ब्याज बढाएरै बैंक नाफामा

शुक्रबार, भदौ ८, २०७५



काठमाडौं । सञ्चालनमा रहेकामध्ये २२ बैंकले गत वर्ष निक्षेप र कर्जाबीचको ब्याजअन्तर (स्प्रेड) बढाए । यो नै बैंकहरूको नाफा वृद्धिको प्रमुख कारण बन्यो । डेढ वर्षयता लगानीयोग्य पुँजीको अभाव भएको गुनासो गर्दै आएका बैंकको नाफा भने लोभलाग्दो छ ।

गएको वर्ष वाणिज्य बैंकहरूले खुद नाफा ५३ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरे । यो बैंकहरूको कुल आयबाट कुल खर्च र कर घटाएर आएको शुद्ध नाफा हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष यस्तो नाफा करिब २३ प्रतिशतले बढेको छ ।

यो अर्थतन्त्रको औसत वृद्धिदरभन्दा धेरै बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ती बैंकहरूको यस्तो नाफा ४४ अर्ब ८४ करोड रुपैयाँ थियो ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकहरूको नाफा वृद्धिको प्रमुख स्रोत ब्याज आम्दानी नै छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष २२ वटा बैंकहरूको कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) बढेको छ । बाँकी बैंकहरूको स्प्रेड घटेको छ । यसको अर्थ व्यवसाय विस्तारका लागि नयाँ क्षेत्र पहिचानसहित ‘नवप्रवर्तन’ ल्याउनुको साटो ऋणको ब्याजदर वृद्धिमै बैंकहरूले ध्यान केन्द्रित गरे भन्ने हो ।

केही बैंकहरूको स्प्रेड राष्ट्र बैंकले तोकिदिएको अधिकतम ५ प्रतिशतभन्दा पनि बढी छ । प्रकाशित वित्तीय विवरणअनुसार २१ बैंकहरूको स्प्रेड ४ प्रतिशतभन्दा बढी छ । जसमध्ये चारवटा बैंकको स्प्रेड ५ प्रतिशत बढी छ ।

ती बैंकहरूको स्प्रेड राष्ट्र बैंकले दिएको अधिकतम सीमाभन्दा धेरै हो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशतभन्दा बढी ब्याजअन्तर राख्न पाउँदैनन् । यो वर्षको अन्त्यसम्म वाणिज्य बैंकहरूले स्प्रेड साढे ४ प्रतिशतमा झारिसक्नुपर्ने नयाँ निर्देशन छ ।

बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाबीचको ब्याजअन्तर धेरै गराएकै कारण औसतभन्दा बढी वृद्धिदर हासिल भइरहेको पूर्वसचिव रामेश्वर खनालले बताए । मुलुकको आर्थिक विकासका लागि आवश्यक लगानी (पुँजी) जुटाएर बैंकहरूले महत्त्वपूर्ण योगदान पुर्‍याए पनि उपभोक्ताले व्यवयाय विस्तारको लाभ प्राप्त गर्न नसकेको उनको भनाइ छ ।

‘बैंकहरूमा निक्षेपमा सकेसम्म कम ब्याज दिने र ऋणमा सकेसम्म बढी ब्याज उठाउने प्रवृत्ति हाबी छ,’ उनले भने, ‘यही कारण अर्थतन्त्रको औसत वृद्धिदर करिब १५ प्रतिशत हुँदा बैंकहरूको मुनाफा वृद्धिदर त्योभन्दा बढी छ ।’ यद्यपि मुलुकको आर्थिक वृद्धिमा धेरै योगदान पुर्‍याउने सेवा क्षेत्रहरूमा बैंकहरूको ठूलो लगानी केन्द्रित भएकाले त्यसले समग्र आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको उनले दोहोर्‍याए ।

‘विद्यमान परिस्थितिको फाइदा उठाउँदै केही बैंकहरूले स्प्रेड धेरै बढाए,’ पूर्वबैंकर ससिन जोशीले भने, ‘तर, यसलाई सामान्यीकरण गर्न मिल्दैन ।’ उनको विचारमा वर्षको नाफा वृद्धिदर अस्वाभाविक होइन ।’

रकमका आधारमा मात्र बैंकहरूको नाफा बढेको रूपमा हेर्न नहुने उनले बताए । ‘रकमका आधारमा अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको नाफा बढेको छ । तर, पुँजी वृद्धिको अनुपातमा निरन्तर रूपमा घटिरहेको छ,’ उनले भने, ‘अघिल्लो वर्ष १७ प्रतिशत रहेको बैंकहरूको सम्पत्तिको प्रतिफल गत वर्ष साढे १४ प्रतिशतमा झरेको छ ।’

गत वर्षमा २८ वटा बैंकहरूको चुक्ता पुँजी करिब ३४ अर्ब रुपैयाँले बढेर २ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूको पुँजी १७.१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकहरूको चुक्ता पुँजी १ खर्ब ९८ अर्ब ८६ करोड रुपैयाँ थियो ।

बैंकहरूको गत वर्षको खुद नाफा वृद्धिदर चुक्ता पुँजी वृद्धिदरभन्दा बढी हो । यसैगरी गएको वर्ष वाणिज्य बैंकहरूमा साढे ३ खर्ब रुपैयाँ निक्षेप संकलन गरे ।

यो अघिल्लो वर्षको तुलनामा १६.७७ प्रतिशतको वृद्धि हो । सोही अवधिमा बैंकहरूले थप ३ खर्ब ७६ अर्ब रुपैयाँ लगानी विस्तार गरे । यो २१.६७ प्रतिशतको वृद्धि हो । यसबाट बैंकहरूले सम्पत्ति र दायित्वबीच सन्तुलन मिलाउन नसकेको स्पष्ट हुन्छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलनको तुलनामा कर्जा विस्तार दर उच्च रहेकाले वित्तीय क्षेत्र असन्तुलित अवस्थामा रहेको राष्ट्र बैंकले पनि स्वीकार गरेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनमा यस्तो उल्लेख छ । कान्तिपुरबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata