‘काम गरेर खानुजस्तो आनन्द मागेर खानुमा कदापी हुँदैन’

दुवै हात र एक खुट्टा नभएका आनन्दको पौरख

बिहिबार, बैशाख ६, २०७५

- बविता ढकाल



पर्यटकको बाक्लो उपस्थिति रहने काठमाडौँको बसन्तपुर । जहाँ साँझको समयमा घुंईचो नै लाग्छ । भूकम्पपछि पनि त्यहाँको मनमोहक अवस्था उस्तैछ । आन्तरिक र बाह्य पर्यटकहरू बसन्तपुरको दृश्य आँखामा र क्यामेरामा कैद गर्न व्यस्त देखिन्छन् । यस्तो ठाउँको एक कुनामा आनन्द पासवान बस्छन् । उनका दुवै हात छैनन्, एउटा खुट्टा पनि छैन । तर पनि उनी आनन्दित भएर चित्र बनाइरहेका भेटिन्छन् ।

ananda 3

त्यसरी आफ्नो काममा डटिरहेका उनलाइै धेरै पटक देखेपछि उनीबारे जिज्ञाशा जाग्यो । उनी भारतको समस्तिपुरमा जन्मिएका रहेछन् । उनी डेढ वर्षको हुँदा उनको परिवार रोजीरोटीको लागि नेपाल आएको रहेछ । आनन्द सानै छँदा उनको बुबाको निधन भएको रहेछ । उनका दाई र दिदीहरू बिबाह गरेर आफ्नै घरमा रमाउन थाले । आनन्द र उनकी आमा बेसाहारा भए । मागेर खान आनन्दलाई लाज लाग्यो । बोली सुन्दा भारतीय नलाग्ने आनन्द भन्छन् ‘बाटोमा मागेर खाने हो भने पनि म अपाङ्ग नै थिए, कसले के भन्थ्यो होला र । म भन्दा बलिया बाङ्गा त मागेर खाइरहेका छन् । मलाई मागेर खान कुनै लाज नहुनु पर्ने । तर खोइ यो मनले भन्यो के मागेर खानु ।’ उनले थपे ‘काम गरेर खान जुन आनन्द छ, त्यो आनन्द मागेर खानुमा कदापी हुँदैन ।’

ananda 4

उनले काम गरेको देखेर जो कोहीलाई पनि काम गर्ने प्रेरणा जाग्छ । उनले कतैपनि चित्र बनाउने तालिम लिएका छैनन् । उनले भने, ‘म यही रोडमा बस्दा बस्दै भूइँमा सिन्काले कोर्थे र चित्र बनाउथें । पछि कागज, कलम र रङ किनेर चित्र बनाउन थालें ।’ उनले देखाउँदै भने ‘यी हेर्नुस् दिदी दाहिने हातको कुहिनासम्म छैन, देब्रे हातको हत्केला औंला केही छैन अनि एउटा खुट्टा पनि छैन ।’ तर तिनै हत्केला र औंला नभएको हात र कुहिनोको सहाराले उनी गज्जबका चित्र बनाउँछन् ।

ananda 1

अहिले त उनले आफुले बनाएका चित्रको मुल्य पनि निर्धारण गरेका छन् । उनको एउटा चित्रको २ सय ४० रुपैंयादेखि सुरु हुन्छ । उनको बोल्ने शैली र उनको अंग्रेजी सुन्दा लाग्छ कम्तिमा पनि एसएलसी त पास गरेकै हुनुपर्छ । तर उनको कुरा सुन्दा अचम्म लाग्यो उनले त २ महिना ट्युशन पढेका रे । स्कुल जाने सपना त सपनामै सिमित भए । तर पनि उनको बोलि सुन्दा लाग्दैन कि उनले विद्यालय टेकेकै छैनन् । उनले भने, मैले यहाँ घुम्न आउने विदेशी पर्यटकहरुले बोलेको र उनीहरुसंग बोल्ने कोसिश मै अंग्रेजी सिकें ।’

बसन्तपुरको पश्मिपट्टीको एउटा कुनामा बसेर चित्र बनाउने आनन्दलाई त्यहाँ बसेर चित्र बनाउन दिँदैन रे नगरपालिकाका कर्मचारीहरु । उनलाई त्यहाँबाट जान धेरै पटक भनिसके रे तर उनी भन्छन्, ‘म चुपचाप बसेर चित्र बनाउँछु । न हल्ला गर्छु न त बार्गेनिङ नै, यहाँ कति त्यस्ता मान्छेहरु छन् जो विदेशी पर्यटकहरुलाई ठगेर खाइरहेका छन् । मैले सधै नगरपालिकाका कर्मचारीहरुलाई अनुरोध गर्नुपर्छ यो ठाउँमा बस्नको लागि ।’

राम्रा चित्र बनाउने आनन्द भन्छन्, ‘मैले राम्रो ठाउँ पाए भने यो भन्दा राम्रा चित्र बनाउन सक्छु । तर अहिलेसम्म त्यस्तो अवसर पाएको छैन ।’

अवसरको खोजीमा रहेका आनन्दले तीन चार वर्ष अघि एउटा प्रदर्शनीमा क्यानभासमा चित्र बनाउने मौका पाएका थिए रे । उनले बनाएको एउटा चित्र ३५ हजार रुपैंयामा विक्रि भएको थियो । तर उनले त्यो चित्र बनाए बापत मात्र दुई हजार रुपैंया पाएका थिए । त्यस पछि उनलाई त्यस्तो कुनै अवसर आएको छैन । आनन्दले महिनामा लगभग २० देखि २५ हजारसम्म आफुले बनाएको चित्रबाट कमाइ गर्दै आएका छन् । उनी भन्छन्, ‘मैले बनाएको चित्रबाट हामी आमा छोरालाई खान लगाउन पुगिराखेको छ ।’

आनन्दको नगरपालिका वा सरकारसंग एउटै गुनासो छ–‘मैले बसन्तपुरको यो क्षेत्रमा बसेर कसैलाई लुटेको छैन जसरी अरुले दुई रुपैंयाको सामानलाई पाँच सय भनेर बेचेर कमाइरहेका छन् । उनीहरुलाई कुनै रोकतोक छैन तर म मेरो कला बेच्छु जसलाई मेरो कला मनपर्छ उहाँहरुले किन्नु हुन्छ, म जवरजस्ती कसैलाई भिडाउँदिन । तर मलाई यो ठाउँबाट हट्न भन्दा दुःख लाग्छ ।’ उनको कलालाई अझै पनि उनले नै बनाएको हो र भनेर विश्वास नगर्ने पनि धेरै भेटेका छन् उनले । उनलाई कतिले यो चित्र छापेर ल्याएको हो पनि भन्ने गरेका छन् । त्यसैले त्यो भ्रम चिर्न पनि उनी सडकमै बसेर चित्र बनाएर बेच्छन् जसले गर्दा अरुले उनको कलाको कदर गरुन् ।

520 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank