अन्नपूर्ण पदमार्गमा हिमपहिरो, चार नेपाली सहित ९ जना सम्पर्कविहीन

शनिबार, माघ ४, २०७६



कास्की । अन्नपूर्ण बेस क्याम्प (एबीसी) पदमार्गमा हिमपहिरो गएको छ । हिमपहिरोमा परेर केही पर्यटकसहित ९ जना सम्पर्कविहीन भएका छन् । शुक्रबार दिउँसो देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेपछि उनीहरु सम्पर्कविहिन भएका हुन् ।

चार जना नेपाली गाईड, चार जना कोरियन पर्यटक र एक जना चिनियाँ पर्यटक गरी ९ जना सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस क्षेत्रमा लगातार हिमपात भएका कारण सञ्चारसम्पर्क नभएकोले पर्यटकको अवस्थाका बारेमा जानकारी पाउन नसकेको कास्कीका डीएसपी तथा प्रवक्ता राजकुमार केसीले बताए । उनले पर्यटकको खोजीका लागि प्रहरीको टोली छुम्रुङबाट माथि लागिसकेको बताए ।

हिमपातका कारण उनिहरु सम्बन्धित ठाउँमा नपुगेपछि खोजि कार्यका लागि ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले ६ जना गाइडहरूलाई त्यसतर्फ पठाएको जनाइएको छ ।

सम्पर्कविहीन हुनेमा टान पोखराका सदस्य सुरज परियार सहित केही पोटर र पर्यटकहरु रहेको बताइएको छ । खोजीका लागि पोखराबाट हेलिकप्टर जाने तयारी गरे पनि प्रतिकूल मौषमका कारण जान नसकेको डीएसपी केसीले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments