बझाङमा ठेकेदारलाई सम्मान : ४४ लाख पुरस्कार

आइतवार, कार्तिक २५, २०७५



काठमाडौं । तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशनमा सूची तयार पारिएको छ । तर, बझाङमा भने यो सूचीसँगै ठेकेदारलाई सम्मान पनि गरिएको छ ।

बझाङका निर्माण व्यवसायी दल विष्ट तोकिएको समयअगावै काम पूरा गर्दा सम्मानित भएका हुन् । उनलाई स्थानीयवासीसँगै सरकारी कार्यालयले पनि सम्मान गरेका हुन् । निर्माण–व्यवसायी विष्टले बिकोई बिल्डर्स प्रालिमार्फत बझाङमा निर्माणको काम गरेका थिए । उनले बाउली गाड र सेतीनदीमा तटबन्ध निर्माणको काम तोकिएको समयभन्दा अगाडि नै पूरा गरेका हुन् । त्यस्तै, जिल्ला मालपोत कार्यालय र जिल्ला हुलाक कार्यालयको भवन पनि ठेक्काको म्यादअघि नै सम्पन्न गरेका छन् ।

३ वर्षयता बझाङमा निर्माणको काम राम्रोसँग र छिटो पूरा गरेकाले उनलाई सम्मानित गरिएको जनाइएको छ । ‘धेरै निर्माण–व्यवसायीले ठेक्का ओगट्ने र काम नगर्ने गरेका थिए, मैले समयभन्दा अगाडि नै काम सम्पन्न गरेँ,’ निर्माण–व्यवसायी विष्टले भने, ‘यो सम्मानले अरू योजनाको कामलाई पनि तीव्रता दिन हौसला मिलेको छ ।’

अहिले ठेक्का पाएका योजनाहरू पनि तोकिएको समयभन्दा अगाडि नै सम्पन्न हुने गरी काम भइरहेको उनको भनाइ छ । ‘सबै योजनाको ७० प्रतिशत काम सकिएको छ, बाँकी काम ५ महिनाभित्र सक्ने योजना छ,’ उनले भने ।

उनले चैनपुर रिङरोड, जिल्ला अदालतदेखि चौराहसम्मको सडक र जिपपार्कदेखि जिल्ला प्रहरी कार्यालयसम्मको सडकको कालोपत्रेको काम गरिरहेका छन् । यस्तै, बझाङकै मटेला स्वास्थ्य चौकी ठेक्का पनि बिकोइ बिल्डर्समार्फत उनले नै गरिरहेका छन् । यी सबै गरी ३ करोड ७६ लाखका योजना छन् ।

दुई सरकारी कार्यालय निर्माण गर्दा ४४ लाख पुरस्कार
निर्माण–व्यवसायी विष्टले सम्मानसँगै नगद पुरस्कार पनि पाएका छन् । दुइटा सरकारी कार्यालय भवन निर्माण गर्दा ४४ लाख पुरस्कार पाएका हुन् ।

तोकिएको समयभन्दा दुई सय दिन (झन्डै ६ महिना)अघि काम पूरा गर्ने निर्माण–व्यवसायीले पुरस्कारस्वरूप थप १० प्रतिशत रकम पाउने व्यवस्था छ । उनले जिल्ला मालपोत कार्यालय र जिल्ला हुलाक कार्यालयको भवन तोकिएको समयभन्दा दुई सय दिनअघि नै सम्पन्न गरेका हुन् ।

मालपोत कार्यालयको भवन हस्तान्तरण गर्दा १० प्रतिशत बराबर ३२ लाख र हुला कार्यालयको भवन हस्तान्तरण गर्दा १२ लाख पाएका हुन् । ‘छिटोछरितो गुणस्तरीय काम गरेको छु, अरू योजना पनि समयमै पूरा गर्नेछु,’ विष्टले भने । नयाँपत्रिकाबाट

80 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank