रोहिंग्या मुस्लिम आमहत्याको आरोप लागेकी म्यानमारकी नेतृ सुकीले हेगमा के भनिन् ?

बिहिबार, मंसिर २६, २०७६



एजेन्सी । म्यानमारकी नेतृ आङ सान सुकीले रोहिंग्या मुस्लिम माथि आमहत्या मच्चाएको आरोपमा हेगस्थित अदालतमा बयान दिएकी छन् ।

म्यानमारमाथि रोहिंग्या मुसलमानलाई गम्भीर दमन गरेको तथा उनीहरुको निमर्म तवरले आम हत्या गरेको अभियोगमा अन्तर्राष्ट्रिय अदालत हेगमा सुनुवाई भइरहेको छ ।

म्यानमारमाथि लागेको रोहिंग्या मुसलमानको आमहत्या सम्बन्धी अभियोगमा सुकीले देशको बचाउ गर्दै संयुक्त राष्ट्रसंघको इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे) हेगमा बयान  दिएकी हुन् । नोबेल शान्ति पुरस्कार विजेता सुकीको पार्टी सत्तामा आएपछि अल्पसंख्यक रोहिग्या मुस्लिम समुदायमाथि अत्याचार गरेको आरोप लागेको छ ।

म्यानमारमा रोहिंग्यामाथि दमन भएपश्चात ७ लाख भन्दा बढी रोहिंग्या मुस्लिम बंगलादेशमा आएर बसिरहेका छन् । बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको म्यानमारमा सन् २०१७ मा बौद्ध तथा सुरक्षा अधिकारीले रोहिंग्यामाथि चरम दमन गरेका घटना बाहिर आएका थिए । त्यसक्रममा विस्थापित भएका रोहिंग्याहरु, बंगलादेश, भारत हुँदै नेपालसम्म आएका छन् ।

सो हिंसामा रखाइन राज्यमा रहेका रोहिंग्याहरुको सामूहिक हत्या, बलात्कार भएको थियो भने उनीहरूका घरमा समेत आगो लगाएका घटना बाहिर आएका थिए । तर म्यानमार सरकारले भने आफूले कुनै पनि किसिमको अत्याचार नगरेको दाबी गर्दै आएको छ ।

हेगमा भएको प्रारम्भिक सुनुवाईका क्रममा बयानका लागि उपस्थित भएकी नेतृ सुकीले आफ्नो सुरुवाति सम्बोधनमा म्यानमारमाथि लगाइएको अभियोग ‘अपूरो र गलत’ रहेको दाबी गरेकी छन् । रोहिंग्या मुसलमानको बसोबास रहेको रखाइन राज्यमा शदियौंदेखि नै तनावपूर्ण अवस्था रहेको उनको भनाई थियो ।

म्यानमारले आमहत्या गरेको भन्दै अफ्रिकी देश गाम्बियाले अन्तर्राष्ट्रिय अदालत हेगमा रोहिंग्याको मुद्दा लगेको हो । हेगमा आफ्नो बयानको क्रममा नेतृ सुकीले तनावको क्रममा म्यानमारका सैनिकले केही अपराध गरेको हुन सक्ने भने बताएकी छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments