सरकारी कागज किर्ते गरेकाे अभियोगमा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

शनिबार, असार १३, २०७७



काठमाडौं । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ परेका छन ।  पक्राउ पर्नेमा राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोकका शाखा बाँकेका प्रबन्धक ललितबहादुर शाही रहेका छन ।

एक करोड २५ लाख रूपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई शुक्रबार नै जिल्ला अदालत बाँकेमा म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएका छन ।

जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्शा, कर तिरेको रसिद, मालपोत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर बैंकबाट ऋण लिएको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ निवासी सुनचाँदी व्यवसायी जसगढ जेठ २७ गते नै पक्राउ परेका थिए।

किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा प्रबन्धक शाहीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी माथि सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि बैंकिङ कसूरको अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments