यसरी चोरी हुन्छ एटीएमबाट पैसा !

बिहिबार, भदौ २९, २०७४

loading...


पछिल्लो पटक अर्काको एटीएमबाट रकम निकाल्ने २ विदेशी नागरिक ठमेलबाट पक्राउ परे । केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)बाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । एटीएम ह्याकरहरुविरुद्ध अभियानको क्रममा बुल्गेरियन र टर्किस नागरिकलाई पक्राउ परेका हुन ।

atn-अनधिकृत रुपमा रकम निकाल्ने गिरोह विरुद्धको कारबाहीमा हालसम्म १५ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेकाहरुको साथबाट ८८ लाख बढी नेपाली रुपैयाँ बरामद पनि भएको छ । प्रहरीले पछिल्लो पटक दिएको जानकारी अनुसार राहदानी नम्बर ३८४०३८०७८ का २३ वर्षीय बुल्गेरियन नागरिक र राहदानी नम्बर यू १०३२८५९१ का टर्कीस नागरिक पक्राउ परेका हुन । पक्राउ पर्नेमा युरोपबाट विभिन्न एटीएम कार्ड लिएर आएका टर्किस नागरिक एक्रम ओरम्यान्सी र बुल्गेरियन नागरिक मिट्को स्टोन्योनोभ मिटेभ छन ।
बुल्गेरियन नागरिकलाई चाक्सीबारी ठमेलस्थित होटल बुद्धबाट र टर्कीस नागरिकलाई ठमेलको क्षेत्रपाटीस्थित रोयल पेन्गुइन होटलमा थिए । बुल्गेरियन नागरिकको साथबाट एक सय २८ थान एटिएम, चार लाख ४० हजार नेपाली रुपैयाँ, २० अमेरिकी डलर, मोबाइल, ल्यापटपलगायतका सामाग्रीसमेत बरामद भएको छ ।

हालसम्म व्यूरोले रोमानिया, टर्की र माल्दिभ्सका चारचार जना तथा बुल्गेरियाका तीन जना गरी कुल १५ जना विदेशी नागरिकहरुलाई एटिएम ह्याकिङ आरोपमा पक्राउ गरिसकेको छ । अर्काको एटीएम कार्डको गोप्य नम्बर पत्ता लगाइ रकम झिक्ने गिरोहविरुद्धको कारबाहीबाट हालसम्म ८८ लाख ६८ हजार ८५० नेपाली रुपैयाँ, ७५ हजार २४५ अमेरिकी डलर, ७३ हजार ८७५ युरो र एक हजार ४३९ थान एटीएम कार्ड बरामद भइसकेको छ ।

एटीएम ह्याकरको ट्रान्जिट
नेपाल एटिएम ह्याकरको ट्रान्जिट बन्ने गरेको छ । एक वर्ष अघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले एटीएम कार्डको डाटासमेत ट्रान्सफर गर्न मिल्ने ‘मिनी म्याग्नेटिभ स्ट्रिप रिडर राइटर मेसिन’सहित विदेशी नागरिक मेहमत गुलेनलाई सप्रमाण पक्राउ गर्यो । टर्की स्थायी घर भएका गुलेनले एपेक्स डेभलपमेन्टलगायत विभिन्न बैंकबाट शंकास्पद बैंकिङ ट्रान्जेक्सन गरेका थिए ।

उनी पक्राउ परेपछि ब्युरोले नेपाल एटीएम ह्याकरको ट्रान्जिट बनेको जनाएको छ । त्यसको एक वर्ष नपुग्दै सिआइवीले नै केही दिन अघि एक बुल्गेरियन नागरिकलाई एटिएम ह्याक गरेर पैसा निकालेको अभियोगमा पक्राउ गर्यो । ती नागरिकले डेढ लाख व्यक्तिको एटिएम ह्याक गरेको खुलेको छ । ठमेलबाट पक्राउ गरेका डिमो अटानासोभ स्टेफानोभले विभिन्न देशका नागरिकको डेढ लाख एटिएम ह्याक गरेको सिआइबीले पत्ता लगाएको हो । नेपाल इन्भेष्टमेण्ट बैंकका ग्राहकको एटिएम ह्याक गरेपछि सिआइबीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनी अन्तर्रािष्ट्रय एटिएम ह्याकर भएको खुलेको छ ।

भिजिट भिषामा नेपाल

टर्कीका गुलेनलाई ठमेलस्थित कर्मचारी सञ्चय कोषअगाडि एपेक्स बैंक र स्टयाण्डर्ड चार्टर्ड बैंकको एटीएम बुथबाट पैसा झिक्दै गरेका बेला प्रहरीले पक्राउ गरेको थियो । उनले एटीएम ह्याक गरी विभिन्न व्यक्तिको खाताबाट पैसा झिकेका थिए । सीआईबीका अनुसार गुलेनले विदेशी नागरिककै एटीएमको डाटा र पिनकोड चोरी गरी मिनी म्याग्नेटिभ स्ट्रिप रिडर राइटर मेसिनमार्फत स्वीप कार्यमा एटीएमको डाटा ट्रान्सफर गरेर भिसा कार्ड, मास्टर कार्ड र डेबिट कार्ड बनाउने गरेका थिए । गुलेनले हिमालयन बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकलगायतका एटीएम मेसिनबाट पैसा निकालेको थिए । त्यसै गरी भिजिट भिसामा नेपाल आएका ह्याकर समूहका अर्का सदस्य रोमानियाका नागरिक अबलियन प्रेडा पनि पक्राउ परे । उनी पनि विदेशी नागरिकको पिन चोरी गरी नेपाल आएर एटीएमबाट पैसा झिकी पुनः फर्कने गर्दै आएका थिए । उनी सन् २०१५ यता तीन पटक नेपाल आएर रकम निकालेर गएको प्रहरी अनुसन्धानले देखाएको छ । पटक–पटक नेपाल आएर एटीएमबाट रकम निकालेर भाग्न सफल प्रेडालाई प्रहरीले गत साउन १६ मा काठमाठौंको लाजिम्पाटबाट १ सय ४० वटा एटीएम कार्डसहित पक्राउ गरेको थियो । सीआईबीका अनुसार उनी पनि अन्तर्रािष्ट्रय एटीएम ह्याकर समूहका प्रमुख व्यक्ति हुन् ।

उनले बेलायत, फ्रान्स, जर्मनी, पेरु, रसिया, इटाली दक्षिण कोरिया, कोस्टारिका, जापान, इन्डोनेसियालगायत मुलुकका नागरिकको एटीएम ह्याक गरी रकम चोरी गर्दै आएको सीआईबीले जनाएको छ ।

बुल्गेरियन नागरिकको ल्यापटपमा डेढ लाख व्यक्तिको एटिएम कार्डको डाटा तथा पासवर्ड भेटिएको छ । गोप्य क्यामेरा एटिएम बुथमा जडान गरी उनले पासवर्ड चोरी नक्कली एटिएम बनाएर ठगी गर्दै आएका थिए । ११ कात्तिक बेलुका ठमेलको होटेल जगतबाट निस्किँदै गर्दा उनी पक्राउ परेका हुन् । ‘एटिएम ह्याकका घटना नेपालमा लामो समयदेखि हुँदै आएको थियो तर, यस्तो प्रविधिको ठगी पहिलोपटक पत्ता लागेको हो’ सिआईबीका प्रमुख डिआइजी पुस्कर कार्कीले बताए । प्रहरीका अनुसार बुल्गेरियन नागरिक डिमोले एटिएम बुथभित्र सानो आकारको गोप्य क्यामेरा जडान गर्थे । सोही क्यामेराबाट ग्राहकले पैसा निकाल्न डायल गर्ने पिन नम्बर पत्ता लगाउँथे । एटिएम कार्डको डाटा चोर्न उनले एटिएम कार्ड राख्ने स्किमरमा अर्काे एउटा डिभाइस राखेका थिए । कार्डको डाटा र पिन नम्बर पत्ता लगाएपछि उनले ल्यापटपबाट खाली कार्डमा डाटा राख्थे र पिन नम्बर प्रयोग गरी पैसा निकाल्थे ।

नक्कली एटिएम कार्ड बनाउने म्याग्नेटिभ स्ट्राइभ रिडर तथा राइटर उनीसँग थियो । त्यसकारण सजिलै उनले नेपालको एटिएम बुथ प्रयोग गरी नक्कली एटिएमबाट पैसा चोर्दै आएका थिए । प्रहरीले उनको साथबाट १७ हजार दुई सय ५० अमेरिकन डलर, ६ सय युरो, हिडेन क्यामेरा, स्किमर, ल्यापटपलगायत सामान बरामद गरेको छ । १७ हजार डलर बरामद भएकाले उनले एक दर्जनभन्दा धेरै व्यक्तिको नक्कली एटिएम कार्ड बनाएर पैसा निकालेको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीले उनको साथबाट २५ वटा नक्कली एटिएम कार्ड बरामद गरेको छ । उनले पैसा निकालेर डलर साटिसकेका थिए । नेपालबाट भाग्न लाग्दा उनी पक्राउ परेका थिए । एटिएमबाट पैसा चोरीकै लागि उनी बुल्गेरियाबाट नेपाल आएका थिए ।

०७१ चैत १० पक्राउ परेका रिपब्लिक अफ बुल्गेरियाका पेट्रोस्लाभ रिस्टोभ पनि एटीएम ह्याकर समूहका अन्तर्रा्ष्ट्रिय सदस्य हुन् । उनको पनि काम अरुको जस्तै ह्याक भएका एटीएम बोकेर नेपाल आएर रकम झिकेर फर्किने हो ।

प्रहरीका अनुसार यसरी एटीएम ठगी गर्ने धेरै विदेशी हुन्छन् । भिजिट भिसामा नेपाल आउने र केही दिन बस्ने अनि काठमाडौंमा भएका विभिन्न बैंकका एटीएम बुथबाट रकम निकालेर फर्किने उनीहरुको काम हो ।

यसरी ह्याकिङ हुन्छ !

ह्याकर समूहका सदस्यहरुले विदेशबाट योजना बनाएर नेपाल आउने गरेका छन् । उतैको एटीम बुथमा वेबक्याम राखेको हुन्छ । कतिपय एटीएमभित्रै पिनकोड रिड गर्न सक्ने क्षमताको अर्को डिभाइस राखेर एटीएमबारे जानकारी लिने गर्छन् । प्रहरी अनुसन्धानमा खुलेको तथ्य अनुसार त्यसरी पिन कोडको जानकारी संकलन भएपछि उनीहरू खातावाल व्यक्तिको विवरण भरेर भिसा कार्ड तथा अन्य बिजनेस कार्ड तयार पार्छन् । यसरी तयार पारेको कार्ड प्रयोग गरेर तस्करहरुले बैंकिङ सुरक्षा कम भएका र सहजै आवजावत गर्न मिल्ने देशमा गएर पैसा झिक्छन् ।

नेपाल पनि ह्याक भएको कार्डबाट पैसा झिक्न मिल्ने सहज देश हो भएकाले उनीहरुको मूख्य ट्रार्गेट नेपाल बन्दै आएको छ । सिआइवीका प्रमुख डीआईजी कार्कीका अनुसार पर्यटक भिसामा नेपाल आउने कतिपय विदेशीको धन्दा एटीएमबाट पैसा निकालेर फर्किने मात्रै हुने गरेको छ । उनका अनुसार एटीएमको पिन कोड ह्याक गर्ने एक गिरोह विदेशमै हुन्छ । नेपालको बैकिङ प्रणालीमा राम्रो सुरक्षा नभएकाले ह्याकरको रोजाइमा नेपाल परेको प्रहरीको दावी छ ।

890 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank