नेकपामा वामदेव कम्पन !

नेपालपाटी टिप्पणी

बिहिबार, फाल्गुन १५, २०७६

- दीपेन्द्र पाण्डे



गत फागुन १४ गते नेकपा सचिवालयको बैठकले  कमरेड वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गर्‍यो । उक्त निर्णयलाई प्रधानमन्त्री ओलीले कार्यान्वयन गर्न नसक्ने जानकारी कमरेड माधव नेपालसँग व्यक्त गरेसँगै अकस्मात् मिडियामा वामदेव गौतम र प्रधानमन्त्री ओलीको आगामी रणनीति के हुन्छ ? भन्ने हल्लाले स्थान जमायो । वर्तमान अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिन लागेको समयमा मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने उक्त स्थानमा नेकपाले कमरेड वामदेवलाई सिफारिस गरेसँगै अकस्मात् बदलिएको राजनीतिको दूरगामी असर कस्तो पर्नेछ ? प्रधानमन्त्रीले अत्यन्त रुचाएको अर्थमन्त्री खतिवडालाई प्रचण्ड र व्यापारीको साँठगाँठबाट सभासद् बन्न रोक्ने खेल खेलिएको मान्ने प्रधानमन्त्रीले पार्टी सचिवालयको निर्णय कार्यान्वयन गर्न नसक्ने वा नगर्ने धम्कीसँगै तातेको नेकपा राजनीति कतै दुर्घटना तर्फ लम्कँदै त छैन ? भन्ने सवालको उचित र चित्तबुझ्दो जवाफ तत्काल मिल्ने सङ्केत देखा परेको छैन ।

बजार हल्लाहरू !

कम्युनिस्ट पार्टीमा त्यसको वैधानिक निकायले गरेका निर्णयहरू बाध्यात्मक हुन्छन् भन्ने कमरेड प्रधानमन्त्रीले नबुझ्ने विषय मान्न सकिँदैन । सबै कुरा बुझेका प्रधानमन्त्रीले सचिवालयको निर्णय कार्यान्वयन गर्दिन भन्ने र उलङ्घन समेत गर्ने हो भने वर्तमान नेकपा एक ढिक्का रहिरहन सम्भव हुने छैन । यी र यस्ता अनेकन् तथ्य बुझेका मानिसहरू अब प्रधानमन्त्री ओलीले वामदेवको ठाउँमा युवराज खतिवडालाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने छन् । त्यस पश्चात् पार्टीले प्रधानमन्त्रीलाई संसदीय दलको नेताबाट हटाउने छ । त्यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गर्ने छन् र मध्यावधि निर्वाचनको घोषणा गर्ने छन् । जसको कारण नेकपा फुट्ने छ भन्ने बजार हल्ला सुन्न बाध्य भएका छन् । अर्को थरी हल्लामा प्रधानमन्त्री ओलीले केवल घुर्की देखाएका मात्र हुन । पार्टीको निर्णय टाउकोले टेकेर पालना गर्ने छन् । केही हल्लामा प्रधानमन्त्री ओली माधव नेपाललाई सत्ता सुम्पँदै उपचारमा जाने छन् । उपचार पछि पार्टी कमान्ड आफ्नो हातमा लिँदै प्रचण्ड र वामदेव विरुद्ध राजनीतिक टयाकल गर्ने छन् ।

वर्तमान अवस्थाको कारण प्रधानमन्त्री ओली !

पूर्व एमालेको अन्तिम महाधिवेशन मार्फत पार्टीको अध्यक्ष बन्न वामदेव गौतमसँग जायज नाजायज वचन र प्रतिबद्धता जनाए । तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालसँग राजनीतिक पारपाचुके गर्दै कमरेड वामदेवले ओलीसँग लगनगाँठो कसे । कमरेड ओलीको कमजोर स्वास्थ्य देख्दै ओली कित्तामा अनुपयुक्त आश्वासनको लड्डु खान हिँडेका गौतम केही समय पछि नराम्रोसँग झस्किए । कमरेड ओलीले आफूलाई प्रयोग मात्र गरेको त्यति बेला सम्पूर्ण रूपमा बुझे जब उनी बर्दियाबाट अकल्पनीय पराजय भोग्न बाध्य भए । निर्वाचनमा रणनीतिक पराजय भोगेका मान्ने कमरेड गौतम अध्यक्ष ओलीबाट आफ्नो माग कुनै न कुनै ढङ्गले सम्बोधन गराउन दिन रात लागी रहे तर एक पछि अर्को असफलता भोग्न विवश भए । ढोकाबाट संसद् छिर्न नसके पनि चोर बाटोबाट प्रधानमन्त्री बन्ने चाहना नछोडेका कमरेड गौतम अन्ततः ओलीसँग बदला लिनकै निम्ति कमरेड प्रचण्डको मिसाइल बन्न राजी भएको ओली बुझाई छ । कमरेड वामदेवको शैली , विचार र व्यवहार राम्रोसँग चिनेका , जानेका र बुझेका कमरेड ओलीले विगतमा आफ्नो स्वार्थ प्राप्तिको निम्ति खर्च गरेको भद्र सहमतिको उलङ्घन नै वर्तमान सङ्कटको कारण हो भन्ने प्रधानमन्त्रीले शतप्रतिशत बुझेका छन् ।

शान्ति र स्थिरताको मुद्दा

बढ्दो उमेरका कारण कमरेड वामदेव अरू तीन वर्ष कुर्न राजी देखिदैनन । प्रधानमन्त्री बन्न कमरेड ओलीले आफूलाई प्रयोग गरेको साथै माओवादी केन्द्र र एमाले मिलाउँदै कमरेड ओलीलाई प्रधानमन्त्री बन्न आफूले असीमित योगदान गरेको बुझाई वामदेव कमरेडको छ । बर्दियामा आफूलाई सुनियोजित ढङ्गले निर्वाचन हराइएको , त्यसको भर्पाइ ओली कमरेडले गरिदिनु पर्ने मान्यता कमरेड वामदेवको रहँदै आएको छ । जीवनमा जसरी भए पनि एक पटक प्रधानमन्त्री बन्ने सपना पालेका वामदेवको कारण प्रधानमन्त्री ओलीलाई नयाँ झमेला थपिएको छ । वर्तमान समयमा कमरेड वामदेवलाई सभासद् बनाउन नसकिने मात्र हैन संविधान संशोधन गर्दै प्रधानमन्त्री पनि बनाउन नसकिने कारणमा शान्ति र स्थिरताको मिठास घोलिएको छ । शान्ति र स्थिरताको बाबजुद ओली शासनको विगत दुई वर्षमा मुलुकमा किन विकास र समृद्धि हुन सकेन ? शान्ति र स्थिरताको बहाना केवल ओली सत्ताको निरन्तरताको लागि मात्र हो । राजनीतिक अस्थिरता हुन्छ भन्ने बहानामा कुनै पनि सरकार परिवर्तन नहुने हो भने आज ओली सत्ताको उदय समेत नहुने कमरेड वामदेवको बुझाई छ । वास्तवमा पछिल्लो समय शान्ति र स्थिरताको निम्ति ओली शासनको तमाम गडबडी नेकपा र मुलुकवासीले कहिलेसम्म बोक्नु पर्ने हो भन्न बाध्य पारिएको छ ।

आफूले जे गरे पनि ठिक !

प्रधानमन्त्री ओलीमा विचित्रको मनस्थितिले डेरा जमाएको छ । पार्टी सत्ता र सिंहदरबारको कुर्सीको नसामा उनी आफू मात्र सही अरू सबै गलत भन्ने अभिमान पालेर बसेका छन् । वडा तह देखी पार्टीको सचिवालय मात्र हैन वरिष्ठ नेता तोक्न सम्म दिमाग खर्च गर्ने कमरेड ओली आफूलाई सधैँ विधानभन्दा माथि राख्ने र देख्ने गर्दै आएका छन् । कहिले झलनाथ , वामदेवलाई लिएर माधव लडाउने , कहिले प्रचण्ड लिएर माधव , वामदेवलाई लडाउने , जानाजान वरिष्ठताको विवाद सिर्जना गराउने , पार्टीका निर्वाचित महासचिवलाई मिल्काएर आफ्नो भक्तको प्रमोसन गर्ने , पार्टीलाई विधान विपरीत चलाउने , आफ्नो स्वार्थको निम्ति वामदेवलाई सिंगापुर बोलाउने , विधान विपरीत उपाध्यक्ष बनाउने , आफ्नै घरलाई पार्टी अफिस बनाउने , विधान बमोजिम पार्टीका कुनै पनि बैठक सञ्चालन समयमा नगर्ने , पोलिटब्युरोको जन्मनै नगर्ने , लहड र मनोमानीमा चलाइएको ओली कार्यकाल कुनै सामन्ती पार्टीको भन्दा फरक पाइँदैन । उनका जायज नाजायज निर्णय र लहड आठ लाख कार्यकर्ताले माने मात्र पार्टी सही हुने , उनको इच्छा विपरीत पार्टीका वैधानिक निकायले गरेका निर्णय मान्दिन भन्ने दुस्साहस सुन्नासाथ आफूले जे गरे पनि ठिक ! भन्ने ओली सिद्धान्त सर्वसाधारण मानिसले समेत चाल पाउँदै छन् ।

अन्तमा , कमरेड प्रचण्ड र प्रधानमन्त्री ओलीको शक्ति सङ्घर्षमा कमरेड वामदेव र नेकपा पार्टी पिसिएको छ । वामदेवलाई मोहरा बनाएर आफ्नो स्वार्थ सिद्ध गर्न मरीहत्ते गरिरहेका दुई अध्यक्षको रणनीतिक झगडाले प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक छवि र कमरेड प्रचण्डको अतृप्त सत्ता लिप्सा सतहमा देखा परेको छ । मनमोहन सरकारको गृहमन्त्री भए पश्चात् सहिमानेमा पार्टी र देशलाई भन्दा आफूलाई केन्द्र भागमा राखेर गुटबन्दीको जगमा उदाएका ओली र नितान्त कुर्सी स्वार्थमा मुलुक र जनताको भाग्यसँग जुवा खेलेका दुई व्यक्तिको आन्तरिक सत्ता छिनाझम्टीमा नेकपा , वाम आन्दोलन र वामदेवले कति बदनामी खेप्नु पर्ने हो ? भविष्यलाई छोड्दिनु बुद्धिमानी हुने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments