एउटा शङ्ख बज्छ !

सोमवार, फाल्गुन ५, २०७६



तिमी त टाढा गयौ,
तर तिमीले मलजल गरेर मलिलो बनाएको बारीमा
अहिले हरिया बिरुवाहरू नाचिरहेको देख्दा
साउनमा तिमीले लाएका हरिया चुराहरू
छ्याङ् छ्याङ् बजे जस्तै सुन्छु !

कोदालोको पुरानो बिँड
त्यसमाथि मेरा हातहरू अनि त्यही हातमाथि मेरो मुहार
बसिरहँदा,
अनि यसरी बसेर तिमीले खुरुखुरु गोडेका मकैका बिरुवा हेरिरहँदा
धेरै पहिले तिमीलाई हेरेको सुनगाभा फेरि देख्छु !

यो झरी यसरी नझरेकै भए
यो साँझ यसरी नमरेकै भए
मिठो हुन्थ्यो ,
तर, झरिदिन्छ त म कसरी नझरूँ
मरिदिन्छ त म कसरी नमरूँ
तिम्रो सम्झनामा अल्झिँदै !

कहिलेकाहीँ भीर पाखामा एक्लै भारी बोकेर हिँड्दा
मेरो छेउ हुँदै कोही हिँडिरहे जस्तो लाग्छ !
तिमी नहुँदा पनि , हिजो आज साँझ ओछ्यानमा
एक्लै बोल्न थालेको छु
कसरी कसरी, तिमीले कान थापेर सुनिरहे जस्तो लाग्छ !

अरूका आफ्नी मान्छेले बारीमै ”भोक लाग्यो ह” भनेर खाजा ल्याइदिँदा
परैबाट, “खाना खान आउनु है ” भनेर डाकेको सुन्दा
मेरा कान राता हुन्छन् !
फनक्क फर्किएर घरतिर हेर्छु
आफ्नै पो हौ कि भनेर !

भोक लाग्दा केही खान्छु भनेर भान्छा छिर्दा
जे सुकै पकाउँदा होस्
मेरा हातहरू कसैले समाइरहे जस्तो लाग्छ
पस्किएर खाँदा
मेरा प्रत्येक गाँसलाई नियालेर कसैले
हेरिरहे जस्तो लाग्छ !

दाउरा खोज्न भञ्जयाङ कटेर हिँड्दा
कहिलेकाँहि गोडा बिझ्छ
त्यति बेला तिम्रै पछ्यौरा न्यास्रो गरी
चरर च्यातिए जस्तो लाग्छ !

दिनभरिको काम सकेर बेलुका घर फर्किँदा
पसिनाले टोपी भिजेको हुन्छ, बलेसीमै राखिदिन्छु
अनि भोलिपल्ट सबेरै काममा हिँड्दा
मलाई भन्न मनपर्छ, ” सानु ! मेरो टोपी कता सुकाइदियौ ?”
बिर्सिदिन्छु म, तिमीले त मलाइ पहिल्यै छाडिसक्यौ !

तिमीले यताको न्यानो बिर्सिएर
स्वर्ग भोगेको त धेरै भइसक्यो
के रैछ त माया त्यस्तो त्यता
जुन मैले तिमीलाई थमाउन सकिन ?

त्यो ज्यानलाई त्यता सन्चो छ कि कस्तो छ
सोध्न मन लाग्यो‌ तिमीलाई
त्यहाँको व्यस्त समयमा सम्झिन्छ्यौ कि कतै मलाइ
कल्पिन्छ्यौ कि मेरो अवस्था
मेरो लवाइ देखेर, मेरो खवाइ देखेर
तिमी हाँस्छ्यौ कि रुन्छ्यौ ?

तिमीसँग रसिला कुरा कहिल्यै गरिन
मैले हेरुँला भनेर आफूलाई कति सिँगार्थ्यौ
तर म तिम्रो‌ अगाडि आँखा चिम्लिएर आउँथे !

म तिम्रो खसम ,
बडो रमाइलो मान्थ्यौ तिमी,
बजारमा किनेका सामानहरूले
त्यहाँ सजाइएका फूल गुच्छाले
बेच्न राखेका उनी धागोहरूले
बाँसको छहारी सम्मले पनि !

तर म‌ ती सबै बेकार सोच्थेँ !

आज भीर पाखामा फुल फूलेको देख्दा
टिपेर घर ल्याऊँ जस्तो लाग्छ
बजारमा उनी राखेको देख्दा
किनेर ल्याऊँ जस्तो‌ लाग्छ
तर कुन हातले सजाउने त्यो फूल
कुन हातले खेलाउँछ अब सियो धागो ?

आज बल्ल होस आयो,
मैले तिमीलाई फकाउन पनि सकिन
तिमी रिसाउँदा हँसाउन पनि सकिन
बोलीमा मह घोलेर बोलाउन पनि सकिन
तर यदि तिमी कतै छौ भने
मलाई देखिरहेकी हौ भने
बुझ्नु ल ?
म त तिमीलाई बढ्ता माया गर्छु !

अब त दिक्क लाग्यो‌ साँझ,
यो दियो
यो‌ हावा
उफ्
कति गहिरो माया हो यो !

तिमीलाई जुन भनूँ भने अस्ताउला भन्ने डर
फूल भनूँ भने ओइलाउला भन्ने डर
तिमीलाई सम्झिरहने यो मेरो‌ कस्तो‌ रहर !

तर, कुनै दिन मेरो सम्झनाले तिमीलाई सतायो भने
यो कविता पढिदिनु
म त सधैँ तिम्रो नै रहेको‌ छु
तिमीलाई थाहा छ
यति बेला म‌, हलुकासँग तिम्रो‌ अस्तु बगाएर लाने
गहिरो‌ भेल जस्तै रुँदै छु !

तिमी आँखा चिम्लिएर पल्टिएकी छौ भने
म‌ तिम्रो‌ आँखा भित्र
उस्तै गरी सलबलाउँछु नि ल ?
तिम्रो एक फेर लुगालाई
उस्तै गरी बेर्छु नि अङ्गालो भरि !

तिमीलाई कसरी भनूँ
म कति एक्लो छु
यो झुपडी कति सुनसान छ
साँझ जति गहिरिन्छ
रातको अँध्यारोलाई चररक्क काटेर
एउटा शङ्ख बज्छ
स्यालहरू हुइँकिन्छन्
मलाइ नराम्रो गरी डर लाग्छ !

म तिम्रो आलिङ्गनमा
एक पटक बेरिन्छु न फेरि
त्यही माया जता मैले
सपना अनि बिपनाका रङ्गहरू
रातै पारेर पोतेको थिएँ !

हराउँछु नि तिमी सँगै
बोलाउन मलाइ तिमीतिरै
कति डराउनु अझै मैले
कति रित्तिनु झन् रक्सीका बोतलहरूमा
भन न फेरि
अब नपिउनुस् भनेर
भनन तिमीले
अब घर हिड्नुस भनेर
यो शून्यता मा रुँदा रुँदै
अब मलाइ डर लागेको छ
यो अँध्यारो देखि !

यदि सक्दैनौ भने त्यति,
तिमीले जहाँबाट हेरिरहेकी छौ
कम्तीमा मलाइ हेरिराख न है
म त सधैँ तिम्रो नै रहेको छु !

– paudelarjun964@gmail.com

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments