अटेर गरी बालविवाह गर्ने प्रहरी खोरमा

बिहिबार, बैशाख २०, २०७५



रोल्पा । रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने एकजोडी बिवाहमण्डपबाटै पक्राउ परेका छन् ।

बालविवाहविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रममा जुटेका अभियानकर्ताले नै विवाहस्थलबाटै पक्राउ गरी कानून कार्यान्वयनका लागि प्रहरीलाई सहयोगसमेत गरेका छन् ।

बुधबार रोल्पा नगरपालिका–२ ह्वालीमा बालविवाह गरिरहेको एक जोडीलाई विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरी कानूनी उपचारसमेत थालनी गरेको छ । रोल्पा नगरपालिका– २ का १७ वर्षीय राजकुमार खड्काले सोही नगरपालिका–१ हरिगातिनाकी १७ वर्षीया किशोरीसँग बालविवाह गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय बालविवाह न्यूनीकरण सञ्जालले उमेर नपुग्दै विवाह नगर्न पटकपटक सम्झाउँदासमेत नमानेपछि प्रहरीमा उजुरी गरिएको थियो । बालविवाह हुन थालेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि अदालतसमक्ष पेश गरेका छौँ, प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले भने । मुलुकी ऐन बिहेवारी महलअन्तर्गत उनीहरुलाई कारबाही हुन्छ फुँयालले भने।

बालविवाह गर्ने र गराउने दुवैलाई कानूनी कारबाही गर्ने व्यवस्था भएकाले दुलाहाकी आमा दिलसरी खड्कालाई समेत प्रहरी हिरासतमा राखिएको बताइएको छ ।

विवाह भोजमा संलग्नलाई पनि सोधपुछका लागि बोलाइने प्रहरी नायब उपरीक्षक फुँयालले बताए । जिल्लामा बालविवाह भइरहेका बेला प्रहरी र नागरिकको सम्बन्धबाट बालविवाह रोक्न गरिएको यो पहिलो कानूनी प्रयास हो । यसले जिल्लामा दिनानुदिन घटिरहेका बालविवाहका घटना रोक्नसमेत मद्दत गर्ने बताइएको छ ।

सरकारी गैरसरकारी क्षेत्रबाट बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयास भए पनि यसले निरन्तरता पाइरहनु दुःखद् भएको महिला अधिकारकर्मी तीर्था आचार्यको भनाइ छ । बालविवाह न्यूनीकरणका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी रहेको आचार्यको भनाइ छ ।

65 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank