बजेटमा नयाँपन देखिन आवश्यक’

आइतवार, बैशाख ३०, २०७५



काठमाडौँ ।

राष्ट्रियसभामा आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक माथिको छलफलमा जारी छ ।
आईतबारको बैठकमा उक्त प्रस्तावमाथिको छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै सांसद खिमलाल भट्टराईले सार्वजनिक क्षेत्रलाई व्यवस्थित रुपले अघि बढाउने र स्वाधीन अर्थतन्त्रको विकासमा ध्यान दिएर बजेट बनाइनुपर्ने बताए ।

सांसद बद्रीप्रसाद पाण्डेले ‘श्वेतपत्र मुलुकको अर्थतन्त्रलाई आतंकित तुल्याउने ढंगबाट ल्याइएकाले’ बजेटका बेला त्यसलाई सुधार्न आवश्यक रहेको बताउँदै कृषिलाई व्यवसायीकरण गर्ने पक्षमा बजेट आउनुपर्ने बताए ।

सांसद कालीबहादुर मल्लले राज्यले अवलम्बन गरेको तीनखम्बे अर्थनीतिअनुसार सहकारी क्षेत्रलाई समेट्ने ढंगले बजेट ल्याउन सुझाव दिए। सांसद रामनारायण बिंडारीले मुलुकमा नयाँ शासन नयाँ भएसँगै बजेटमा पनि नयाँपन देखिन आवश्यक रहेको धारणा व्यक्त गरे।

सांसद हरिराम चौधरीले व्यावहारिक रुपमा कार्यान्वयन हुन सक्ने र नेपाली ढाँचाको बजेट ल्याउन सरकारलाई सुझाव दिए । सांसद कोमल ओलीले ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माण गर्ने आधार तयार पार्दै कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रमा बजेट यथेष्ट उपलब्ध गराउनुपर्नेमा जोड दिईन ।

सांसद चक्रप्रसाद स्नेहीले मुलुकलाई आत्मनिर्भर गर्न खानी उत्खननका लागि नीति र बजेटको व्यवस्था गर्न सुझाव दिए । र्आइतबारको बैठकमा सदस्य बृशेषचन्द्र लाल, अगम वान्तवा, रमेशजंग रायमाझी, राजकुमार कुँवर, अनिता देवकोटा, हरिराम चौधरी, तारादेवी भट्टलगायतले जनताको भावना समेटेर बजेट ल्याउन र सांसद विकास कोषमा बजेट छुट्याउँदा राष्ट्रियसभाका सदस्यका लागि पनि विनियोजन गर्न आग्रह गरे । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३१ गते बिहान ११ बजे बस्नेछ ।

65 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank