सम्भव भएसम्म होम क्वारेन्टाइनमा बसौं !

नेपालपाटी टिप्पणी

शनिबार, चैत्र ८, २०७६



विश्वव्यापीरुपमा महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस(कोभिड-१९)को   नेपालमा हालसम्म कोरोनाको संक्रमण नभए तापनि सरकारले उच्च सतर्कता अपनाएको छ । विभिन्न चरणमा छुट्टाछुट्टै किसिमका सतर्कता देखाएको सरकारले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनपछि सबै नागरिकलाई सम्भव भएसम्म होम क्वारेन्टाइनमा बस्न आह्‍वान समेत गरिसकेको छ ।

प्रधानमन्त्रीको सम्बोधनको क्रममा होम क्वारेन्टाइन शब्दको प्रयोग नभएता पनि अवलम्बन गर्न लगाइएका उपाय भने होम क्वारेन्टाइनमै राख्न खोजेको देखिन्छ ।  सरकारले अत्यावश्‍यक अवस्थाबाहेक सबै नागरिकलाई बाहिर ननिस्कन आह्‍वान गरेको छ । यसको अर्थ घरमै सुरक्षित ढंगले बस्नु भनेको हो ।  यस अवस्थामा सरकारलाई साथ् दिनु नै स्वास्थ्य सुरक्षाबाट जोगिने कदम हुनसक्छ ।

लामो दूरीका सवारी साधनलाई रोक लगाउने निर्णय लिइएको छ । यसको अर्थ अहिले बसेको स्थानबाट टाढा नजाऊ, हिड्डुलमा ध्यान देऊ भन्न खोजेको हो ।  यसैगरी, सबै अन्तर्राष्ट्रिय उडानहरू कम्तिमा ९ दिनका लागि बन्द गरिएको छ । सरकारले अत्यावश्‍यकबाहेकका सेवा बन्द गर्ने निर्णय लिएको छ ।

सरकारले राजपत्रमा अंकित अत्यावश्‍यक सेवाबाहेकका अन्य सेवा केही दिनका लागि उपलब्ध नगराउने भनेपछि सर्वसाधारणमा अन्योल देखिएको छ । सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न आग्रह गरे पनि केही सेवा भने आपतकालीन अवस्थामा पनि सञ्चालन गर्नैपर्ने कानुनी व्यवस्था छ ।

विश्‍वव्यापी रूपमा फैलिएको संक्रमणबाट बच्न हामी सबैले आवश्‍यक उपाय अवलम्बन गर्न जरुरी छ । तर, हामीलाई अत्यावश्‍यक पर्ने बैंकिङ सेवा बन्द हुने छैन । खाद्य वस्तुको अभाव पनि नहुने विषयमा सरकारले पटक पटक विश्‍वस्त तुल्याएको छ । तसर्थ बढी मौज्दात राख्न जरुरी छैन् ।

सरकारले राजपत्रमै सूचना निकालेर यस्ता सेवाको सूची बनाएको छ । प्रधानमन्त्रीले देशवासीको नाममा सम्बाेधन गर्दै ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्न अपिल गरेका छन् ।

के-के हुन् त अत्यावश्‍यक सेवाहरू ?

  • दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
  • पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा
  • सञ्चार सेवा
  • आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
  • खानेपानीको सञ्चालन तथा वितरण सेवा
  • पर्यटन, आवास, माेटेल, होटेल रेष्टुरा र रिसोर्टसम्बन्धी सेवा
  • अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवाजस्ता सेवाहरु)
  • औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
  • फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार -निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा
  • बैंकिङ सेवा
  • बीमा सेवा
  • बिद्युत सेवा
  • डाँक तार वा टेलिफोन सेवा
  • स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा
  • हवाई अड्डा ,हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
  • हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
  • प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा
  • हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments