कैलाली र कञ्चनपुरमा पिउने पानीमा आर्सेनिकको मात्रा बढी

शुक्रबार, पुस १३, २०७५

- पदमराज भट्ट



धनगढी । कैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्रमा आर्सेनिकको मात्रा बढी रहे पनि परीक्षण गराएर पानी पिउने चेतनाको विकास हुन सकेको छैन ।  परिक्षण नगराइ पानी पिउने बानीले मानिसहरु विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले निर्धारण गरेको मापदण्डभन्दा बढी आर्से्निक पानीसंगै ग्रहण गरिरहेका छन् ।

दुवै जिल्लाको दक्षिणी क्षेत्रको भूमिगत पानीमा २० देखि ४० पीपीबी (पार्टस् पर बिलियन) आर्सेनिकको मात्रा रहेको पानी परीक्षण प्रयोगशाला धनगढीले जानकारी दिएको छ । आर्सेनिकको यो मात्रा विश्व स्वास्व सङ्गठनले निर्धारण गरेको मापदण्ड भन्दा धेरै हो । विश्व स्वास्थ्य सङ्गठनले पानीमा रहेको हानिकार तत्व आर्से्निक १० पीपीबीसम्म ग्रहण गर्न सकिने मापदण्ड बनाएको छ ।

 कैलाली र कञ्चनपुर जिल्लाका मानिसहरुले डब्लूएचओको मापदण्ड भन्दा दोब्बर, तेब्बर बढी आर्सेनिक ग्रहण गरिरहेका छन् । सबैभन्दा बढी आर्से्निकको मात्रा कञ्चनपुरको गोकुलपुरमा ४० पीपीबीसम्म भेटिएको पानी परीक्षण प्रयोगशालाको कार्यालयले जानकारी दिएको छ ।

 बेलौरी क्षेत्रको हाते पम्पमा १५, २०, २५ पीपीबीसम्म आर्सेनिक रहेको छ ।  कैलालीको साविकको पहलमानपुर, पवेरा र रतनपुर क्षेत्रमा २५ देखि ३० पीपीबीसम्म आर्सेनिकको मात्रा रहेको छ । यी क्षेत्रहरुमा परीक्षण गर्दा अलि बढी नै आर्से्निकको मात्रा देखिए पनि विश्व स्वास्थ्य सङ्गगठनको मापदण्ड भन्दा बढी आर्सेनिकको मात्रा दुवै जिल्लाको प्रायः सबैतिर रहेको पानी परिक्षण प्रयोगशालाका केमिस्ट कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपालले २०६२ सालमा आर्से्निकको मात्रा कतिसम्म ग्रहण गर्न सक्ने भनेर एउटा मापदण्ड निर्धारण गरेको थियो । त्यसबेलाको आर्थिक, सामाजिक पक्षको आधारमा ५० पीपीबीसम्म आर्से्निक भएको पानी पिउन सकिने मापदण्ड तय गरिएको थियो । तर, त्यो मापदण्डमा आर्से्निकको मात्रा अत्यधिक रहेकाले पछिल्लो समय विश्व स्वास्थ्य सङ्गगठनकै मापदण्डको आधारमा पानी पिउनु पर्ने बहस तड्कारो बनेको केमिस्ट पौडेलको भनाइ छ ।

‘एक सय २५ मिलीग्रामसम्म आर्सेनिक मान्छेले खाएमा एक घण्टाभित्रै मर्न सक्छ’, उनले भने–‘त्यति बेला निर्धारण गरिएको मादण्डमा आर्से्निकको मात्रा बढी भएकाले अब विश्व स्वास्थ्य सङ्गठनकै मापदण्डलाई पछ्याउनु पर्ने कुरो भइरहेको छ ।’ पानी जिन्दगानी हो । पानी बिना जीवनको कल्पना गर्न सकिदैंन । तर, हामीले पिउने पानी नै सुरक्षित भएन भने त्यसले जटिल समस्या निम्त्याउनेमा दुई मत हुन सक्दैन । मानिसलाई ७० प्रतिशत रोग पानीबाटै लाग्ने गरेको बताइएको छ । एक चोटी पानी खाँदा मानिसको शरीरमा गएको आर्से्निक मध्ये ८० प्रतिशत दिसापिसाब र पसिनामार्फत शरीर बाहिर जाने गर्दछ । तर, बाँकी २० प्रतिशत भने मृगौला, मूत्रथैली र कलेजोमा गएर बस्ने गर्दछ । मापदण्डभन्दा बढी आर्से्निक भएको पानी नियमित पिउदै गएमा १५/२० वर्षसम्म जम्मा भएको आर्सेनिकले मानव शरीरमा असर गर्ने गरेको जनाइएको छ ।

सामान्यतयाः एक सय २५ पीपीएम (पार्टस् पर मिलियन) आर्से्निक मानव शरीरमा जम्मा भएमा असरका लक्षणहरु देखा पर्ने गरेको केमिस्ट पौडेलले जानकारी दिए । आर्से्निकले छालाको क्यान्सर लगायतको समस्या हुने गरेको उनको भनाइ छ ।  एक सय फिटभन्दा कम गहिराइबाट तानेको भूमिगत पानीमा आर्सेनिक तत्व र इ–कोली जिवाणुको प्रमुख खतरा रहने गरेको जनाइएको छ ।

दुवै जिल्लामा ५०/६० फिट गहिराइबाटमात्रै पानी तानेर पिउने चलन रहेको पानी परीक्षण प्रयोगशालाको कार्यालयले जानकारी दिएको छ । सो कार्यालयले केहि वर्ष यता धनगढीबाट पानी परीक्षणको सेवा उपलब्ध गराउँदै आए पनि पानी परीक्षण गराउनेको सङ्ख्या अझै निकै न्यून रहेको छ । एक महिनामा १५/१६ जनासम्म मात्रै पानी परीक्षणको लागि आउने गरेका छन् । यद्यपि, गतविगतको तुलनामा पानी परीक्षण गराउने चेतनामा केहि विकास भएको केमिस्ट पौडेलले बताए ।
‘सङ्घ संस्थाहरुले भूमिगत खानेपानीको व्यवस्था गर्न लाग्दा र केही स्थानीयले पनि पानी परीक्षण गराउने गरेका छन्’, उनले भने–‘तर, सबैले परीक्षण गराउने परिपाटीको विकास अझै हुन सकेको छैन ।’

पानी परीक्षणमा सहजताको लागि चालु आर्थिक वर्षमा केन्द्र सरकारले प्रयोगशालालाई पानी परीक्षण घुम्ती गाडी पनि उपलब्ध गराएको छ । तर, उक्त गाडी अहिलेसम्म प्रयोग हुन सकेको छैन । हालसम्म पानीको नमूना सङ्कलनमामात्रै गाडी प्रयोगमा आएको जनाइएको छ ।
युरोपियन देशहरुमा आर्से्निकयुक्त पानी पिउँदैनन् । युरोपियन मादण्ड एक पीपीबीमात्रै रहेको छ । तर, यो क्षेत्रमा अत्यधिक आर्से्निकयुक्त पानी पिउने काम भइरहेको खानेपानी सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख मोहनबहादुर कुँवरले बताए ।

‘त्यसैले यो प्रदेशको सबै डीप बोरिङ्ग, खानेपानी मुहान र ह्याण्ड पम्पहरुको पानी जाँच गर्न आवश्यक छ’, उनले भने–‘यसका लागि स्थानीय तहहरु नै अब अगाडि सरेर जनताको स्वास्थ्यको सुरक्षा गर्नु पर्दछ ।’ उनले स्यालो ट्युबेलको पानीमा अत्यधिक आर्से्निक रहेको जनाए ।
नयाँ डीप बोरिङ्ग र हाते पम्प गार्दा आर्से्निक परीक्षण सबैले गराएमा धेरै आर्से्निक खानबाट जोगिन सक्ने जनाइएको छ । ‘यदि, बढी आर्से्निक फेला प¥यो भने पानीको अर्को स्रोत वा अर्को लेयर खोज्न सकिन्छ’, केमिस्ट पौडेलले भने ।

पानी परीक्षण प्रयोगशाला धनगढीले पानीमा स्वाद तथ गन्ध, हाइड्रोजन विभव, धमिलोपन, विद्युतीय संवाहकता जस्ता भौतिक, इ–कोली, कोलीफर्म जैविक जिवाणु परीक्षण गर्ने गर्दछ । यस्तै, क्याल्सियम, कुल कडापन, फलाम, एमोनिया, मेगानिज, आर्से्निक, क्रोमियम, नाइट्रेट, फ्लोराइड र क्लोरिन अवशेष जस्ता रसायन परीक्षण गर्ने गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank