बयान !

मङ्लबार, असार ३, २०७६



बयान

जजसाब !

कुनै दिन म एक आवाज विहिन पुतली थिएँ

मेरा पखेँटाहरू पलाउनु अगावै चुँडिए

न ठोकिक्नु थियो समुन्द्रि आँधीसँग तर ठाेक्किएँ

छातीको गहिराईभित्र उर्लिरहेको विद्राेही छालहरू

अनाहकमा बाध्य भएर उर्लन्छ बेताेडले ।

जजसाब !

म भित्रपनि

-आगो छ

-ज्वाला छ

-भोक छ जति तपाईँसँग छ

तपाईं र मेरो दुख्ने छाती पनि एउटै छ

यदी तपाईं र मेराे मुटुकाे वजन समान छ भने

के तपाईँको आँखाले

देखिरहनु भएको छ मेरो कुरुप अनुहार ?

उडेर आकाश छुनु अगावै पछारिएँ

र फुट्याे सपना बाेकेर यात्रा गरिरहेकाे बेलुन

यो छातिमा एक बंजर भिर खसेपछि सम्झनाको पहिरोले बेस्सरी थिचेको छ पिरामिड जस्ताे मुटु

जजसाब !

मैले त्यसैदिनबाट मुस्कुराउँन छाेडेँ ।

गल्ती कहाँनेर गरेँ मैले ?

काेही आएर-

मेराे स्वतन्त्रतामाथि औँला उठाउँछ

र अहमकाे छाती देखाउँदै भन्छ

तेराे जिन्दगी-

खडेरीमा चिरा चिरा भएकाे बगरजस्ताे बनाइदिन्छु

काेही आएर –

म हिँड्ने बाटाे अगाडि

पहाड बनेर उभिन्छ भने

जजसाब !

मैले पहाड भत्काएर बाटाे बनाउनु गल्ति हाे ?

या गल्ती हाे जीवनका अप्स्टेकलहरू पार गर्नु

मैले आफैँले काेरलेर जन्माएकाे बचेरा आफ्नाे भन्न पाइनँ ।

जजसाब !

उसैले खाेसेर लग्याे अँगालोबाट

मेराे काखमा फुलिरहेकाे एक थुङ्गा कलिलाे फूल

मैले कहाँनेर गल्ति गरेछु

र एकहुल यमराजहरू आएर

मलाई नै दबाउन खाेज्छन् जमिनमुनि ?

मैले चुँडाएकै हाे

नलि खुट्टमा बाँधिएको जंजिर साङगलो

मैले हिँडेकै हो

कोठिजस्तो घरको पर्खाल भत्तकाएर

म हिँडेकै हुँ –

काँचका टुक्राहरू कुल्चँदै कुल्चँदै

यत्तिका फाेहाेराहरू सहँदा पनि

दिन सकेन सम्झना लायक कुनै पलहरू

उठाउन खाेजेकै हुँ

शताब्दीऔं देखि कोमामा बसेको समाजलाई

बढार्न खाेजेकै हुँ

अम्रिसाे कुचाेले पैतालाकाे धुलाे

टकटक्याएर फाल्न खाेजेकै हुँ

जिन्दगीमा टाँस्सिन खाेज्ने निला दागहरू

मैले मेराे शरीरको हरेक अङ्ग

आफ्नै मालिक भएर दाबि गरेकाे हाे

किन कि मलाई दासत्त्वबाट ब्युँझिनु थियो

र लेख्नु थियाे हजाराैँ सुन्दर गीतहरू ।

म अराजक भएकै हुँ कुनै एक समय

मैले लात बजारेकै हो जब्बर छातीमाथि

जसले मलाई  आदिम  समयदेखि

बन्द पर्खालभित्र

अहमको साङगलोले अंकुश लगाएर राख्यो

म नाङ्गिएपछि-

उसले आफूलाई छोपिएकाे महसुस गर्याे

मलाई फुत्कनु थियाे त्याे अघाेरी पिंजडाबाट

जब उसले मेराे शरीरमाथि आफ्नाे प्रभुत्व जमाउन खाेज्याे

तब त कोपरेर फुटाउन बाध्य भएँ

त्यसकाे त्यो एक जोर अपराधि आँखा ।

म निस्फिक्रि भएर फुल्न चाहन्थेँ गमलामा

हेर्न चाहन्थेँ बार्दलीमा बसेर घामकाे प्रशव पीडा

नियाल्न चाहन्थेँ हिमालबाट उड्दै गरेकाे हिउँकाे बाफ

सुन्न चाहन्थेँ प्रेमिल झरनाहरूकाे संगीत

आफ्न‌ै अस्तित्वमा फुल्न चहाँदा चाहँदै

किन ति क्रुर हातले निमोठेर

चुँडाल्न खाेज्याे गुँरास जस्तो कलिलो बैँसलाई ?

किन घरीघरी उजाड बनाउन खाेज्छ मेराे वर्तमान ?

किन पलपल बिथाेल्न खाेज्छ मेराे भविष्य ?

किन त्याे यमराज बनेर आउँछ

प्रत्येक दिन घिस्रिँदै घिस्रिँदै मेराे सिरानीमा ?

जजसाब !

आज म यहि न्यायलयामा उभिएर भन्दैछु

कसले दिएकाे हाे उसकाे हातमा न्यायको तराजु ?

नत्र किन बारम्बार हँसिया जस्तो धारले रेटिरहन्छ मेरो स्वतन्त्रामाथि ?

मलाई म भएर बाँच्नु थियो

अध्याराेकाे लागि – जून भएर झुल्किनु थियाे

दिनकाे लागि- घाम भएर उदाउनु थियाे

जब उसकाे बदनामी आँखाहरूले-

मलाई अपराधि घोषित गर्याे

तब म खिच्न बाध्य भएँ

कानुन भन्दामाथि उठेर-

नाघ्न खाेजेकाे मात्रै हुँ सिमारेखाका ।

– एउटा नदी बाँध बाँधिएपछि- सुरक्षित भएर बग्छ

– एउटा घर मुलगेट लगाएपछि- सुरक्षित हुन्छ

– एउटा बिरुवा बार लाएपछि- सुरक्षित हुन्छ

तर जजसाब !

मान्छे- मान्छे भएर किन सुरक्षित हुँदैन ?

म असुरक्षाको घेराभित्र दबिएको एउटा प्रोटेट हुँ

जजसाब !

यदि तपाईको ईजलासले-

मलाई अपराधि घोषित गर्छ भने

तपाईँको न्यायलयमा मलाई

कुरुषलेझैँ झुण्डाउछ भने

म त्यसैपनि एउटा जिउँदो लास हुँ

मलाई यहि न्यायलयकाे भित्तामा

खृष्ठलाईझैँ टाँगिएर राख्याेस्

नत्र जजसाब !

मैले स्वतन्त्राताको पँखेटा फिजाएर

मान्छे भएर बाँच्न पाऊँ

के मलाई याे न्यायलयले बाँच्ने अधिकार दिन्छ ?

****

© लता कार्की, इटहरी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata