नकोरिएको चित्र

शनिबार, बैशाख २८, २०७६



नकोरिएको चित्र

कुनै शान्त ठाउँमा बसेर, एउटा मान्छे
कोर्न खोज्दैछ, कुनै चित्र

उस्ले सेतो कापीको पानामा, कापिरहेको हात राखे अनुसार
मैले सोचे ऊ गरिब रहेछ,
उस्ले पैसा बनाउछ

बाङ्गो टिङ्गो गर्दै, रेखा बढाउन थाल्यो
कतै ऊ देशलाई माया गर्न नपाएर, तड्पिरहेको
देश भक्त त हैन?
पक्कै देशको नक्सा बनाउला

ऊ रोकियो, रेखा थोरै तल झार्यो,
कुनै दैविक प्रकोपमा, बाआमा गुमाएको, टुहुरो होला
हुनसक्छ आमाको चित्र बनाउदैछ
या,
प्रेमको तिर्खाले, आकुल व्याकुल भएको, प्रेमी?
छोडेर गएकी आफ्नी, भूतपुर्व प्रेमीका कोर्देला
धर्म कर्म भनेकै, मन्दिर जानु देउता पुज्नु हो, भन्ठान्ने
कट्टर आस्थिक होला
कुनै भगवानको चित्र बनाउला

थोरै बङ्ग्यायो सिसाकलम
ला ! रक्सिले पिएको त छैन उस्कै जिन्दगी,
उ जड्याहा त नहोला
कि बनाउछ मकैको खोयाले थुनेको बोत्तल?
लौरो लौरो जस्तो आकार दिन लाग्यो
बादलमा, धुवाँ सँगै उड्न मनपराउने, कुनै गजेंडी त हैन?
सल्किरहेको एक स्टिक जोईन, नबनाउला

इरेजर लियो, मेट्यो र तान्यो सिधा रेखा
जति हार गुहार , आलाप विलाप गरेपनि
नागरिकता नपाएको, थकित अनागरिक हो र?
नागरिकता बनाएर टास्ला छातीमा?
कतै केहि गर्न नसकिरहेको, फ्रस्टेटेड बेरोजगार?
राहदानी ?, हैन होला

अर्को रेखा पनि तान्दैछ, बिस्तारै
अरू जातको नाक काटिदिने, सामन्ती जस्तो त देखिदैन
तरवार बनाए जस्तो पनि लाग्छ
पहिरोले सर्वस्व लगेपछि,
बल्ल बुद्धी पलाएको, काठको व्यापारी? उमम् हुं
रूख बनाएको त हैन होला, पिपलको?

फेरी मेट्यो, र गोलो वृत जस्तो बनाउन थाल्यो
सारा जगतको चिन्ता भएको, कुनै दुरदर्शी वैज्ञानिक? के हुन्थ्यो
पृथ्वी… , बनाउदैन
धेरै दिन सम्म खान नपाएर,
भोकले कमजोर भएको छ कि कतै
खानाले भरिएको, थाल बनाईदिन्छ कि?

इरेजर लियो र मेट्यो सबै,
कच्याककुचुक पारेर फ्याक्यो, कागज
हिड्यो चुपचाप
केहि पनि नबनाईकन उस्ले, हजारौ चित्र बनाएर गयो
मेरो मष्तिष्कमा

© सुरज पराजुली

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank