सुमार्गीलाई पाँच किस्ताको सुविधा

शुक्रबार, पुस २५, २०७६



सरकारले व्यापारी अजयराज सुमार्गीले सञ्चालन ल्याउन लागेको ‘वेभसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिको लाइसेन्स खारेजी गर्ने निर्णय बदर गरेको छ।

दूरसञ्चार प्राधिकरणले समयमै नवीकरण शुल्क नबुझाएको भन्दै लाइसेन्स खारेजी गर्ने निर्णयलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच किस्तामा नवीकरण शुल्क बुझाउन दिनेगरी बदर गरेको हो।

दूरसञ्चार ऐन, २०५३ को दफा २८ को उपदफा ९५० बमोजिम सो निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७६ साउन १३ गते ‘वेभसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालि’ को अनुमतिपत्र खारेज हुनेगरी गरेको थियो।

वेभ सर्भर नेपाल कम्युनिकेसन सिष्टमा प्रालिसँगै अन्य दुई कम्पनीलाई पनि पाँच वर्षसम्म नवीकरण शुल्क बुझाउनेगरी सुविधा दिइएको छ।

‘प्रचलित कानूनबमोजिम पालना गर्नुपर्ने सर्तको अधीनमा रही तिर्नु बुझाउनुपर्ने सबै किसिमको रकम प्रचलित कानुनबमोजिम निर्धारित समयभित्रै तिर्न बुझाउन निजलाई जानकारी दिने निर्णय गरिएको छ,’ मन्त्री बाँस्कोटाले भने।

मन्त्रिपरिषद् बैठकले हालसम्म तिर्नु बुझाउनुपर्ने साँवा ब्याजसहितको सबै किसिमको वक्यौता रकम जम्मा पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता चालु आव २०७६/७७ को असार मसान्तभित्रै र बाँकी चार किस्ता प्रतिवर्ष एक किस्ताका दरले प्रत्येक आवको असार मसान्तभित्रै बुझाउनेगरी समय दिने निर्णय गरेको छ।

निर्धारित समयावधिभित्रै प्रत्येक किस्ता रकम र प्रचलित कानुनबमोजिम बुझाउनुपर्ने रकम नबुझाएमा लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ।

त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले २०७६ साउन १३ मै ‘स्मार्ट टेलिकम प्रालि’ को अनुमतिपत्र खारेज हुनेगरी गरेको निर्णय गरेको थियो। सो कम्पनीलाई पाँच किस्तामा रकम तिर्न सुविधा दिएको छ।

त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरण ले २०७६ साउन १७ मा नेपाल स्याटलाइट टेलिकम प्रालिको अनुमतिपत्र खारेज हुनेगरी गरेको निर्णय गरेको थियो। सो कम्पनीलाई पनि पाँच किस्ताको सुविधा दिने निर्णय गरेको छ।

दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध ती कम्पनीले पुनरावलोकनका लागि नेपाल सरकारसँग समयथपका लागि निवेदन दिएका थिए।

सुमार्गीको हेलो नेपालले बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शुल्क बापतको ७९ करोड ९२ लाख रुपैयाँ तोकिएको समयमा नदिएका कारण प्राधिकरणले लाइसेन्स खारेज गरेको थियो। नागरिक दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments