सरकार गठन गर्न सकेनन् नेतान्याहुले

मङ्लबार, कार्तिक ५, २०७६



एजेन्सी । लामो समयदेखि इजरायलको सत्ता सम्हाल्दै आएका  ६९ वर्षीय प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूले सरकार गठन गर्न नसकेको बताउँदै विपक्षीलाई सरकार गठन गर्न आग्रह गरेका छन् । एक दशकभन्दा लामो समयदेखि सत्तामा रहेका नेतान्याहु गत सेप्टेम्बरमा भएको निर्वाचनमा बहुमत हासिल गर्न असफल बनेका थिए ।

नेतान्याहुका प्रतिद्वन्द्वी ब्लु एण्ड ह्वाइट पार्टीका बेनी ग्यान्ट्सलाई सरकारमा ल्याउने प्रयास विफल भएपछि ग्यान्ट्सलाई नै सरकार निर्माणको प्रयास गर्न आग्रह गरेका हुन् । सरकार बनाउने प्रयास छाडिदिने घोषणा गर्दै नेतान्याहुले आफूले गठबन्धन सरकारका लागि गरेको बारम्बारको प्रयास अस्वीकृत भएको बताएका छन्।

राष्ट्रपति रुबिन रिभलिनले अब सरकार गठन गर्नका लागि बेनी ग्यान्ट्सलाई २८ दिनको समय दिनेछन्। इजरायली–अरब सांसदहरूले मध्य दक्षिणपन्थी गठबन्धनको नेतृत्व गरेका ग्यान्ट्सलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। तर बहुमतका लागि आवश्यक ६१ सिट पुग्न उनलाई झण्डै एक दर्जन सांसदको साथ चाहिन्छ ।

राष्ट्रपति रिभलिनले आफूले देशमा एकै वर्षमा तेस्रो निर्वाचन आव्हान गर्नुपर्ने अवस्था आउन नदिन आग्रह गरेका छन् । यो वर्षमात्रै इजरायलमा दुई पटक निर्वाचन भइसकेको छ ।

यदि ग्यान्ट्स पनि सरकार बनाउन विफल भए संसदले चुनाव नगराउने प्रयास स्वरुप सरकार बनाउन तेस्रो उम्मेद्वारलाई आह्वान गर्नेछ।

गत सेप्टेम्बरमा भएको मतदानमा नेतान्याहुको लिकुड पार्टीले ३२ सिट जितेको थियो भने ग्यान्ट्सको ब्लु एण्ड ह्वाइट पार्टीले ३३ जितेको थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata