बेलको कथा !

शनिबार, बैशाख ७, २०७६



आज भन्दा धेरै पहिलेको कुरा हो। केही कागहरुले पानी समेत नपिईकन शत्रुहरूसँग रातदिन लडेर जोगाए, एउटा गाउँ। गाउँको बिचमा रोपिएको थियो-एउटा बेलको रूख। बर्षै भरी लटरम्म भएर पाक्थ्यो बेल। ती पाकेका बेलहरु केहि निर्दयि तथा शक्तिशाली चराहरूको आहार थियो । यसो भनौं बेलको रूखमा श्रीपेचधारी चराहरूको स्वामीत्व थियो। तर सम्पूर्ण नियम कानुनहरु भने निर्दयी चराहरूको लाग्थ्यो।

बिस्तारै गाउँका कागहरूमा आक्रोश बढ्दै गयो। खैलाबैला मच्चीयो । चिरबिर-चिरबिर, काँउ-काँउ…। अन्ततः कागहरु सिउरमा श्रिपेच भएको चराहरूसंग मिले । र, लेखेटे ति निर्दयि चरा तथा शक्तिशाली चराहरूलाई । र, स्थापित भयो गाउँ । गाउँ स्थापना भएको सात दिन पछि कागहरू मख्ख परे र सोचे अब हामीले पनि खान पाउँछौ – बेल।

तर सत्र दिनपछि श्रिपेचधारी चराहरुले पाक्दा नपाक्दै त्यो बेलको रुखमाथि आफ्नो अधिकार जमाए । सत्र दिनपछिका दिनहरुमा श्रिपेचधारी चराहरू बेलको रुख रुघ्न थाले । ती कागहरु हिस्स परे । एवं रितले बेलको रुखमाथि श्रिपेचधारी चराहरुको स्वामित्व रहिरह्यो । ती कागहरूमा आक्रोश उम्लिदै गयो । विरोध गर्न थाले ती कागका बथानहरुले। १८ दिन, ३३ दिन उनीहरु विरोधमा उत्रिए । लडिरहे । आफ्नो अधिकार प्राप्तीको लडाईमा । ३६ को दिनतीर उनीहरुको हातमा आइपुगिसकेको बेल पुन: खोसियो ।

खोसेर लाने तिनै श्रिपेचधारी चराहरू नै थिए । कागहरूको रिसको सिमा रहेन। ४६ दिनताका कागहरू उग्र भएर आए। ठुङ्न थाले श्रिपेचधारी चराहरूलाई । र घेरेर राखे बेलको रूख। तत्पश्चात श्रिपेचधारी चराहरू र ती विरोधमा उत्रीएका कागहरु बीच मिलेर खाने, बेलको हेरविचार गर्ने, अन्य चराहरुलाई मुन्टो झुकाएर हेर्न समेत नदिने जस्ता सल्लाह भए । कागका मुखियाहरू(जो कोईली थिए वास्तवमा) र श्रिपेचधारी चराहरू दुवैले सल्लाहबमोजिम नै सेवन खान थाले, बेल । मुख मिठ्याई रहे बाकि कागहरू तर चाख्न सम्म पाएनन्। घरी श्रिपेचधारीले, घरी कोईलीहरूकै आहार भइरह्यो त्यो बेल । बाडीएन ती पाकेका बेल बाकी कागहरुलाई ।

जति गर्दा पनि बेल खान नपाएको रिसमा केही कागहरू जंगल छिरे । कोहि अर्कै गाउँ तिर बसाइँ सरे । तर गाउँ छोडेर जंगल पसेका ती कागहरू बेलाबेला गाँउ आउँदै उधुम मच्चाउन थाले। स-साना बचेराहरूलाई जबर्जस्ती या ललाईफकाई गर्दै आफैसँग जंगल छिराउन थाले। ती स-साना बचेराहरुलाई जंगली बनाउन थाले। आफ्नै आफन्तलाई मार्न लगाउन थाले। बदलामा उनिहरू पनि नमरेका त होइनन्। जंगली कागका वथान र गाँउको रक्षामा खटिएका कागहरू निक्कै दिन लडे। आफु आफु मरे। नाईकेहरू भने आन्नदले विश्राम गर्थे कुनै आरामदायी गुँडमा। हजारौ कागहरू मारिए। खुनको खोलै बग्यो गाँउमा।

यत्तिकैमा ५८ दिन बिते। त्यसै ताका बेलको कुरालाई लिएर श्रिपेचधारी चराहरूमा ठुलो लडाई भयो। केहि मरे केहि बाचे। बाचेका चरालाई कसैले हत्यारा, कसैले परिवार मार्ने निर्दयि सोचे। यहि मौका छोपेर जंगल छिरेका कागका बथान पनि आए र उकास्न थाले गाँउका कागहरूलाई। “अब यै मौका हो, यी श्रिपेचधारी चराहरुलाई गाउँदेखि लखेट्न पाए तपाई हामीलाई भाग लाग्छ, बेल । हाम्रो भाग तिनिहरूले खादैछन।” गाँउका कागहरूलाई पनि भन्ने नै हो भने श्रिपेचधारी चराहरु मन परेको थिएन। जंगल छिरेका कागहरुको कुरा सुनेर उग्र रिसाए कोईली, गाँउका कागहरु । र, ती जंगली कागहरुमा पनि बेल खान नपाएको रिस उस्तै थियो ।

६२/६३ दिनहरुमा ती जंगली , कोइलीहरु तथा कागहरू एकआपसमा मिले । ठुङेर, नङ्ग्रयाएर धपाए – बाकि रहेका श्रिपेच धारी चराको बथान। अहिले पनि कहिलेकाहीँ र्याल चुहाउदै, गाउँतिरै उडिरहेको देखिन्छ भन्छन- ति श्रिपेच धारी चराहरू। जे होस् काग हरू फेरि मख्ख परे। अब बेल पक्कै खाईन्छ। तर आफ्ना भनाउदा जंगली कागका नाईके धोकेबाज निस्किए। मिलेर कोईलीहरूसँग खाईरहे बेल। बाडेनन् अरू कागहरूलाई।

कोइली र ती जंगली कागहरुले खाएको बेल हेर्दै, मुख मिठ्याउदै आज सम्म पनि, बिचरा साधारण कागहरु काँऊ काँऊ… गरिरहन्छन । मरिरहन्छन भोकले । यहि गाउँ बाट शुरू भएको मानिन्छ किंवदन्ती, “कागलाई बेल पाक्यो हर्ष न बिस्मात !”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata