बेल्जियमको लिग रद्द गर्ने, प्रिमियर लिगबारे भिडियो कन्फ्रेन्स

शुक्रबार, चैत्र २१, २०७६



कोरोना भाईरसको महामारीका कारण स्थगित बेल्जियमको शीर्ष डिभिजनको फुटबल प्रो लिगका बाँकी खेल रद्द हुने भएका छन् ।

लिगको निर्देशक कमिटिले जारी सिजनका बाँकी खेल रद्द गर्ने निर्णय गरेर बोर्ड बैठकमा पेश गरेको छ ।

१५ अप्रिलमा बस्न बैठकले यो निर्णयलाई अनमोदन गर्ने बताइएको छ । कोरोना भाइरसका कारण रद्द हुने यो पहिलो लिग हुनेछ । कमिटिले यस सिजनको उपाधि लिग लिडर क्लब ब्रुगलाई दिने निर्णय समेत गरेको छ । क्लब ब्रुग दोस्रो स्थानको जेन्ट भन्दा १५ अंकले अघि रहेको छ ।

यता कोरोना भाइरसका कारण स्थगित भएको इंग्लिस प्रिमियर लिग फुटबलका बाँकी खेलहरु कहिले सुरु गर्ने भन्ने विषयमा क्लबहरुबीच शुक्रबार भिडियो कन्फ्रेन्समार्फत छलफल हुने भएको छ ।

प्रिमियर लिगका सबै २० क्लबबीच भिडियो कन्फ्रेन्स मार्फत शुक्रबार बैठक हुन लागेको हो । प्रिमियर लिगका खेलहरु ३० अप्रिलसम्म स्थगित भएका छन् । तर कोरोना भाइरस संक्रमण बढ्दो मात्रामा रहेका कारण तत्काल खेल सुरु हुने सम्भावना छैन ।

प्रिमियर लिगका खेलहरु मे सम्म स्थगित गर्ने वा स्पेन र फ्रान्सका लिगमा जस्तै अनिश्चित समयका लागि स्थगित गर्ने विकल्पबारे छलफल हुने छ । इटालीमा सिरी ए फुटबल मे को अन्त्यसम्ममा सुरु गर्ने बताइए पनि त्यो सम्भावना देखिएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments