युवा संघ नेपालको साँढेसात बर्ष-भाग : एक

शनिबार विशेष

शनिबार, पुस ८, २०७४

- सरोजदिलु विश्वकर्मा



बाबा पञ्चायती ब्यवस्थाकै पक्षमा हुनुहुन्थ्यो । सामन्तहरुको सेवा नगरी, बालीमा काम नगरी परिवार नचल्ने हुनाले उहाँमा पञ्चहरुको समर्थन गर्नुपर्ने बाध्यता थियो । १५ वर्षको म भने ०४६ सालको परिवर्तनको मुखमा क्रान्तिकारी युवा भइ नेकपा मालेमा आवद्ध भइ गाउँले युवाहरुको नेतृत्व गर्न थालेँ । रातीराती हामी नजिकैको विद्यालयमा गुप्तरुपले साथीहरुलाई परिवर्तनको पक्षमा लाग्न प्रशिक्षण दिन्थ्यौं । नभन्दै पञ्चायती ब्यवस्था ढल्यो, प्रजातन्त्र आयो । म मालेमा आवद्ध भएँ । संगैका प्रायः साथीहरु कांग्रेसमा । हामीवीच नै सुझो न बुझो पार्टी सिद्धान्तका नाममा मनमुटाव बढ्न थाल्यो । अनि प्राक कमिटीको उपाध्यक्ष र लगतै प्ररायुसंघको सचिव भएर काम गर्दै हामीले वरपरका विद्यालयहरुमा माले (२०४७ पछि एमाले)को राम्रो संगठन बनायौं । तर काठमाडौंतिर उच्चशिक्षा अध्ययन गर्न आएकोले कलेजको सामान्य राजनीतिमा मात्र सीमित भइयो । पढाइसंगै रंगमञ्च क्षेत्रमा समेत काम गर्न थालिएकोले राजनीतिक क्षेत्रबाट धेरै टाढा हुनपुगियो । तथापि क्याम्पसका साथीसंगतीले थोरवहुत पार्टीसंगती छँदै थियो । पछि सम्पर्क मञ्चमा बसेर काम गर्दै थोरवहुत दलित साथीहरुसंग पनि भेटघाट हुदै गएकाले मुक्ति समाजसंग पनि जोडिन थालियो ।

२०५२ सालमा मनमोहनको सरकार ढलेपछि उत्साह धेरै मरिसकेको थियो । २०५४ सालदेखि सरकारी सेवामा जोडिइयो । पञ्चायती रगत भएका प्रमुखहरु, कांग्रेसी संस्कृतिका हाकिमहरु र मैले जसरी पनि जागिर खानै पर्ने वाध्यताले राजनीतिक यात्राले मलाई निकै पछाडि छोडिसकेको थियो । त्यसैवेला माओवादी जनयुद्ध क्रमशः चुलिदै गएको र हाम्रा दलहरु सत्ता लिप्सामा मात्र केन्द्रित भएका कारण विकल्पको खोजीमा जोकोही पनि थियौं । त्यसताका माओवादीका शोभा खनाल (कृष्णवहादुर महराहरुसंगै उनको टाउकाको मुल्य २० लाख तोकिएको थियो,) देवी खड्का (२०६४ को निर्वाचनपछि सभासद र राज्यमन्त्री भइन्) टिएन् श्रेष्ठ (शोभा खनाल र उनी पार्टीको आर्थिक हिनामिना कारवाहीमा परे) पावर्ती थापा (गोरखाबाट सभासदमा विवयी) प्रल्हाद (मकवानपुरबाट कमल थापालाई हराई चुनाव जिती सभासद हुनुभयो) लगायतका युवा युवतीहरु मसंग खाजा खाना भूगोल पार्कमा आइरहन्थे) । कहिलेकाही रविन्द्र श्रेष्ठ (उनको नाम अर्कै) संग पनि भेटघाट हुन्थ्यो । अहिलेको युन्पार्क संगैको नयाँबस्ती, कृष्णवहादुर महरा, वादल बस्ने कोठासंग जोडिएको मेरा डेरा ।

उनीहरुलाई कति रात पानी र चिया खुवाएँ, एकिन छैन । राजदरवार हत्याकाण्ड पछि त कार्यालयमा कुनैपनि राजनीतिक गन्ध पनि आउनु हुन्नथ्यो । माओवादी आरोप लागियो भने जागिर सिधै चट् अनि गैरमाओवादी पार्टीको नजिक भन्ने सुइको मात्र पाईयो भने ऊ सिधै आँखाको तारो बन्थ्यो । त्यसको सिकार म पनि भएँ । जागीर खुस्काउन त सकेनन् तर यो नायवसुब्बालाई कहिले पशुपतिको बाँदर गन्ने काम, कहिले प्लाष्टिकका थैला बोकेर ठमेल डुल्ने काम, कहिले नगरकोटको अनकन्टार जंगलमा सरुवा त कहिले सदरखोर जस्तो पोखरामा माछा मार्न बाध्य बनाए, हाकिमहरुले । साथीहरु पनि त्यस्तै थिए, मेरो समवेदना बुझ्ने भन्दा जान्नेहुन्थ्यो ठिक्क पर्यो भन्ने खालका ।

२०६२।६३ को आन्दोलन चरम उत्कर्षमा पुगेका वेला मलाई पोखरा सरुवा गरिएको थियो । २९ दिन कोठाभित्र सुतेर बस्नुपर्ने, अनि ३० सौं दिनमा केन्द्रबाट पठाएको तलव हिसावकिताव गरी माछा मार्नेहरुलाई बाढिदिनु पर्ने । सिंगो रिसोर्ट होटलको कार्यकारी मेनेजर, तर ग्राहक कोही छिर्दैनन् । भातै खानका लागि पनि दिनैपिच्छे विहानवेलुका ३ किलोमिटर ड्याम्साइटमा मछुवाराहरुको कटेरामा पुग्नुपर्ने । ओफ् कस्ता थिए, ती सरकारी जागिरका दिन…. अहिले भए पछाडि फर्कि त भनेर ती हाकिमहरुलाई कस्सेर लात्तले हानेर तेरो जागीर तैं खा भनेर हिड्दो हुँ ।

तीन दिने विदामा काठमाडौं आउँदा गिरिजाप्रसाद र माधव नेपाललाई नजरवन्दमा राखिएको थियो । उहाँहरुले सरकारी जागिर हुनेलाई आन्दोलनमा सघाउन अनुरोध गर्दै जागिर गए, आन्दोलनपछि हामी जागीरमा फर्काउछौं भनेपछि म पनि आन्दोलनमा होमिए । १९ दिने आन्दोलनमा म करिव हाकीमहरुको आदेशलाई लात्त मारेर जागीर गएपनि जाओस् भनि एउटा रिपोटरको रुपमा मैदानमा आएँ । ४ ठाउंमा झन्डैझण्डै गोलीले उडाएको दिन आज पनि आंङ सिरिंग हुन्छ । ३ वर्षे छोरी, बाबा बाहिर नजानु कप्mर्यु लागेको छ भनिरहन्थी । तर मेरो दैनिकी जनउत्थान मासिकको कार्ड बोकेर आन्दोलनमै हुन्थ्यो । एकदिन इमाडोल उकालोको स्तुपाअगाडि दिउँसै कम्मरमा बाँधिएको ज्याकेटलाई छुँदै रातोतातो गोली गयो, पछाडिको साथीको खुट्टामा लाग्यो । अर्कोदिन मंगलवजारमा आफूतिर आएको अश्रुग्यास समाएर फाल्ने हुँदा झण्डै ढलेको (जुन दृश्य कहिलेकाही कान्तिपुर टीभिमा देखिने गर्दछ), फेरी अर्कोदिन साँझ मंगलवजारको प्रहरी चौकीबाट सेनाले बर्साएको गोली करिवकरिव मेरो कानलाई छोएर गई कृष्ण मन्दिर परिसरको ढुंगैढूंगाले बनेको पहिलो मन्दिरमा खम्वामा लागि आफैंतिर फर्केर झर्यो । त्यताबाट भाग्दै कृष्णमन्दिर पुग्दा फेरी अर्को गोली त्यसैगरी मेरो टाउको माथिबाट गई अर्कोसाथीलाई लाग्यो (ऊ त्यही ढलेको थियो, त्यसपछि के भयो थाहा भएन) । ओफ्, सायद मिति आइनसकेकोले बाँचियो । बन्दूकबाट निस्केको गोली कसरी उठ्दोरैछ र कस्तो रंगको हुँदोरहेछ भन्ने पनि त्यही दिननै अनुभव गरेँ ।

आन्दोलन सफल हुनासाथ म माओवादीसंग जोडिने मनसायमा थिएँ । तर वाइसियलको दादागिरी, चरम ज्यादती, लुट र हिंसाका कारणले मलाई त्यता जान बाटो छेकिरहेको थियो । हुँदाहुँदा हिजो एनजीओमा संगै काम गर्दाका साथीहरु मैले रिसर्चमा सहायक राखेका केटाकेटीहरु समेत खाँटी माओवादी भएर धम्क्याउन थाले । किर्तिपुरमा छल गरेर मार्नेसम्मको दुश्प्रयाश गरे । टीआर विश्वकर्माको पुस्तक लेख्दै गर्दा म माओवादी हुँ तलाईं कोठैमा आएर खुकुरीले छप्काउँछु भन्नेसम्मको धम्की दिए । तिनीहरु धेरैजसो आज हाम्रै एमालेमा छन्, हाम्रो एमाले नेताहरुको प्रिय भएर हामीभन्दा अगाडि छन् । त्यसताका माओवादीका हालका तेज मिजारले त काभ्रेको केरावारीमा ल्याउनसम्म आदेश दिइ, उनका मानिसहरु मलाई लिन समेत आएका थिए । तिलक परियारसंग हारगुहार गर्दा उनलेसम्म “जानु नि त, बिगार नगरेको भए किन डराउनु ? बिगार गरेको भए यही पनि छोडिदैन’ सम्मको जवाफ दिए । तर हाम्रो आदरणीय नेताका रुपमा तिलक दाजुसंग आज संगै काम पनि गर्दैछौं । जताततै माओवादीका अन्य मोर्चा र वाईसियलले जर्वजस्त राज गर्न खोजिरहेको थियो । हामी सवैमा त्रास फैलाएको थियो । अझ पहिलो निर्वाचनमै माओवादीको प्रचण्ड जीतले उसले आफ्नो टेक्ने धरातल सवै बिर्सदै थियो । ती यहावत् कारणले माओवादीमा आवद्ध हुने मेरो मन भाँचियो । अनि त मलाई पनि राजनीतिमा जोडिनै थियो ।

२०६४ सालको मध्येतिर दलित महिला संघले ‘दलित आन्दोलनमा १० दलित महिला’ पुस्तक लेख्ने जिम्मा हाम्रो टिमलाई दिएको थियो । १० मध्ये ७ जनाको मैले लेख्नेक्रम तत्कालिन महिला आयोगकी सदस्य धनकुमारी सुनारसंग मेरो भेटघाट भयो । उनले नै तपाईजस्ता मानिसहरु पार्टीमा सक्रीय हुनुपर्ने सुझाव दिएपछि उनीसंगै युवा संघमा जोडिने इच्छा जाहेर गरें । जतिवेला युथफोर्स गठन भएर वाईसियलसंग दह्रो प्रतिकार गरिरहेको थियो । क्रमशः उनीसंग नजिकको सम्बन्ध बन्दै जाँदा तत्कालिन उपाध्यक्ष गरिमा शाह, त्यसपछि अध्यक्ष अजम्वर कांङमाङसंग पनि सामिप्यता बढ्यो । त्यसवेला म युनडिपीमा महिनाको करिव ७५ हज्जार तलब बुझ्थेँ र रिसर्च गरेर पनि मासिक ३०।४० हजार आम्दानी गर्थेँ । पैसाको कुनै कमी थिएन २।४ जना पाल्नलाई । कम्प्युटर प्रविधि अनि अंग्रेजी नेपालीमा प्रपोजल बनाउने जानेकैले अजम्वर कमरेडले छिट्टै मेरो क्षमतालाई चिनी जिम्मेवारीहरु दिनथाल्नु भयो । त्यहीँबाट शुरु हुन्छ मेरो युवासंघ नेपालको सक्रीय राजनीतिक यात्रा ।

421 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank