भक्तपुर अस्पतालको लापरबाही : एउटी महिलाको दुई रगत समूह

मङ्लबार, बैशाख २४, २०७६



भक्तपुर । भक्तपुर अस्पतालको चरम लापरबाही सामुन्ने आएको छ । गर्भ जाँच गराउन पुगेकी चाँगुनारायण नगरपालिका–२ मा बस्ने सरला दाहालको रगत समुह फरक आएको छ ।

१३ वैशाखमा गर्भ जाँच गराउन उनी भक्तपुर अस्पताल पुगिन् । रगत समूहलगायतका स्वास्थ्य जाँचका लागि उनलाई चिकित्सकले सल्लाह दिए । उनी पैसा तिरेर सरासर अस्पतालको ल्याब पुगिन् । रगत दिइन् । केही समयपछि रिपोर्ट लिन जाँदा उनले थाहा पाइन्, रगत ‘ए’ पोजेटिभ रहेछ । अन्य जाँचका लागि पनि रगत दिनुपर्ने भयो । उनी दिएर घर फर्किइन् ।

तीन दिनपछि (१६ वैशाखमा) पुनः अस्पताल पुग्दा रगत समूह ‘बी’ पोजेटिभ भएको रिपोर्ट उनले प्राप्त गरिन् ।

उनी आश्चर्यमा परिन् र श्रीमान् सरोज दाहाललाई फोन गरिन् । सरलाका पति सरोज भन्छन्, ‘यो त अस्पतालको चरम लापरबाही हो । मेरी श्रीमतीलाई तत्काल रगत चाहिएको भए त अस्पतालले उनलाई ए पोजेटिभ रगत चढाइदिने रहेछ ।’

सरोजले यसबारे प्रशासन प्रमुखसँग कुरा गर्दा प्रशासन प्रमुखले माफी मागे ।

अस्पतालमा दैनिक हजार बढी सेवाग्राही आउने गरेको अस्पताल प्रशासनको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि अस्पतालमा निकै चाप बढेको छ । जहिले सुनसान रहने अस्पताल भरिभराउन देखिए पनि अस्पतालको सेवाबाट भने सेवाग्राही सन्तुष्ट हुन सकेका छैनन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank