो ।’ भारत र नेपालबीच धेरै महत्वपूर्ण सहमति तथा सम्झौता भएपनि ती कार्यान्वयन नहुनु दुःखद् भएको उनको तर्क छ ।

सचिव आचार्यले हुलाकी राजमार्ग, पञ्चेश्वर परियोजना, सिमा विवाद, बाँध लगायतमा भएका समझदारीहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिए । त्यस्तै उनले काठमाडौं–रक्सौल रेलको कुरापनि अब परिणाममा देखिनुपर्ने बताए । त्यस्तै कोशी तथा गण्डक सम्झौता भएको यतिका वर्ष वित्दापनि अहिलेसम्म जनताले पाउनुपर्ने सुविधा नपाएकोमा उनको गुनासो थियो । उनले हरेक पटक नयाँ–नयाँ काम गर्ने तर कार्यान्वयन नहुने पक्षलाई सच्याएर लैजानुपर्नेमा जोड दिए ।

फरक प्रसँगमा उनले मोदीको नागरिक अभिनन्दनको क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अपरिपक्व अभिव्यक्ति दिएको टिप्पणी गरे । उनले भने, ‘यो उहाँको इम्याच्योर्ड अभिव्यक्ति हो, नेपालमा समस्या छ भनेर अरुलाई पोल लगाएको जस्तो भयो, एक्स्पोज गर्नुभयो, संविधानले हिमाल, पहाड र तराईका सबै जनतालाई समान अधिकार दिएको छ ।’

प्रधानमन्त्री ओलीले जनकपुरको जानकी मन्दिरमा पहिरिएको पहिरन मिथिलाको पोशाक भएकोले यसमा कसैले अनावश्यक टिप्पणी गर्नु र आरोप लगाउनुको अर्थ नहुने उनको जिकिर छ ।

187 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank