एलिस वाकर र कविताहरू !

शनिबार, बैशाख ६, २०७७



आफ्नो उपन्यास ‘द कलर पर्पल’ले नै एलिस वाकरको परिचय दिने गर्दछ । विल्ली वाकर र मिनी वाकरको आठौँ सन्तानका रूपमा जन्मेकी  एलिस वाकरको जन्म सन् १९४४, जर्जीया,अमेरिकामा भएको थियो । धेरै दक्षिणी गोरीहरूले कालाहरूलाई शिक्षाको आवश्यकता पर्दैन भनिरहँदा वाकर ‘युएस सिभिल राइट्स आन्दोलन’को अगुवाई गर्दै आफ्नो युवाअवस्थामा समाजसामू देखिएकी थिइन् ।

एलिससलाई केही समीक्षकले ‘फेमिनिस्ट’ र ‘सेक्सिस्ट’ लेखकका रूपमा प्रस्तुत गरे पनि उनी आफू ‘वुमेनिस्ट’ भएको भन्न मन पराउँछिन् । उनले ‘वुमेनिस्ट’लाई परिभाषित गर्दै भनेकी छन्, “वुमेनिस्ट ती महिला हुन्, जसले अर्की महिलालाई माया गर्छिन्, महिला संस्कृतिको प्रशंसा गर्छिन्, महिला संवेदनालाई बुझ्दछिन्, महिलाको क्षमताको कदर गर्छिन् र जसले आफैंलाई माया गर्छिन् ।”

उनले एक अन्तर्वार्तामा आफ्नो बाल्यकालको स्मरण गर्दै भनेकी छन्, ” मैले हुर्कंदै गर्दा आफ्नो छिमेकमा पुरुषहरूले श्रीमती र बालबच्चा कुटेको नजिकबाट देखेकी छु । तर, मैले आफ्नो घरमा भने त्यस्तो भएको चाल पाइन् । तर एकदिनको कुरा अलिक फरक थियो ।  मेरी आमा एकदमै साहसी तथा हक्की हुनुहुन्थ्यो । एकपटक उहाँले नरिवल उठाउनुभयो र बुवाको टाउकोमा फुटाउनुभयो । यसले मलाई सबै महिलाहरू पुरुषहरूको अगाडि निरीह भएर बस्दैनन् भन्ने कुरा सिकायो ।”

उनमा जुनप्रकारको चेतनाको विजारोपण भएको छ, त्यसको सम्पूर्ण जश उनी आफ्ना आमा-बुबालाई दिने गर्छिन् ।  उनकी आमाले हरेक हप्ता घन्टौंसम्म काम गर्थिन् ताकी आफ्नी छोरी वाकरलाई स्कुलमा पठाईरहन सकियोस् । तर आमाको कमाइ हप्ताको १७ डलर मात्र हुने गर्थ्यो । त्यो कमाइ वाकरको पढाइ र घरको दैनिकीको लागि पर्याप्त थिएन ।

बाल्यअवस्था :

Alice Walker, Age 2, 1946

उनको बाल्यअवस्था नियाल्दा एकप्रकारको निकै आश्चर्यजनक कुरा सामुन्ने आउँछ, वाकरको जन्म त्यतिखेर भएको थियो जब जातीय विभाजन कानूनहरू लागू थिए । त्यससमय अँधीया कमाइरहेका उनको जस्तै अन्य परिवारहरू लगातार खेतमा काम गरिरहेका हुन्थे । निम्न ज्यालादारीमा अधियाँ खेत कमाइरहेका आफ्नो परिवारको दु:खसँग लड्दै वाकर हुर्कदै गईन ।

जब वाकर ८ वर्षकी भइन्, अचानक एउटा दुर्घटनाको शिकार भइन्  । आफ्ना दाजुहरू र साथीहरूसँग खेल्ने क्रममा दाजुको ‘पेलेट गन’ले उनको दाहिने आँखामा लागेको थियो । बुवाआमाले गाली गर्ने डरले दाजुहरूले उनलाई झुट बोल्न दबाब दिए । उनले आफ्नो दाहिने आँखाको दृष्टि नै गुमाइन् । त्यतिमात्रै होइन, उनको आँखामा ठूलो सेतो दाग नै बस्यो ।

यससँगै उनको जीवनमा दु:खका सिलसिलेवार शृंखलाहरू शुरु हुन् थाले  । आफ्नो पारिवारिक पृष्ठभूमिले थिचोमिचोमा परिरहेकी वाकर एउटा आँखा गुमाएपछि थप मानसिक थिचोमिचो झेल्दै गइन् । उनले आफैले भनेकी छिन्, यिनै कारणहरूले उनलाई लेख्न ‘कर कर’ कर गरिरहे  । यिनै कारणहरू थिए जसले उनलाई व्यक्ति, समाज र वस्तुहरूलाई हेर्ने नयाँ आँखा प्रदान गर्यो ।

 किशोरवस्था :

आफ्नो लेखाइले नै उनलाई किशोरवस्थामा नै लोकप्रियता थमाईदियो । उनी आफ्नो गुमेको आँखाले नै लेख्न प्रेरति गरेको बताउन किन्चित हिचकिचाउदिनन्  । उसो त उनले आफ्नो आँखाको दाग पनि हटाइ सकेकी छन् । एलिस १४ वर्षकी हुँदा उनका दाजुले आँखाको अपरेसन गर्न दबाब दिनुका साथै आर्थिक सहयोग पनि गरे । अपरेसनपश्चात् उनको आँखामा रहेको सेतो दाग हटे पनि सानो नीलो दाग भने कायम नै रह्यो । उनले अपरेसनपश्चात आफूलाई केही राहत महसुस भएको ‘ब्युटी : ह्वेन द अदर डान्सर इज द सेल्फ’मा लेखेकी छन् ।

छात्रवृत्ति प्राप्त गरिसकेपछि उनी कलेजमा पढ्न अटलान्टा(जर्जीयाकै एक शहर) गइन् । अन्ततः  उनले सन् १९६५ आफ्नो स्नातकसम्मको पढाइ सकिन् । यो त्यहि समय थियो जब उनी नागरिक अधिकार आन्दोलनमा सक्रिय थिइन् ।

उनले पहिलो कविता पुस्तक(सन् १९६८)मा  प्रकाशित भयो । आफ्नो जिन्दगीको यात्रामा अगी बढ्दै गर्दा उनले  मार्टिन लुथर किङ र अन्य आन्दोलनमा अग्रसर कार्यकर्ताहरूलाई भेटिन । जसले उनलाई कलेज छाडेर दक्षिणतर्फ फर्कायो । यसक्रममा उनी मिसिसिपीमा बसाई सरिन् । र, मिसीसिपिमा निकै अभियानहरूमा उनको अग्रसरता रह्यो । यस्तै उनी कलेजमा हुँदा सन् १९६३ को वासिंगटनको मार्चमा समेत सामेल भइन् ।

उनको लेखन करियर उदारवादी नारीवादी पत्रिका सुश्री(मिसेस) को सम्पादकको रूपमा समेत सक्रिय रह्यो  । यसैबीच उनको पहिलो उपन्यास ड थर्ड लाइफ अफ ग्र्यांज कोपल्यान्ड ( सन् १९७० मा) प्रकाशित भयो । अर्को पुस्तक ‘मेरीडियन’ प्रकाशित भयो, जसलाई वाकरको ‘आधुनिक नागरिक अधिकार आन्दोलनको ध्यान’ को रूपमा वर्णन  गर्ने गरिन्छ । जहाँ सन् १९६० को दशकको उत्तरार्धमा कलेज पढीरहेकी काली महिला र उनले अँगालेको नागरिक अधिकार आन्दोलनको चर्चा छ । पुस्तकले सन् १९७० को आन्दोलनको हिंसात्मक वर्णन, असफलता र निरन्तरतालाई आफ्नो कथावस्तु बनाएको छ ।

उनको लोकप्रियता तब ह्वात्तै बढ्यो जब उनको ‘द कलर पर्पल( सन् १९८२)’ नामक उपन्यासले सन् १९८३ मा पुत्लिजर प्राइज फर फिक्सन र नेशनल बुक एवार्ड फर फिक्सन प्राप्त गर्यो । यस किताबले उनलाई विश्व प्रसिद्ध लेखक सिद्ध गरिदियो । सोहि नामको फिल्म(सन् १९८५) र म्युजिकल पनि बनेको छ । यसले उनलाई प्रशंसा मात्रै दिएन, आलोचना पनि दियो । अश्वेत समीक्षकहरूले नै ‘अश्वेत समुदायको नकारात्मक चित्रण गरेको’ भन्दै एलिसको आलाचना गरे ।

यसप्रकार उनका कैयन कवितासंग्रह, उपन्यासहरू प्रकाशित हुँदै आए । उनका प्रयाश: रचनाहरू हिंस्रक, यौनवाद र जातिय भेदभावको शिकार भएको समाजका कालो मानिसहरु(विशेष गरी महिलाहरु)को हक र संघर्षमा केन्द्रित  रहेको छ । अश्वेत महिलाहरूको आवाज तथा आफ्नो व्यक्तिगत भोगाइहरू नै वाकरका कृतिहरू हुन् ।

यतिधरै सफलताको बाबजुद पनि वाकरले सक्रियताका अधिकार माग सम्बन्धी आन्दोलनमा लागिरहकी छन्  । सन् २००३ को दिन थियो,  ह्वाइट हाउसको नजिकै युद्धविरोधी जुलुसमा भाग लिँदा उनी गिरफ्तार भइन् । उनी इजरायलको ‘रंगभेद’ प्रणालीको आलोचना गरिरहकी छिन्, साथै गाँजाका  स्थानीय जनतालाई सहयोग पुर्याउन आज पनि क्रियाशील छिन् ।

उनले ‘द कलर पर्पल’लाई हिब्रु भाषामा अनुवाद गर्ने अनुमति नदिएकोमा धेरैले जातिवादीको आरोप लगाए । आफूले यहुदीहरूको विरोध नगरेको र इजरायल सरकारको विभेदकारी नीति तथा प्यालेस्टाइनी नागरिकहरूमाथिको अत्याचारको प्रतिक्रियास्वरूप आफूले अनुमति नदिएको एलिस बताउँछिन् ।

एलिस उपन्यासकार, कवि, निबन्धकार र टिप्पणीकारका रूपमा मात्रै परिचित छैनन्, विभिन्न आन्दोलनमा सरिक भएर आफूलाई ‘एक्टिभिस्ट’का रूपमा नै प्रस्तुत गरेकी छन् । इजरायल–प्यालेस्टाइन मुद्दा होस् वा अमेरिका–क्युबा सम्बन्ध; उनले खुलेर आफ्नो अभिव्यक्ति राखेकी छन् । उदार मानिने अमेरिकामा पूर्ण राष्ट्रपति बाराक ओबामाले अफगानिस्तानमा गरेको आक्रमणलाई लिएर पनि उनले आलोचना गरेकी छन् ।
साहित्यले मानिसलाई साँघुरो घेराबाट मुक्ति दिने भन्दै उनले साहित्य समाजमा रहेका विकृति तथा कुसंस्कृतिलाई सुधार गर्ने खालको हुनुपर्ने बताउँछिन् । उनले अध्यात्म र सिर्जनाबीचको सम्बन्धका बारेमा खोज गरेकी छन् । जसका लागि उनले दलाई लामाजस्ता अध्यात्मिक गुरुहरूलाई भेटेकी छन् ।
लेखक तथा अभियन्ताको रूपमा स्थापित एलिसको ‘टेम्पल अफ् माई फेमिलियर’, ‘पोजेसिङ द सेक्रेट अफ् जोय’, ‘बाइ द लाइट् अफ् माई फादर्स स्माइल’, ‘वि आर द वन्स वि ह्याभ बिन वेटिङ फर’, ‘द कुसन इन् द रोड’ लगायत थुप्रै कृति प्रकाशित छन् ।

उनको कामलाई अक्सर अमेरिकामा कालाहरू र महिलाहरूको बारेमा अत्यधिक कठोर दृष्टिकोण प्रस्तुत गरेको भन्दै आलोचना गरिएको थियो । उनको चौथो उपन्यास, ‘द टेम्पल अफ माई फेमिलियर(सन् १९८९);लाई धेरै समिक्षकहरूले प्रकाशित हुने बित्तिकै फिक्सन भन्दा पनि कालाहरुको एक घोषणापत्र हो सम्म भन्न भ्याएका छन् ।

सन् २००३ मा उनी कवितामा फर्किएर आइन, उनले ‘एब्स्ल्युट ट्रस्ट इन द गडनेश अफ अर्थ’ शिर्षकको कविता संग्रह प्रकाशित गरिन्, जुन उनको एक दशक अनुभूति संग्रह हो । यस कवितासंग्रह दुई वर्ष अगाडी ९/११ को घटनाको सम्झना गर्दा ‘राम्रो हुनु पनि क्षमता साथै क्रूर हुनु पनि हाम्रै क्षमता रहेको’ सोचेर प्रकाशित गरेको उनले बताएकी थिइन्। उनको सन् २०१३ मा ‘द वोर्ल्ड विल फलो जोय : टर्निङ म्याडनेस इन्टु फ्लावर्स’ शिर्षकको कविता संग्रह प्रकाशित गरेकी छन्   ।

उनका दुई कविता :

जब तिमी पानी देख्छौं 

जब तिमी कुवामा पानी देख्छौं
भन्छौं, ‘ओह, कुवाको पानी  !’

जब तिमी नदीमा पानी देख्छौ
भन्छौ, ‘ओह, नदीको पानी  !’

जब तिमी समुन्द्रमा पानी देख्छौ,
भन्छौं, ‘ओह, समुन्द्रको पानी  !’

तर पानी सधै
आफैं हुने गर्छ
र, ऊ
तिम्ले भने झैँ कुवा, नदि या समुन्द्रको हुँदैन,
ऊ तिनमा रहेको मात्र हो ।

यसै प्रकार
तिमी पनि छौं ।

यातना 

जब उनीहरू तिम्रो आमालाई यातना दिने गर्छन्,
एउटा रुख रोप
जब उनीहरू तिम्रो बालाई यातना दिने गर्छन्,
एउटा रुख रोप
जब उनीहरू तिम्रो भाइलाई यातना दिने गर्छन्,
एउटा रुख रोप ।

र, जब उनीहरू तिम्रो आफन्तको,
तिम्रो प्रेमिकाको,
हत्या गर्ने छन्,
एउटा रुख रोप

जब उनीहरू तिम्लाई यातना दिने गर्छन्
यसप्रकार कि
तिम्रो मुखबाट एक शब्द ननिस्किओस्,
एउटा रुख रोप  ।

तब उनीहरू रुखहरू यातना दिन थाल्नेछन्,
रुखहरू काट्न थाल्नेछन् ।

र, अब उनीहरूले यातना दिने
नयाँ तरिकाको शुरुवात गरिसकेका छन् ।

अनुवाद/प्रस्तुति : राजु झल्लु प्रसाद 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments