भाषा पाठशालामा हलिया बालबालिका मात्र

बिहिबार, फाल्गुन १, २०७६



सानो अव्यवस्थित बस्ती । प्रायः घरमा टिनको छाना पनि छैन । प्वाल परेको टायलको छानालाई सबैले प्लास्टिकले छोपेका थिए । सडकभन्दा केहीमाथि रहेको उक्त बस्ती झट्ट हेर्दा नीलो, कालो र हरियो रङको प्लास्टिकले रङ्गीचङ्गी देखिन्थ्यो । बस्ती नजिकै पुग्दाको माहोल त झनै अस्तव्यस्त थियो ।

हलिया गाउँ भनेर चिनिने उक्त गाउँमा सबै हलिया समुदायको मात्र बसोबास छ । हलिया बस्तीका एउटा घर पनि व्यवस्थित छैन । सानो बस्तीमा पनि धेरै बालबालिका घरमै झोक्राइरहेका भेटिए । उनीहरू नयाँ मान्छे देख्नासाथ केही सोध्ने हो कि भन्ने डरले भागिहाल्थे ।

घर छेउमा घाम तापिरहेका शंकरराम भुलले भने, ‘चप्पल चुँडिएको तीन दिन भइसक्यो । चप्पलको तुना किन्ने पैसा पनि छैन ।’ नजिकै रहेको साइलेक मावि, बाडिलेकमा कक्षा ७ पढ्ने शंकररामले यसअघि धेरै दिन पोसाक नभएर विद्यालय नगएको सुनाए ।

त्यस्तै हर्के भुलको पनि समस्या उस्तै छ । कापी र कलम नभएर उनी पनि विद्यालय नगई घरमै घाम तापिरहेका थियो । आमा विमली भुलले भनिन्, ‘मेरो छोरो विद्यालय पढ्ने विद्यार्थी हो तर कापी र कलमको जोहो गरिदिन नसक्दा विद्यालय
गएको छैन ।’

बैतडीमा रहेको यस दशरथचन्द आधारभूत विद्यालयको इतिहास निकै पुरानो भए पनि अहिले यहाँ अध्ययनरत बालबालिकाको अवस्था अत्यन्तै दयनीय छ । बैतडीको गढीमा वि.सं. १९७६ जेठ २ गते भाषा पाठशाला स्थापना भएको विद्यालयको साइन बोर्डमा लेखिएको छ ।

तर तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरले वि.सं. १९५७–५८ मा ११४ दिन प्रधानमन्त्री हुँदा तराई र पहाडमा भाषा पाठशाला खोलेका थिए । सम्भवतः त्यसै बेला खोलिएको भाषा पाठशाला हुन सक्ने कतिपयको भनाइ छ ।

त्यस्तो ऐतिहासिक विद्यालयमा अहिले भने हलिया समुदायका बालबालिका मात्र अध्ययन गर्छन् । यसअघि गाउँका ठूलाबडाका छोराछोरीले पनि पढ्ने गरेको यो विद्यालयमा अहिले दलित र मुक्त हलियाका बालबालिका मात्र अध्ययन गर्ने गरेको स्थानीयवासी बताउँछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments