बंगलादेशी राष्ट्रपति नेपाल आउँदै, यस्तो छ सेड्युल

मङ्लबार, कार्तिक २६, २०७६



काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि आज  नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा हमिद मंगलबार नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका उनी आजदेखि कात्तिक २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनेछन्।

बङ्गलादेशका राष्ट्रपतिको औपचारिक भ्रमणको सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । उनको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको छ ।

हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन आफ्ना बंगलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपतिले आयोजना गर्ने राजकीय भोजमा पनि हमिद सहभागी हुनेछन् ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि हमिदले भेटवार्ता गर्ने तय भएकाे छ । हमिदले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूसँग भलाकुसारी गर्ने परराष्ट मन्त्रालयले जनाएकाे छ ।

परराष्ट्रका अनुसार, भ्रमणको दौरानमा हमिदले नेपाली समकक्षीलगायतसँग भेटवार्ता गर्नुका साथै भक्तपुर दरबार क्षेत्र, चन्द्रागिरि, पोखरालगायत स्थानकाे अवलाेकन गर्ने तय भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata