स्थानीय तहमा बैंक नहुँदा समस्या

बुधबार, फाल्गुन ३०, २०७४



सुर्खेत । स्थानीय तहमा तोकिएका बैंक नहुँँदा सुर्खेतमा स्थानिय नागरिकले सास्ती खेप्नु परेको छ । सिंहदरबारको अधिकार गाउँमा गएपनि बैंक नजाँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ ।

सुर्खेतका आठ स्थानीय तहमध्ये चिङ्गगाड गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । स्थानीय तहमा हुने विकास लगायतका सम्पूर्ण कारोबार गर्न नागरिक प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा आउनु पर्ने बाध्यता रहेको स्थानियले दुखेसो पोखेका छन् ।

स्थानीय तहमा सरकारी कारोबार गर्ने बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत प्रदेश राजधानी वीरेन्द्रनगर आउनुपर्ने बाध्यता रहेको एक शिक्षकले बताए । स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामै गएको छ । स्थानिय तहमा बैंक तलब भत्ता, सामाजिक सुरक्षा भत्तालगायत रकम निकासा गर्नसमेत झन्झट भएको छ ।

गाउँपालिकामा बैंक नहुँदा जनतालाई आर्थिक कारोबार गर्न कठिनाइ भएको चिङ्गगाड गाउँपालिकाका सुर्खेतका उपाध्यक्ष मनमाया आचार्यले बताइन् । “अहिलेसम्म गाउँमा बैंकहरु गएका छैनन्, गाउँपालिकामा भएका विकास लगायतका कामको सम्पूर्ण कारोबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आएर गर्नुपर्ने बाध्यता छ”, उनले भनिन् । केही समय पहिला एनआइसी बैंकसँग गाउँपालिकामा जाने कुरा भयो पछि के कारणले हो जान नमानेको, उनले बताए ।

“गाउँपालिकामा जाने सल्लाह बमोजिम हाललाई वीरेन्द्रनगरमा रहेको एनएमबी बैंकमा कारोबार भइरहेको छ अब यसै बैकलाई लिने पहल गरिरहेका छौँ”, उनले भनिन् । गाउँपालिकामा बैंकको असुविधा भएपछि कर्मचारी र जनप्रतिनिधि अहिले पनि हप्तौँसम्म प्रदेश राजधानीमा आउनुपर्ने बाध्यता रहेको छ । गाउँमा बैंकहरु नजाँदा सामान्य आर्थिक कारोबारका लागि राजधानी धाउनुपर्ने बाध्यता भएको चिङ्गगाड गाँउपालिका–५ सुर्खेतका हर्क रानाले बताए । ग्रामीण भेगका जनता सामान्य कारोबार गर्न पनि राजधानी आउने गर्दा सिंहदरबार गाउँमा गएको अनुभूति गर्न नसकेको उनले बताए।

“भौतिक पूर्वाधार अभाव र सुरक्षालगायत विभिन्न कारण देखाएर बैंक गाउँमा गएका छैनन्, सरकारले गाउँमा सिंहदरबार आएको बताए पनि प्रायः काम गर्न प्रदेश राजधानी वीरेन्द्रनगरमा आउनुपर्छ, जनताले गाउँमै सेवा पाउन सकेका छैनन्, कसरी गाउँमा सिंहदरबार गएको अनुभूति गर्ने,” उनले भने ।

सरकारले नागरिकलाई दिने वृद्धभत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारले बैंकलाई स्थानीय तहमा शाखा निर्देशन समेत दिएको थियो । तर अहिलेसम्म बैंकको शाखा खोल्नुपर्ने स्थानहरुमा खोलिएका छैनन् ।

201 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank