भन्दिनु सन्तेलाई..

सोमवार, मंसिर २, २०७६

- राधिका कल्पित



ओए मिठे !

तँ त त्यही गाउँमै होलास्

सन्तेलाई कतै भेटिस् भने भन्दिनु कि

मुटुको लाल-पुर्जा बुझाइसकेकी छ रे ऋतुले

राजीनामा दिन मात्र बाँकी छ रे

उसलाई विश्वास लाग्दैन भने वचनको

बैनाको तमसुक बनाएर जा रे

ल्याप्चे लाइदिन्छे रे

आँखा चिम्म गरेर

साक्षी त बस्देलास् नि तँ हैन मिठे ?देखेकै होस् तैँले पनि

ऋतुको मनभरि सन्तेले अधियाँ गरेको

हिउँदको खडेरीमा सिँचाई गरेको

चैतको टन्टलापुर घाममा मकै छरेको

अनि बदलामा

एक मुरी आश र तीन पाथी भरोसा भाग बाँडेको

अनि नबिर्सी भन्दिनु कि सन्तेलाई

अब फिर्ता चाहिएन रे अधियाँ

त्यो बैना कागज च्यातिदिओस् रे

बाँचुन्जेल गरी खाओस् रे

सिर्फ त्यो मलिलो छातीको पाटो

बिर्सेर सम्झनाको झरी

बाँझो नपल्टोस् रे ।

तर
सुन् मिठे,
यो कुरा सन्तेलाई नभनेस्
मेरी आमालाई पनि नभनेस्
बिर्सेर नि नभनेस्
लाहुरेको जाली माया
सन्तेको जाली रुमाल भन्दा ठुलो देखेँ
सन्तेको पसिनाको गन्ध भन्दा
लाहुरेको अत्तरको बास्ना मीठो ठानेँ
कहाँ सक्नु अक्षर नचिनेकी मैले
मायाका अनेक रङ्ग छुट्टाउन
विवशता कति सजिलै बिक्दो रहेछ गाउँमा
मनभरि सन्तेले लगाएका ल्याप्चेहरू छोपिनेगरि
कहाँ- कहाँ ल्याप्चे लगायो लाहुरेले ।

सुटबुट र अत्तरले तानिएर
कसरी छुटायो होला त्यो प्रीतको डोरी ?
झिसमिसेमा देउराली कट्दा मन कटक्क नभएको नि हैन
सुनौली बोर्डर कट्तै गर्दा छाती चसक्क नभएको नि हैन
यस्तै रै’छ मिठे
ठुलो मोबाइल बोक्ने रहर
आमाको एउटा बुलाकी लाउने रहर
बाले धितो राखेको घरको लाल-पुर्जा फिर्ता गर्ने रहर
सहरका सुगन्धित सपना हेर्ने रहर
के थाहा यत्ति जाबो रहर किन्दा जिन्दगी नै बेचिन्छ भन्ने ?

के भन्नु मिठे,
मलाई किस्सा- किस्सामा जोखियो
हिस्सा-हिस्साको मोलतोल भयो
एक चिम्टी सिन्दूरले किनिएकी म
लाखौँमा बेचिएँ
मेरो कुमारीत्वको कारोबार
मेरो यौवनको रकम
मेरो शरीरको सरगम
मेरो सुन्दरताको सौदा
लिलाम बडाबड भयो मुम्बई सहरमा ।

यस्तै रै’छ मिठे,
पैसाले प्रेमलाई फिक्का बनाउँदो रै’छ
अभावले जीवनलाई दिक्क बनाउँदो रै’छ
छि-छि दूर-दूर नगर्दो हो त मेरै आँगनले
मेरो मैलो छोप्दो हो त मेरो आँचलले
पखालिदिँदो हो त यो सिन्दूरको नाता दरौंदीको पानीले
फर्की आउँथे फेरि
त्यही बाँझो खेत खन्न
सन्तेका हल गोरु पछ्याउँदै
मकै र गहुँ छर्न ।

-राधिका कल्पित
कलङ्की,  काठमाडौँ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata