आज अष्ट्रेलियन अखबारहरूको पहिलो पाना कालो रङले रङ्गिए !

सोमवार, कार्तिक ४, २०७६



एजेन्सी । अष्ट्रेलियामा सोमबार बिहान देशका अखबारहरुका पहिलो पृष्ठ कालो रङको छापिएको दुर्लभ घटना यतिखेर विश्वको ध्यान खिच्न सफल भएको छ । अखबारहरुले देशमा मिडियामाथि लगाम लगाउने प्रयासको विरोध गर्न उक्त कदम उठाएका बीबीसीले उल्लेख गरेको छ ।

Copies of The Daily Telegraph and The Sydney Morning Herald newspapers feature blacked-out text

अखबारहरुको यो अभियान (राइट टू नो कोएलिशन) लाई टीभी, रेडियो र अनलाइन समूहहरुले पनि समर्थन गरिरहेका छन् । अष्ट्रेलियामा विगत दुई दशकयता मिडियामाथि लगाइएको कडा कानुनका कारण खोजी पत्रकारिता खतरामा परेको अभियान सञ्चालकहरुको भनाइ छ ।

अष्ट्रेलिया सरकारको कडा कानुनले आमपाठक समक्ष जानकारी पुर्याउनमा रोक लगाएको मिडियाको भनाइ छ । अखबारहरुले पहिलो पाना कालो बनाउने तरिका यसै वर्ष जुन महिनामा अष्ट्रेलियाको एक ठूलो मिडिया समूह अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) को मुख्यालय र एक पत्रकारको घरमा छापा मारिएको घटनाको विरोधमा जारी विरोधका रुपमा उठाएका हुन् । व्हिसलब्लोअर्सबाट चुहिएको जानकारीका आधारमा प्रकाशित केही लेखहरुपछि छापा हानिएको थियो ।

गत वर्ष ल्याइएको नयाँ कानुनपछि अष्ट्रेलियाका मिडिया संगठन पत्रकारहरु र व्हिसलब्लोअर्सलाई संवेदनशील मामिलाको रिपोर्टिङमा छुट दिनुपर्ने भन्दै अभियान चलाइरहेका छन् । सोमबार अखबारहरुले एकजुट हुँदै आफ्नो मुख्य पृष्ठमा लेखिएका सबै शब्दहरुमा कालो पोतेका छन् । जसमा एक लालमोहर लगाएर लेखिएको छ–‘सिक्रेट’ ।

राष्ट्रिय सुरक्षा कानुनका कारण रिपोर्टिङमा अंकुश लगाउन गइरहेको र देशमा ‘गोपनीयताको संस्कृति’ बनेको अखबारहरुको भनाइ छ । तर, अष्ट्रेलिया सरकार प्रेस स्वतन्त्रताको समर्थन गर्दै ‘कानुनभन्दा माथि कोही छैन’ भन्दै आएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले भने -“अष्ट्रेलियाको प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता महत्वपूर्ण छ तर ‘कानूनको शासन’लाई समर्थन गर्न आवश्यक छ।” “यसमा म, वा कुनै पनि पत्रकार, वा अरू कोही जो भएपनि  ‘कानूनको शासन’लाई समर्थन गर्नैपर्छ “, उनले आइतवार भने।

न्यूज कर्प अष्ट्रेलियाका कार्यकारी अध्यक्ष माइकल मिलरले आफ्नो ट्वीटमार्फत  कालो पोतिएको मास्टहेड्सको छवि बाहिर निकालेका छन्, जसमा द अस्ट्रेलियन र द डेली टेलिग्राफ नामक पत्रिकाको समेत फोटो देख्न सकिन्छ। उनले उक्त फोटो राख्दै जनतालाई सरकारमाथि प्रश्न गर्न आग्रह गरेका छन्- “उनीहरू(सरकार)  मबाट के लुकाउन खोज्दैछ?”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata