बरिष्ठ पत्रकार तथा बाल साहित्यकार विनय कसजु प्रति श्रद्धाञ्जली !!!

बुधबार, मंसिर ११, २०७६

- सीता ओझा-अध्यक्ष महिला अध्ययन केन्द्र



लेखन त्यति सजिलो काम होइन तर पनि मानिसहरू लेखिरहन्छन ।  लेखनले मानिसको जीवनलाई उर्जाशिल र कर्मयोगी बनाउन मद्दत गर्दछ । त्यस्तै लेखनको माध्यमबाट हजारौं हजार मानिसलाई देशको समृद्धि र विकासको पक्षमा उभ्याउन सक्छौं । लेखनभित्रको साहित्य हरेक युगको सामाजिक आर्थिक जीवनको ऐतिहासिक पहिचान पनि हो । त्यसैले होला हरेक युगमा लेखकहरू जन्मन्छन् । लेख्ने हजार हुन्छन्, तिनै हजारहरू मध्ये दुइचार सदा मरेर पनि बाँचिरहन्छन । त्यस्तै मध्यका एक व्यक्तिको रूपमा स्थापित थिए ।  विनय कसजु पनि ।

पाल्पा जिल्लाकाे तानसेनमा वि. स.  २००४ असार २९ गते जन्मिएका विनय कसजुकाे बाल्यकाल भने गुल्मीको रिडिमा वित्यो ।  विनय कसजुले विशेष गरेर बाल साहित्य र पत्रकारिता क्षेत्रमा विशिष्ठता हासिल गरेका थिए । उनले विशेष गरेर  नेपाली साहित्यको यात्रामा  व्यङ्ग्य र बाल साहित्यलाई रोजे । कथाको क्षेत्रमा अति साना देखि निकै लामासम्मका कथाहरूको लेखनमा कसजु निकै अग्रपंक्तिमा पर्ने गर्छन ।  वङ्ग्य क्षेत्रमा पशुतन्त्र , लिस्नो,थोपा थोपा साथै सम्पादकीयको सँगालो साचो कुरा पस्किएर उनले साहित्यमा मुलकलाई ठूलो गुन लगाएका छन ।

कसजुले लेखन मात्रै रोजेनन् । मानिसको दिल र दिमाग उथलपुथल  पारिदिदै चेतना निर्माण गर्ने लेखनलाई रोजे । आफुले मात्रै साहित्यको बाटो र पाटो रोजेनन् । आफुसँग सयौं अरू कलम चल्ने र लेखनमा जाँगर हुनेहरूलाई साहित्यिक यात्रामा डोर्याउन सफल रहे । लेखनकै क्रममा पछिल्लो अवधिमा बालवाङमय तथा अनुसन्धान केन्द्रको स्थापना गरे । उनी बालवाङमय तथा अनुसन्धान केन्द्रको स्थापना कालदेखि नै सर्वसम्मत र संस्थापक अध्यक्षको रूपमा रहेर काम गरे । कसजुले त्यहीँ संस्था मार्फत  बाल कथा लेखन, बालबालिकामा पढ्ने बानीको विकास,स्वडेनको बालसाहित्य ,बालकथाको सम्पादन ,कसजुका १०० बाल कथाहरू,मुसालाई दोसल्ला, माकुरालाई मोजा,बाँसुरी बजाउने भुत,डल्फिनको गीत लगायत सयौं कृतिहरू र फुटकर रचनाहरू सार्वजनिक गरे । साथै लेखनको सीप विकास गर्ने उदेश्यले तालिमहरू सञ्चालन पनि गरे ।

विनय कसजु चार दशकदेखि अनवरत बाल साहित्य लेखन,सम्पादन र  लेखन कार्यमा प्रोत्साहन गर्ने कार्यमा सक्रिय व्यक्तित्वको रूपमा चर्चित थिए । उनी आफैले पनि लगभग चार दर्जन जति  बाल साहित्यिक कृतिहरू प्रकाशित गरिसकेका छन ।

विनय कसजुका झ्यापुल्लेको बिजोग, वनको दमकल, कान्छाको मोटर, स्माइल प्लिज, साइबर बालकथा, सुजनको डर, सूर्यको बिहे, जुल्फी खाने कौवा, मेवालाल  जस्ता बालकथा चर्चित छन्। त्यसैगरी घडीहरूको जमघट,जन्मदिनको उपहार,मुसाको भोजमा बिरालो ,रातो भाले,अनौठो आकाश सुर्य र ग्रहहरू,म्याउँम्याउँ बिरालो ,हाम्रो स्कुल खोइ ,हाम्रो पुस्तकालय ,मेरो किताब,कोसिस गर्छु,तीन पांग्रे साइकल ,भोकाएको बिरालो,आज स्कुल जान्न,मलाई माया गर्छिन् ,टिउराको सपना,जलविर र सुरी,ओबालाको मोबाइलफोन ,सुनको मुटु भएको केटो , बालचित्र पुस्तकहरूले बालबालिकालाई निकै रोमान्चित र आनन्दित पार्ने कृतिको रूपमा चिनिन्छन् ।

त्यस्तै ह्यान्स क्रिस्चियन एन्डरसन र उनका परीकथाहरू,इसपका नीतिकथा,सानी जलपरी र ह्यान्स कै दन्त्यकथाहरू उनीद्वारा अनुवादित बालकथाहरू हुन ।

त्यति मात्रै होइन उनले बाल कथालाई बालबालिकाको मनोविज्ञान ,अभिभावकको मनोविज्ञानसँग जोडेर नयाँ सम्बन्ध विस्तार गर्न सकियोस् र बाल साहित्यमा सबैको रुचि जागोस भन्ने मनसाय राखेर  सैद्धान्तिक र समीक्षात्मक पुस्तकहरू समेत प्रकाशन गरेका छन । बालबालिकालाई पढ्ने र नयाँ कुराको खोजी गर्न सहयोग पुगोस् भनेर बाल पत्रकारिताको महत्व  आवश्यकता दर्शाउदै नयाँ पुस्तक प्रकाशन गरेर थप योगदान पुर्याएका छन ।

अघिल्लो भदौमा महिला अध्ययन केन्द्रको अगुवाइमा भएको किशोरी र किशोरीका विशेषतासँग जोडिएर पनौतिको नौविसे डाँडामा सम्पन्न कार्यक्रममा उनकाे विशेष भूमिका रहेकाे थियाे ।  किशोरी कथा लेखनमा विशेष प्रशिक्षणमा प्रमुख प्रशिक्षकको रूपमा कसजुकाे उपस्थिति अविष्मरणीय रहेकाे थियाे ।  किशोरीहरू सहित दश जना महिला कथाकारहरूलाई कथा लेखन अभियानमा प्रवेश गराएर कसजुले उल्लेखनीय कार्य गरेका थिए ।  त्यसैको परिणामस्वरूप किशोरी कथा भाग १ र २ सम्पादन सहित सार्वजनिक भए । त्यस  कार्यले किशोरीको  बढ्दो उमेर,उमेरसँग विकास हुने एकांकीपन र फरक दृष्टिकोणलाई  सम्बोधन गर्दै जीवनलाई सरल बनाउने र आत्मरक्षाका लागि भुमिका खेल्न सक्ने बनाउन उनले अह्म    भूमिका  निभाए।

भालुको बगैँचा र स्माइल प्लिज जस्ता विषय राखेर सुन्ने सिडीहरूमा समेत बाल कथालाई छिराउन सफल उनले स्मार्ट टिन्स नामको किशोर कथा संग्रह समेत प्रकाशित गरेर किशोरावस्थाको विशेषता र अनविज्ञतालाई सरल तरिकाले हल गर्न सहयोग पुर्याउने कृतिको रूपमा सार्वजनिक भएका छन ।

उनले गाउँले जनजीवनको सहजताका लागि देउराली भिते पत्रिकाको सुरूवात सगैं तालिमको पनि व्यवस्था गरे । नेपाल प्रेस काउन्सीलको सल्लाहकार ,राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य ,मानवअधिकार आयोग , इन्सेकको सल्लाहकारको रूपमा र राष्ट्रिय सुचना आयोगको प्रमुखको जिम्मेवारी  कुशलता पूर्वक पूरा गरे ।

नेपाली भाषा साहित्यमा आधा दशक भन्दा बढी समयदेखि अनवरत सक्रिय कसजुले नेपाली पत्रकारिता क्षेत्रमा सामान्य जनजीवनको सरलता लागि सुचना दिने भिते पत्रिकादेखि राजनीतिक आन्दोलनमा जनतालाई जागरुक गराउने पत्रिका सम्ममा काम गरेर समाजमा चेतना फैलाए ।

वि‍‍.स. २०४६ सालको आन्दोलनमा प्रजातन्त्रको पुनः स्थापनाका लागि सत्य साप्ताहिकले निकै महत्त्वपूर्ण भुमिका खेलेको थियो । कसजुले पञ्चायती निरङकुशताको विरोधमा सुचना प्रवाह गरेकै कारण २ वर्ष जेल जानू पर्यो  ।  पाल्पाबाट प्रकाशन हुने साप्ताहिक ”  सत्य “पत्रिकाको प्रकाशन तथा सम्पादन र पछिल्लो समयमा सामुदायिक रेडियो ( एफ एम रेडियो मदन पोखरा ) सञ्चालनमा समेत विशिष्ट योगदान पुर्याउने व्यक्तित्वको रूपमा अझै पनि सबै माझ चिरपरिचित छन ।

कार्तिक १९  देखि निमोनियाका कारण मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार गराइ रहेका साहित्यका सुनौलो नक्षत्रको मंसिर १० गते अवसान भएको छ । यो अवसान अविश्वसनीय भएर पनि सत्य  छ । पञ्चायती निरङ्कुशताको विरोध गर्दै समाजकाे  अग्रगमनका लागि अनवरत सामाजिक भुमिका निभाउने निष्ठा र इमानदारिताका सारथीलाई आज  गुमाउनु पर्दा  राष्ट्र टुहुरो भएको छ ।

हामी भन्छौ तिमी हैन,तिम्रो भौतिक शरीरले हामीलाई छोडेको हो । तिम्रा रचना र कृति हामीबिच मात्रै हैन यो चराचर जगत रहेसम्म रहिरहने छन् । तिम्रा यी अमर विचारहरूको सम्झनाले अरू सयौं स्रष्टाहरू जन्मन सकुन् ।  निष्ठाका धनी साहित्यका निधि तिमीलाई हार्दिक शब्द श्रद्धाञ्जली तथा जीवन सहयात्री गंगा कसजु लगायत छोराहरू र आफन्तजनहरूमा गहिरो समवेदना व्यक्त गर्न चाहान्छु ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata