नगरपालिकाको गाडी जलाउने दुई जना पक्राउ

आइतवार, जेष्ठ ५, २०७६



अछाम । मंगलसैन नगरपालिकाका मेयरले चढ्दै आएको गाडी जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । नगरपालिकाको परिसरमा पार्किङ गरी राखेको बा २ झ ३६९४ नम्बरको गाडीमा आगजनी गरेको आरोपमा अछाम मंगलसेन नगरपालिका वडा नम्बर १ बाट  दुई  जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मंगलसेन नगरपालिका वडा नम्बर-१ कुन्तीवण्डालीका १९ वर्षीय दीपेन्द्र जैगडी र साेही ठाउँका १९ वर्षीय एकेन्द्रराज नाथ रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

गत वैशाख ३१ गते राति सवा २ बजे आगजनी गरिएको थियो । आगजनी पश्चात प्रहरीले घटनाको बारेमा अनुसन्धान तिव्र बनाएको थियो । पक्राउ परेका व्यक्तिले घटनामा केही अन्य व्यक्तिको पनि संलग्नता रहेको बताएको र उनीहरुको खोजिका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख शाहीले जनाएका छन् ।

नगरपालिकाले पनि सोही घटनाको छानबिनका लागि ५ सदस्यीय समिति बनाएर यो घटनाको अनुसन्धान गरिरहेको मंगलसेन नगरप्रमुख पदमबहादुर बोहराले बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata