बाँसपानी हत्याकाण्डः ‘अझै न्याय पाइएन’

आइतवार, पुस ६, २०७६



घरखर्च जुटाउन मुस्किल थियो । छाक टार्ने उपाय खोज्न उनीहरु बर्दिया राष्ट्रिय निकुञ्जभित्र पसे । निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाले बाँसपानी नजिक गोली चलायो । घटनामा सुर्खेत हरिहरपुरका तीन महिला मारिए । हतियार सहितका चोर शिकारी भन्दै हत्या गरिएका उनीहरु जंगलमा काउलो (जडिबुटी) संकलन गर्न पुगेका थिए ।

घटना २०६६ फागुन २६ गते बेलुकीको हो । चोरी शिकारीको आरोपमा हरिहरपुर कप्सेरीका १३ वर्षीया बालिका चन्द्रकला विक, उनकी आमा देवीसरा विक र अमृता विकको हत्याभयो । घटनापछि सरकार, नेपाली सेना र निकुञ्जले पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने आश्वासन दिए । त्यसपछि विस्तारै घटना पनि सेलायो ।

बाँसपानी हत्याकाण्ड भएको १० वर्ष वित्यो । तर हालसम्म न पीडितले क्षतिपूर्ति पाएका छन्, न राज्यले उनीहरुलाई न्याय नै दियो । निहत्था महिलाहरुको हत्या भएपछि विभिन्न आयोग र छानबिन समिति बने । सबैको निकस्र्ष थियो,‘सेनाले निहत्था महिलामाथि अनावश्यक बल प्रयोग ग¥यो, पीडितलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्नु ।’

हत्या भएको १० वर्षसम्म पनि न्याय नपाएपछि पीडितहरु न्यायका लागि हारगुहार गर्न थालेका छन् । उचित क्षतिपूर्ती र दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारका सदस्यहरुले हारगुहार गर्न थालेका छन् । १० वर्षसम्म पनि राज्यले आफूहरुलाई न्याय नदिएको पीडितको गुनासो छ । ‘हाम्रो आम्दानीको मुख्य स्रोत भनेकै काउलो थियो, त्यही काउलो लिन गएकी श्रीमती गुमाएँ’ हत्या गरिएकी अमृताका श्रीमान् रत्नबहादुर सुनारले भने, ‘राज्यले नै हाम्रो आफन्त मारिदियो, आजसम्म न्याय पाएनौं ।’

रत्न भन्छन्, ‘बाँसपानीको बस्ती ताराताल सारेपछि गौचरण बनेको क्षेत्रलाई पनि निकुञ्जमा समावेश गरिएको थियो, तर त्यहाँ कहिल्यै सेना गस्तीमा आउन्थेन । हाम्रा आफन्तहरु त्यहाँ काउलो निकाल्न गएका थिए, अनाहकमा मारिए ।’ निकुञ्जको सुरक्षामा रहेको ज्वालादल गणका तत्कालिन उपसेनानी सुवोध कुँवरको कमाण्डमा रहेको टोलीले महिलाहरुमाथि गोली चलाएको थियो । त्यसकारण पनि कुँवर नै प्रमुख दोषी भएको पीडितको दावी छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका तत्कालिन प्रमुख संरक्षण अधिकृत टिकाराम अधिकारी र सहायक संरक्षण अधिकृत रमेश थापाले पनि पीडित परिवारलाई थप क्षतीपूर्ती रकम र बालबालिकाको शिक्षाका लागि व्यवस्था गर्ने आश्वासन दिएका थिए ।  त्यो आश्वासन पनि पूरा नभएको पीडितको गुनासो छ । घटनापछि निकुञ्जबाट किरिया खर्च बाहेक थप सहयोग नपाएको पीडित रत्नले बताए । ‘सहयोग पाउने आश्वासन दिएपछि आफन्तको दाहसंस्कार गरेका थियौं’ रत्नले भने, ‘पछि निकुञ्जले कुनै वास्ता गरेन । राहत र न्याय पाउने आशमा एक दशक नै वित्यो ।’

निकुञ्जले प्रतिव्यक्ति १० लाखका दरले ३० लाख राहत रकम दिलाउन पहल गर्ने आश्वासन दिए पनि वेवास्ता गरिएको पीडितहरुको भनाइ छ । आफन्त गुमाइएपछि आफूहरुलाई छाक टार्न थप समस्या भएको भन्दै पीडितले उचित राहत दिन सरकारसँग आग्रह गरेका छन् । बाँसपानी घटनामा आमा र बहिनीको हत्या भएपछि आफूले पढ्न नपाएको पीडित शान्ति विकले बताइन् । अन्नपूर्ण पोस्ट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments