बार्सिलोना लियोनको घरमा भिड्दै, बार्सालाई ‘निराश बनाउने’ लियोनको दाउ

मङ्लबार, फाल्गुन ७, २०७५



युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत मंगलबार राति स्पेनिस महारथि बार्सिलोना र फ्रेन्च क्लब लियोन भिड्दैछन् । च्याम्पियन्स लिगको निकै महत्वपूर्ण मानिएको खेल खेल्न बार्सिलोना फ्रान्स पुगिसकेको छ ।

स्पेनिस ला लिगामा पकड जमाइरहेको बार्सिलोना लियोनलाई हराउने योजनामा छ । लियोन पनि घरेलु मैदानमा कुनै पनि हातलमा बार्सिलोनालाई रोक्ने प्रयत्नमा रहनेछ ।

ला लिगामा २४ खेलबाट ५४ अंक सहित शीर्ष स्थानमा रहेको बार्सिलोना तालिकामा बलियो देखिएको छ । यता लियोन घरेलु लिग वानमा तेस्रो स्थानमा छ । उसले लिगमा २५ खेलबाट ४६ अंक बनाएको छ ।

च्याम्पियन्स लिगको अन्तिम ३२ मा बार्सिलोना समूह ‘बी’ मा थियो । सो समूहबाट बार्सिलोना समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । जसमा बार्सिलोनाले टोट्टनहामलाई ४–२ गोलले हराएको थियो ।

लियोन समूह ‘एफ’ को उपविजेता बनेर अन्तिम १६ मा पुगेको थियो । समूह चरणमा लियोनले म्यानचेस्टर सिटीलाई उसैको मैदानमा हराएको थियो । त्यसैले अन्तिम १६ मा लियोनले बार्सिलोनालाई कडा टक्कर दिने अनुमान गरिएको छ । घरमा हुने भएकाले पनि लियोनको मनोबल उच्च देखिएको छ ।

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति हुने अन्तिम १६ को अर्को खेलमा इङ्गिलस महारथि लिभरपुल र जर्मन टोली बायर्न म्युनिख भिड्दैछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata