चिठ्ठा पर्‍यो भन्दै ठग्ने ३ जना पक्राउ

बुधबार, मंसिर २५, २०७६



काठमाडौं । चिठ्ठा पर्यो भन्दै ठक्ने तीन जना पक्राउ परेका छन । चिठ्ठा परेको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका हुन ।

भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने गरेको आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार पक्राउ परेका हुन् ।

अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।  उनीहरुको नेपालको बैंक ह्याकिङमा समेत संलग्नता देखिएको प्रहरीले जनाएकाे छ । ‘यिनीहरुको कनेक्स ह्याकरहरुसँग देखिएको छ,’ अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने, ‘अरु बैंकहरु पनि ह्याक भएको हुनसक्ने देखिएको छ । यसमा हामीले अनुसन्धान थालिसकेका छौं ।’

यो समूहको १७ वटा बैंकमा कारोबार भएको देखिएको छ । त्यसका आधारमा ती बैंकहरु पनि ह्याकरको निसानामा परेको हुनसक्ने देखिएको छ । गत असोजमा कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम झिक्नेहरु पक्राउ परेको समूहकै रहेको भेटिएपछि प्रहरीले उनीहरुमाथि अनुसन्धान अगाडि बढाएको हो । उनीहरूले ठगी गरेको उजुरी लिएर १५ जना पीडित प्रहरीको सम्पर्कमा आएको महाशाखाले जनाएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments