लियोनलाई ५–१ ले हराउँदै बार्सिलोना क्वाटरफाइनलमा, मेस्सीको दुई गोल

बिहिबार, फाल्गुन ३०, २०७५



स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम आठ अर्थात क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान सम्पन्न अन्तिम १६ अन्तर्गत दोस्रो लेगको निर्णायक खेलमा कप्तान मेस्सीले २ गोल र २ गोलका असिस्ट गरेपछि फ्रेन्च क्लब लियोनलाई ५–१ ले हराउँदै बार्सिलोना  क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालई जिताउन कप्तान लिओनल मेस्सी, फिलिपे कोउटिन्हो, जेरार्ड पिके र उसामान डेम्बेलेले गोल गरे । बार्सिलोनाले खेलको पहिलो हाफमा २–० को सहज अग्रता लिएको थियो ।

उसका लागि १७औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टी गोलबाट खाता खोलेका थिए । लियोनका खेलाडीले बार्सिलोनाका लुइस स्वारेजलाई बक्समा लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गरेका थिए ।

त्यसपछि खेलको ३१औं मिनेटमा फिलिपे कोउटिन्होले टोलीका लागि दोस्रो गोल गरे । उनले लुइस स्वारेजको पासमा खाली पोस्टमा सहजै गोल गरेका थिए ।

लियोनलाई आफ्नो घरमा सुरुबाटै दबाबमा राखेको बार्सिलोनाले दोस्रो हाफमा पनि पनि गोल थप्यो । तर, सुरुआती समयमा पाहुना टोलीले खेलमा फर्किने संकेत देखाएको थियो । उसका लागि खेलको ५८औं मिनेटमा लुकास टुसार्टले भलीमार्फत् बक्सबभित्रबाट सुन्दर गोल गरेका थिए । उनको गोलपछि खेल २–१ भयो ।

तर, त्यसपछि बार्सिलोनाले खेलमा प्रभाव जमायो । जहाँ खेलको ७८औं मिनेटमा कप्तान मेस्सीले नै एकल प्रयासमा टोलीका लागि तेस्रो गोल गरेपछि बार्सिलोना जिततर्फ अघि बढेको थियो ।

पछि खेलको ८१औं मिनेटमा कप्तान मेस्सीको पासमा जेरार्ड पिकेले सहजै खाली पोस्टमा गोल गरेपछि बार्सिलोना ४–१ ले अगाडि भयो । फेरि खेलको ८६औं मिनेटमा मेस्सीको दोस्रो पासमा सब्सिचयुट खेलाडी डेम्बेलेले गोल गरेपछि खेल बार्सिलोनाले ५–१ ले जित्यो ।

यससँगै बार्सिलोना प्रतियोगिताको अन्तिम आठमा पुगेको छ भने लियोन अन्तिम १६ बाटै आउट भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank