मलेसियामा मृत्यु भएका खड्काको परिवारले क्षतिपूर्ति पाएनन

बुधबार, चैत्र २१, २०७४



काठमाडौँ । “बाबा मलाई विदेशबाट आउँदा राम्रो राम्रो खेलौना अनि मिठो मिठो चकलेट ल्याइदिनुस् है ।” यो भनाइ सल्यानको दार्मा गाउँपालिका– ५ का ३६ वर्षीय शेरबहादुर खड्काका– ७ वर्षीय कान्छा छोरा आशिषको थियो । आशिषको मनमा अनेक सपना थिए । बाबा विदेशबाट आउँदा के के किन्न लगाउँछु र कहाँ कहाँ घुम्न जान्छु भन्ने ।

उनकी छोरी १८ वर्षीय अस्मिता भन्दै थिइन्, “बाबा म कक्षा ११ गाउँमा सकिएपछि काठमाडौँ गएर पढ्छु है ।” शेरबहादुरले पनि छोरीको कुरामा सहमति जनाएका थिए ।

यही फागुन १४ गते रातको १० बजेसम्म उनले परिवारका सदस्यसँग कुराकानी गरेर सुतेका थिए । सुतेको एक घण्टापछि अर्थात राती साँढे १२ बजे मलेसियाबाट शेरबहादुरको नम्बरबाट फोन आयो, फोन आएपछि किन गरेको होला, भर्खरै त फोन गरेको, किन फेरि गरेका होलान भनेर झस्किए । शेरबहादुरले पहिले त्यसरी फोन नगर्ने गरेको उनकी श्रीमती गोपी खड्काले बताइन् ।

फोन शेरबहादुरको नभएर उनको साथीको आएको रहेछ । उनको साथीले अचानक भने, “शेरबहादुरलाई अचानक गाह्रो भएर यहीँकै अस्पतालमा लगेका छौँ ।” त्यति भनिसकेपछि चिन्ता नलिनु भन्दै उताबाट फोन काटियो । उक्त फोनपछि परिवारका सबै सदस्य आत्तिए । उनका साथीले चिन्ता नलिनु भनेपछि सबै सुते ।

२ बजेदेखि फेरि फोनको घण्टी बजिरहेको रहेछ । दुई÷तीन पटक फोन आइसकेपछि मात्र छोरी अस्मिताले फोन उठाइन् । फोन उठाउने वित्तिकै उताबाट आवाज आयो, “तपाईंको बुबा यो संसारमा रहनुभएन् ।” त्यसपछि परिवारमा रुवावासी शुरु भयो । गाउँले पनि परिवारलाई सान्त्वना दिन आइपुगे ।

शेरबहादुर विसं २०७१ असारमा मलेसियामा वैदेशिक रोजगारीको लागि गएका थिए । फर्निचरको काम गर्न भनेर गएका उनी त्यहाँ गएर पनि त्यही काम नै गर्न थालेका थिए । तर केही महिनामा तलब बढाइदिने भने पनि उही तलबमा तीन वर्षसम्म काम गरिरहे ।

परिवारको ऋण तिर्न नसकेपछि उनले पुनः एकवर्ष थप गरी काम गर्ने निधो बनाएका थिए । ०७४ असारमा नै म्याद सकिए पनि ०७५ असारसम्मका लागि समय थप गरी कामलाई निरन्तरता दिएका थिए । तर उनको अचानक मृत्युपछि चारजना छोराछोरीलाई पढाउने र ऋण तिर्ने जिम्मेवारी उनकी श्रीमती गोपीको काँधमा आइपरेको छ ।

बीमालगायत क्षतिपूर्ति पाउन गोपी भाइ बलबहादुर केसीको साथ काठमाडौँ आइपुगिन । तर काठमाडौँ आएपछि उनले थाहा पाइन् कि उनले ती सबै रकम नपाउने रहिछन् । तर म्यानपावरबाट भने उनले एक लाख ३० हजार क्षतिपूर्तिबापतको रकम पाईन् । उनी भन्छिन्, “श्रीमान् विदेश जाँदाको ऋण अझै तिर्न बाँकी छ, छोराछोरीलाई पनि कसरी पढाउनु ?”

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलगायत बीमा कम्पनी सबैतिर उनका भाइ र उनी भौतारिँदा पनि कतैबाट क्षतिपूर्ति नपाउने बताएकाले आफू निराश भएर फर्किएको उनी बताउछिन्। उनका कान्छा छोरा अहिले सात वर्षका भए, त्यस्तै माइला छोरा १२, जेठो १६ र छोरी १८ वर्षकी भइन् । छोराछोरीलाई अब आफूले पढाउनसक्ने अवस्था नरहेको र सरकारले पढाइदिन्छ भन्ने सुनेर काठमाडौं सम्म धाएको उनले बताइन् ।

मलेसिया लगायत बाह्य देशमा एक वर्ष समय थप गरेर बस्न पाउने भए पनि नेपालमा भने ६ महिनासम्म मात्र मान्यता दिने गरेको छ । “नेपालमा यसरी म्याद नाघिसकेपछि पनि विदेशमा बस्नेको संख्या धेरै भएको र म्याद नाघेपछि मृत्यु हुनेको संख्या धेरै भएपछि नै तिनीहरुलाई क्षतिपूर्ति दिने क्षमता सरकारमा नभएपछि ऐनमा परिवर्तन गरेका हौँ ।”

नेपाल पर्यटन प्रवद्र्धन बोर्डका प्रमुख रघुराज काफ्लेले भने, “०७४ साउन १६ गतेबाट म्याद सकिएपछि मृत्यु हुने र दुर्घटनामा पर्नेलाई क्षतिपूर्ति बापतको रकम नदिने निर्णय सरकारले गरेको हो।”

यो वर्षभित्र म्याद भएकाको हकमा र यही वर्ष अनुमति लिएकाको हकमा स्वतः एक वर्ष थप हुने उनले जानकारी दिए।

150 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank