बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल

मङ्लबार, जेष्ठ ६, २०७७



बाँके । बाँकेको नरैनापुरमा एकै दिन ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्णरूपमा सिल गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्णरूपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको  नरैनापुर गाउँपालिकामा ६ वटा वडा  छन् । यसको उत्तरपूर्वमा राप्तीसोनारी गाउँपालिका जोडिएको छ । सङ्क्रमण न्यूनिकरणका लागि गाउँपालिकामा अत्यावश्वक कामबाहेक पूर्ण रुपमा आवतजावत ठप्प हुने गरी बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । उनका अनुसार नरैनापुरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नरैनापुरमा सोमबार फेला परेका ५९ जनासहित गाउँपालिकामा मात्रै सङ्क्रमितको सङख्या ६८ पुगेको छ । यसअघि नै नरैनापुरमा १ जनाको ज्यान जाने गरी नौ जनामा सङ्क्रमण देखिएको थियो । नरैनापुरमा शुरूमा फेला परेका ८ जनासँगको सम्पर्कमा आएका २ सय ६३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा सोमबार रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सोमवार सङ्कलित ९३ सहित अझै ११० जनाको स्वाब परीक्षणका क्रममा छ । यससँगै बाँकेमा कोरोना सङ्क्रमितको संख्या सोमबारसम्म ९३ पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments