अस्ताए वरिष्ठ भाषाविद् शर्मा

आइतवार, बैशाख ८, २०७६



काठमाडौं । नेपाली भाषाकै सबैभन्दा ठूलो शब्दकोष नेपाली शब्दसागरका कोषकार तथा साहित्यकार वसन्तकुमार शर्मा  नेपालको  ९१ वर्षको उमेरमा हिजो (शनिबार ) निधन भएको छ । फोक्सोको संक्रमण एवं मुटु सम्बन्धी रोगबाट थलिएका उनको कुमारीगालस्थित निवासमै निधन भएको हो ।

उनको जन्म विसं १९८४ को रामनवमीको दिन महारागन्जमा भएको थियो। शर्मा हालसम्मकै सबभन्दा ठूलो नेपाली शब्दकोश नेपाली शब्दसागरका लेखक हुन् । उनले ‘नेपाली शब्दसागर’ लेखनमा मात्रै १५ वर्ष खर्चिएका थिए । मेक्सिम गोर्कीको चर्चित उपन्यास आमा नेपाली भाषामा अनुवाद गरेका शर्माका करीब एक सय कृति प्रकाशित छन् ।

संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा पनि काम गरेका थिए। यस्तै महाभारतको गद्यमा उल्था पनि उनैले गरेका थिए ।

उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान गद्यसाहित्य विभाग, विदेशी साहित्यकार सम्पर्क समितिका सचिव र चित्रकला विभागका सहायक सचिवको रूपमा समेत काम गरेका थिए । उनी नेपाल सरकारको पाठ्यक्रम परिमार्जन समितिमा समेत रहेर काम गरेका थिए । २००८ मा नेपाली शिक्षा परिषद्का संस्थापक शिक्षक र २०१८ मा रत्नराज्यलक्ष्मी क्याम्पसका संस्थापक सचिव तथा प्राध्यापक भएका शर्म्माले करीब एक दर्जन विद्यालय तथा क्याम्पसमा अध्यापन गरेका थिए ।

‘आमा’ उपन्यासको अनुवादमा रुस सरकारबाट २०१० सालमा पुरस्कृत भएका उनले, शिक्षासेवा नगद पुरस्कार (२०२९), वीरेन्द्र ऐश्वर्य सेवा पदक (२०५८), महाकवि देवकोटा शताब्दी सम्मान (२०६६), लगायत दर्जनौँ पुरस्कार तथा सम्मान पाएका थिए ।

साहित्यिक कृतिका अलावा उनका वकुश, ज्ञानेश्वरजी, प्रकाश, दाजु, वाणेश्वर, बच्चुराम बाजे, क्षेत्रीबाहुन, आदि उपनामहरूबाट पत्रपत्रिका तथा रेडियोमा लेखहरू प्रकाशन–प्रसारण भएका छन् ।

स्वर्गीय शर्माको श्रीमतीसहित चार छोरी र ४ छोरा छन् । लामो समय विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्यापन गरेका उनी पशुपति क्याम्पस, रत्नराज्य क्याम्पस लगायतका शैक्षिक संस्थाको संस्थापक समेत हुन् ।

उनको हिजो नै हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । उनको निधनमा प्रधानमन्त्री केपी ओलीले शोक व्यक्त गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata